काठमाडौं। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलाई घर-गाडी जस्ता ऋणहरुको माग बढ्छ कि भन्ने लागेको छ। ब्याज दर त निरन्तर घटिरहेकै थियो, सरकारले बजेटमार्फत आम्दानीमा लाग्ने करको सीमा बढाइदिएको छ।
एकातिर न्यून ब्याज अर्कोतिर आम्दानीमा अतिरिक्त वृद्धि, यी कारणले घर-गाडीजस्ता ऋणहरुको माग बढ्ने अपेक्षा उनको हो।
निरन्तर बढ्दो तरलताका कारण बैंकहरुले आधार दर (बेसरेट) मा ऋण दिन थालेका छन्। यसले गर्दा घर-गाडीजस्ता क्षेत्रले समेत ६ प्रतिशतभन्दा कममै ऋण पाउन थालेका छन्। त्यसमाथि सरकारले १० लाख रुपैयाँसम्म आम्दानी गर्नेले १ प्रतिशत मात्र आय कर तिरे पुग्ने व्यवस्था गरिदिएको छ।
विद्यमान व्यवस्थाभन्दा ४ लाख बढी कमाउनेले कर तिर्नु पर्दैन। त्यसो हुँदा जागिरेको हातमा मासिक रुपमै ठूलो रकम जाँदैछ। त्यसले गर्दा अहिलेको बेलामा घरगाडी जस्ता उपभोग्य ऋणहरुको बिस्तार हुने अपेक्षा अरु बैंकरले पनि गर्न थालेका छन्। नभन्दै बैंकहरुमा घरगाडी जस्ता ऋणहरुको सोधिखोजी बढ्न थालेको छ।
निरन्तरको आर्थिक सुस्तता, घरजग्गा तथा निर्माण क्षेत्रमा छाएको मन्दी, उद्योगहरूको न्यून उत्पादन र बजारमा कमजोर मागका कारण निजी क्षेत्र अझै नयाँ लगानीमा उत्साहित देखिएको छैन। धेरै व्यवसायी नयाँ लगानीभन्दा पुराना ऋण व्यवस्थापनमै केन्द्रित छन्।
अरु क्षेत्रमा ऋणको माग बढ्ने संभावना नभएपनि सानोतिनो घरजग्गा र गाडीको माग आउने बैंकरको अनुमान छ।
नेपाल बैंकले होम, अटो तथा कृषि कर्जा ५.१७ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ भने नबिल बैंकले होम र अटो कर्जा ५.५८ प्रतिशतमा प्रदान गरिरहेको छ। अरु धेरै बैंकले ६ प्रतिशतकै आसपासमा ऋण दिन थालिसकेका छन्।
पछिल्लो समय निक्षेपको ब्याजदर निरन्तर घटेसँगै लागत कम भएकाले अधिकांश बैंकको बेसरेट ५ प्रतिशतभन्दा तल झरेको छ। बैंकिङ प्रणालीमा अहिले १३ खर्बभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ। उच्च विप्रेषण (रेमिटेन्स) आप्रवाह, वित्तीय प्रणालीमा नगद प्रवाह वृद्धि लगायत कारण बैंकमा लगानीयोग्य रकम थुप्रिएको हो।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय पोर्टफोलियो म्यानेजमेन्ट गर्न पनि उपभोग्य ऋणहरु सस्तो दरमा दिइरहेको बताउँछन्।
कृषि विकास बैंकले ६ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ४.८९ प्रतिशत रहेको छ। बैंकले अधिकांश कर्जामा ०.५० प्रतिशत प्रिमियम थपेर कर्जा उपलब्ध गराइरहेको छ। होम र अटो कर्जामा १.५ प्रतिशत प्रिमियम जोडेको छ।
प्रभु बैंकले ५.१२ प्रतिशत बेसरेटमा १ प्रतिशत प्रिमियम थपेर कर्जा दिइरहेको छ भने कुमारी बैंकले होम लोनमा १ प्रतिशत र अटो लोनमा १.५ प्रतिशत प्रिमियम जोडेको छ।
हाल वाणिज्य बैंकहरूको औसत बेसरेट ५.०२ प्रतिशत रहेको छ। सात बैंकको बेसरेट ५ प्रतिशतभन्दा तल आएको छ। अधिकांश बैंकले न्यूनतम ०.२५ प्रतिशतदेखि ३ प्रिमियममा कर्जा उपलब्ध गराउन थालेका छन्।
न्यून ब्याजदर बेलामा सुरक्षित लगानीका रुपमा घर र गाडी कर्जा प्रोत्साहनको रणनीति अपनाएको अर्का एक सीइओले बताए।
‘घर र गाडी कर्जा दिँदा क्यास फ्लो हेरिन्छ। जसले गर्दा यस्तो कर्जा अन्यको तुलनामा रिस्क कम हुन्छ,’ एक बैंकरले भने,’ रिस्क कम हुने भएपछि मार्जिनमा कम्प्रमाइज गर्नपर्ने हुन्छ।’









