परिमाणात्मक बन्देज लगाएको हप्ता नबित्दै आयातकर्ताले चिनीको मूल्य किलोमै पाँच रुपैयाँ बढाए



अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ असोज ६ गते १६:४३ | Sep 22, 2018
परिमाणात्मक बन्देज लगाएको हप्ता नबित्दै आयातकर्ताले चिनीको मूल्य किलोमै पाँच रुपैयाँ बढाए


विराटनगर। सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएको हप्ता दिन नबित्दै व्यवसायीले चिनीको मूल्य किलोमा ५ देखि ६ रुपैयाँका दरले बढाएका छन्।

Tata
GBIME
Nepal Life

सरकारी निर्णयको फाइदा उठाउँदै आयातकर्ताहरूले मुख्य चाडबाडका मुखमा चिनीको मूल्यमा वृद्धि गरेका हुन् । मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयले चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको थियो ।विराटनगरको खुद्रा बजारमा प्रति किलो ६५ देखि ६६ रुपैयाँमा पाइने चिनी शुक्रबारदेखि ७१ देखि ७२ पुगेको छ ।

‘यसअघि आयातकर्ताले होलसेलरलाई प्रति किलो ६१ ले बिक्री गरिरहेका थिए, हामी ६३ मा ल्याएर ६५ देखि ६६ विक्री गरिरहेका थियौँ’, विराटनगरको गुद्री बजारस्थित पवन किरानाका सञ्चालक विवेक अग्रवालले भने, ‘अब आयातकर्ता नै ६६ मा विक्री गर्न थालेका छन् । होलसेलरले ६८ देखि ६९ लिइरहेका छन् । हामीले ७२ मा नबेची सुखै भएन ।’

सञ्चालक विवेकका अनुसार पुरानोे खरिदको चिनी मौज्दात हुने खुद्रा पसलेले अहिले पनि प्रति किलो ६५ देखि ६६ मा नै विक्री गरिरहेका छन् । तर होलसेलरसित बिहिबार अपराह्नदेखि चिनी खरिद गर्नेहरूले प्रति किलो ७२ मै विक्री गर्नुपर्ने स्थिति छ ।विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा चिनीको मूल्य प्रति किलो ५५ छ । विराटनगरस्थित भाटभटेनी सुपर स्टोरले हालसम्म प्रति किलोग्राम ५९ रुपैयाँमै चिनी विक्री गरिरहेको छ । यता अन्य खुद्रा बजारमा भने ७२ रुपैयाँ पुगिसकेको छ ।

परिमाणात्मक बन्देज लागेको एक हप्ता नबित्दै चिनीको मूल्यवृद्धि गरिए पनि यसको जिम्मा लिन कुनै आयातकर्ता तयार छैनन् । सबैजसो पैठारीकर्ताले बजार बढेकाले आफूले पनि मूल्यवृद्धि गर्न बाध्य भएको जबाफ दिइरहेका छन् ।‘एकाएक बजारमा चिनीको मूल्यवृद्धि भयो’, आयातकर्ता अविनाश बोहराले भने, ‘अरूले बढेको मूल्यमा विक्री गरेपछि हामीले पनि गर्यौँ ।’

अर्का व्यवसासायी श्रवण अग्रवालले प्रति किलो ६६ मा विक्री गर्दा पनि आयातकर्तालाई ५ रुपैयाँका दरले अझै घाटा हुने दाबी गरे ।‘प्रति टन ३ सय ६० डलरमा पैठारी गरिने चिनीको भन्सार मूल्य सरकारले ४ सय ६० बनायो अनि भन्सार महसुल १५ बाट ३० प्रतिशत गरियो’, उनले भने, ‘यसका कारण पैठारीकर्ताको गोदामसम्म आइपुग्दा चिनीको मूल्य प्रति किलो ७१ परेको छ । यसरी ६६ मा विक्री गर्दा पनि प्रति किलोग्राम ५ रुपैयाँ घाटै छ ।  

चिनीको परिमाणात्मक बन्देज लगाउने बेलामा उद्यमीहरूले यसको मूल्य वृद्धि नगर्ने वचनबद्धता सरकारसमक्ष प्रकट गरेका थिए । भदौ ३१ को मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षमा ९४ हजार टन मात्र चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । चिनी उत्पादक सङ्घ र उखु उत्पादक सङ्घको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारले परिमाणात्मक बन्देजको निर्णय गरेको हो ।

स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार मेट्रिक टनसहित ३ लाख ७८ हजार मेट्रिक टन चिनी अहिले मुलुकभित्र रहेको सरकारी दाबी छ । जसमध्ये चिनी उत्पादकहरूले ५४ हजार मेट्रिक टन विक्री गरिसकेका छन् । चिनीको वार्षिक खपत २ लाख मेट्रिक टन छ ।चिनीको मूल्यवृद्धिले सर्वसाधारणदलेखि ठूला उद्योगसम्म प्रभावित हुनेछन् । चाडबाडका बेला चिनीजस्तो अत्यावश्यक वस्तुको मूल्यवृद्धि उपभोक्ताका लागि कटु अनुभवका रूपमा हुने छ ।

यसबाहेक चिनी कच्चा पदार्थ हुने बिस्कुट, कन्फेक्सनरी, जुस, कोल्ड ड्रिङ्क्स, बेकरी लगायतका उद्योगको उत्पादन लागत स्वतः बढ्ने छ ।