
काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको दुईसाता पुग्नलाग्दा पनि आमउपभोक्तामा ब्रोइलर कुखुरा आर्कषण घटन सकेको छैन् । मासुपसलमा अझै उपभोक्ताहरु कुखुराको मासु खोजेर आइरहेका छन् ।प्रायः युवाहरु कुखुराको मासुको खोजीमा आइरहेका छन्, नयाँ बानेश्वरस्थित मकालु मिट सपका पसेलेले भने । ‘ब्रोइलरको मासु खाएर हुर्केको नयाँपुस्ता विगत सातादेखि मासु खान नपाएर छटपटाइरहेको छ’, उनले भने, ‘दैनिक चार÷पाँचजना यस्ता ग्राहक पसलमा आउँछन् ।
‘कुखुराको मासु खोज्न निस्केको कही पनि पाइएन’, बिजुलीबजारकी शर्मिला मल्लले भनिन् । केटाकेटीदेखि ब्रोइलर खादै आएको त्यही मन पर्छ, आफुलाई ब्रोइलर जेनेरेसन बताउदै उनले भनिन्, ‘म ब्रोइलर बाहेक अरु मासु खान्न ।’ काठमाडौंको किर्तीपुर र भक्तपुरमा विगत दुईसातामा २५ स्थानमा बर्डफ्लु देखिएको छ । सरकारले करिव २५ हजार कुखुरा मारिएको छ भने ओसारपसारमा रोक लगाएको छ । कुखुराको मासु बेच्ने पसल समेत बन्द छन् । ओसार पसारमै रोक लगाएको कारण बजारमा कुखुराको मासु उपलब्ध छैन ।
कुखुराको मासु बजारमा नभएकोले खसी, राँंगा, सुगुरको मासु र माछाको मुल्य बढेको छ । यसबाट दैनिक वा सातामा तीन÷चारपटक कुखुराको मासु खाने मानिस आत्तिएका छन् । कुखुराको मासु छैन्, खसीको मासु किन्न सकिदैन, अनामनगरमा भेटिएका रविन गैरेले भने । कुखुरामा प्रतिवन्ध लागेपछि खसीको मासु एक किलोको आठसय २५ रुपैयाँसम्म पुगेको छ । यस्तै राँगा र सुंगुरको मासुको मुल्यपनि निकै बढेको छ । वर्षयाममा सस्तो हुने माछाको मुल्यपनि आकासिएको छ । माछाको एक किलोग्रामको मुल्य दुई सय २० बाट तीन सय ५० सम्म पुगेको छ ।











