बीमा कम्पनीमा जागिरको ओइरो, तत्कालै ६ सय कर्मचारी राख्दै, एसएलसीदेखि स्नातकोत्तरसम्मलाई अवसर



बिजमाण्डू
२०७४ जेठ २१ गते १४:१७ | Jun 4, 2017
बीमा कम्पनीमा जागिरको ओइरो, तत्कालै ६ सय कर्मचारी राख्दै, एसएलसीदेखि स्नातकोत्तरसम्मलाई अवसर
काठमाडौं। बीमा समितिको सिफारिसमा अर्थमन्त्रालयले १० नयाँ जीवन बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएपछि प्रस्तावित कम्पनीहरुले जागिरका लागि प्रस्ताव आह्वान गर्न थालेका छन्।
 
सिटिजन्स, महालक्ष्मी, आइएमइ, स्टार लगायतले विभिन्न पदमा आवेदन मागिसकेका छन्। बाँकी कम्पनीहरु पनि आवेदन माग्ने तयारीमा छन्।
 
कम्पनीहरुले सञ्चालन अनुमति माग्नु अघि कार्यालय स्थापना, पूर्वाधार विकासदेखि कर्मचारी भर्नासम्म गरिसक्नुपर्छ। त्यही कारण अहिले धमाधम कम्पनीहरुले कर्मचारी माग गर्न थालेका हुन्।
 
कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीको आवेदन माग्न थालिसकेका छन्।पहिलो चरणमा अनिवार्य रुपमा प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, प्रमुख व्यवस्थापक, कम्पनी सचिव, नायब व्यवस्थापक, शाखा प्रबन्धक, अधिकृत र त्यस अन्तर्गतका कर्मचारीहरु नियुक्त गरिसक्नु पर्छ।


 
पहिलो चरणमा १० बीमा कम्पनीहरुले करिव ६ सय १४ जना कर्मचारी नियुक्त गर्नुपर्छ। यसमा ड्राइभर, कुचीकारलगायतका कर्मचारीहरु जोडिएको छैन। प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीसम्म बीमा कम्पनीहरुले ६ सय १४ जना भर्ति गर्नु पर्ने हुन्छ।
 
प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतवाहेक कम्पनीहरुले अन्डर राइटिङ, पुनर्बीमा, बजार ब्यवस्थापन, कानुन तथा दाबी भुक्तानी, लेखा तथा ट्रेजरी, सुचना प्रविधि विभाग अनिवार्य रुपमा गठन गर्नु पर्छ। यसमा एक/एक जना विभागीय प्रमुख हुन्छन्। प्रत्येक विभाग अन्तर्गत कम्तिमा चार जना कर्मचारी हुन्छन्।
 
प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतको सचिवालयमा पनि केही कर्मचारी हुन्छन्। 
 
अहिले नै ९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्। उनीहरुसँग प्रतिस्पर्धा गर्न र व्यापार सुरु गर्न कम्तीमा सात प्रदेशमा एउटा/एउटा मूख्य शाखा आवश्यक पर्छ। कम्पनीले एउटा प्रदेश अन्तर्गत कम्तीमा पाँच वटा शाखा कार्यालय खोल्दा पनि प्रबन्धकदेखि सहायक कर्मचारीहरुको ठूलै संख्यामा आवश्यक पर्छ।
 
गैरकर्मचारी भएपनि बीमा अभिकर्ताहरु पनि ठूलो मात्रामा आवश्यक पर्छ। किनभने सर्वसाधारणसम्म पुगेर बीमा लेख  बेच्ने जिम्मा अभिकर्तालाई हुन्छ। उनीहरु जागिरे नभए पनि कमिसनमा आधारित भएर कम्पनीमा खटिएका हुन्छन्।
 
भएकालाई कर्मचारी टिकाउन मुस्किल
केही बढी नै प्राविधिक हुने भएकाले बीमामा अहिले नै कर्मचारी अभाव छ। नयाँ कम्पनीहरुले कर्मचारी भर्ती गर्न सुरु गरेपछि सञ्चालनमा रहेका पुराना कम्पनीहरुलाई कर्मचारी जोगाउन मुस्किल हुनेछ।
 
नयाँ कम्पनीहरुले आकर्षक सेवा सुविधासहित अनुभवी कर्मचारीहरुलाई फोन गरेर 'अफर' गर्न थालेका छन्। पुराना कम्पनीहरुलाई आफ्नो 'क्रिम क्याडर' लाई जोगाउन चुनौती थपिएको छ।
 
अन्डराइटिङ, पनुर्बीमाजस्ता विभागमा अनुभवी कर्मचारी आवश्यक पर्छ। यसका लागि कम्तीमा स्नातक गरी त्यो क्षेत्रमा पाँचदेखि सात बर्ष अनुभव भएको व्यक्ति चाहिन्छ। त्यस्तो अनुभवी कर्मचारी सञ्चालनमा रहेका कम्पनीहरुबाटै लैजानु पर्ने हुन्छ।
 
केही कम्पनीहरुले आफ्ना अनुभवी कर्मचारी टिकाइ राख्न तलब सुविधा बृद्धिको प्याकेज पनि ल्याउन थालेका छन्। 'हाम्रोबाट छाडेर नजाने वातावरण हामी बनाउँछौं' नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, 'त्यसका लागि तलव सुविधा बृद्धि गरेर टिकाउँछौं।'
 
बैंकका जागिरेलाई पनि अवसर
बीमाभित्रैबाट कर्मचारी पाउन नयाँलाई मुस्किल छ। कम्पनीहरुले बैंकको माथिल्लो तहमा पुगेका कर्मचारीहरुलाई समेत जागिरका लागि अफर गर्न थालेका छन्। 
 
बीमा समितिले बैंक तथा वित्तीय क्षेत्रमा अनुभव भएकाहरुलाई पनि माथिल्लो तहमा ल्याउन पाउने सुविधा दिएकाले बीमा कम्पनीहरु बैंकका कर्मचारीलाई आँखा लाउन थालेका छन्।
 
बर्ष दिनमा तीन हजार जागिर
अहिले भएका बीमा कम्पनीहरुले ५० करोडको पूँजी आधारमा व्यापार गरिरहेका छन्। नयाँ कम्पनीहरु स्थापना हुँदै दुई अर्ब पूँजी बोकेर आएका छन्।
 
अधिक पूँजी र फ्रेस भएकाले उनीहरुले व्यापार विस्तार गर्न आक्रामक नीति लिनु पर्छ। त्यसका लागि उनीहरुले बर्ष दिनसम्ममा कारोबार सञ्जाल व्यापक बनाइसक्नुपर्छ, जसका लागि 'सफ्टवेयर' का रुपमा कर्मचारीको माग ह्वात्तै बढेर जान्छ।

Tata
GBIME
Nepal Life