
बजार यसरी नै अगाडि वढ्छ भन्न अलि गाह्रो छ । राजनीतिक वातावरण सुमधुर हिसावले अगाडि गयो भने ऋण लिएर लगानी गर्दा पनि राम्रो प्रतिफल पाउन सकिन्छ । अहिले नै धेरै कम्पनीको मूल्य आम्दानी अनुपात २० प्रतिशतभन्दा कमै छ
—
११७५ अंकको कुरा जहिले पनि उठ्छ । बजारमा आपुर्ति छैन भने त्यो लेभलमा बजार किन जाने ? बजार घट्ने बढ्ने कुनै लिमिट हुँदैन । ११७५ नै किन, बजार सहजरुपमा चल्छ भने २००० अंक पनि पुग्नुपर्यो । कुरा यति हो, मूल्य घटे पनि बढे पनि त्यसलाई बजारले जस्टिफाइ गर्नुपर्छ
—
तपाईसँग आफ्नै बचत छ भने त्यसको तुलनात्मक लाभ हेर्नुहुन्छ । तपाईले मुद्दति खातामा राख्नु हुन्थ्यो वा अरु त्यस्तै केही क्षेत्रमा रकम लगानी गर्नुहुन्थ्यो । एक बर्ष बैंकमा राख्दा पाँच प्रतिशत ब्याज पाउनु हुन्छ । सेयर बजारमा त्यो पैसा लगानी गर्दा गुमाउने भनेको त्यही पाँच प्रतिशत हो
—
—
अर्थमन्त्रीदेखि बजारका अरु सरोकारवालाहरु सेयरबजार प्रति निकै सकारात्मक देखिन्छन् । तर बजार घट्नुपर्ने बेलामा बढ्यो र बढ्नुपर्ने बेलामा घट्यो । लगानीकर्ताका फरक गुनासा छन्ः सिडिएस कार्यान्वयनमा आएन, मर्चेन्ट बैंकरले लगानीकर्ताको काम छिटो गरिदिएनन्, सामूहिक लगानीकोषले बजार प्रभावित गरेनन् । नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीलाई बिजमाण्डू सम्पादक सरोज काफ्ले र सुदर्शन सापकोटाले सोधे के अहिले बजार ठीक गतिमा छ ?
सेयर बजार अलिकति बढ्यो त्यही बेला अझै बढ्छ भनियो, अलिकति घट्यो फेरि अझ घट्छ भनियो । बजारले त कुनै दिशा नै दिएन ?
म अलि फरक हिसाबले हेर्छु । बजार घट्नु पर्ने भनेर हामीले जहाँनेर सोचेका थियौं, त्यहीनेर घट्यो भने त यो बीचमा जति डेभलपमेन्टहरु भए त्यो त कहीँ रिफ्लेक्ट नै भएन नि । जुन बिन्दुबाट हामी उठ्यौं त्यहीसम्म पुग्नु पर्छ भन्ने तर्कलाई म मान्दिन ।
बजार घट्ने वा वढ्ने बिन्दु भनेरलाई केलाई आधार मान्ने ? बजार बढ्ने घट्ने आधार भनेको माग र आपुर्ति नै हो । हामीले जति चलखेल भने पनि जस्तो बजार पहिला थियो आजको दिनमा त्यो छैन । बजारको मुभमेन्टले पनि त्यो देखाइसकेको छ । बढेको बेला पनि देखाइसक्यो, घटेको बेला पनि देखाइसक्यो । पुरानो अंक भन्दै त्यसैलाई टेकेर बस्न थालियो भने हामी कहिले पनि काँही पुग्न सक्दैनौं ।
११७५ अंकको कुरा जहिले पनि उठ्छ । बजारमा आपुर्ति छैन भने त्यो लेभलमा बजार किन जाने ? बजार घट्ने बढ्ने कुनै लिमिट हुँदैन । ११७५ नै किन, बजार सहजरुपमा चल्छ भने २००० अंक पनि पुग्नुप¥यो । कुरा यति हो, मूल्य घटे पनि बढे पनि त्यसलाई बजारले जस्टिफाइ गर्नुपर्छ ।
भनेपछि बजारको लिमिट भोलि साढे आठ सय, त्यो भन्दा पनि तल अथवा वढ्दा २००० अंकै पनि हो ?
हो नि । बजारको कुनै लिमिट हुँदैन । बढ्दा पनि त्यसलाई जस्टिफाइ गर्नु पर्यो र घट्दा पनि गर्नु पर्यो । आजको सेन्टिमेन्टमा ९०० अंक उपयुक्त होला, तर भोलीका दिनमा माथि वा तल हुनसक्छ ।
सर्बसाधारणको करोडौं रुपैयाँ चलाएर बस्नु भएको छ, तपाईलाई चाही के लाग्छ, बजार बढ्छ वा घट्छ ?
हामीले विश्लेषण गर्ने भनेको फन्डामेन्टल र टेक्निकल पक्षमा हो । फन्डामेन्टल हेर्ने हो भने, अहिले पुँजी बजारमा ७० प्रतिशत जति त बैंक तथा वित्तीय संस्थाहरु छन् । असोज मसान्तसम्मको वित्तीय विवरण हेर्दा नाफामा करिव २०÷२२ प्रतिशतको बृद्धि देखिन्छ । भनेपछि हामी आजको दिनमा राम्रो अवस्थामा छौं कि छैनौं त ? उत्तर त वित्तीय विवरणहरुले नै दिइरहेको छ ।
लिमिटेसन होला । पुराना संस्थाहरुको ग्रोथमा ब्याजको स्प्रेड दरले नाफा बृद्धि कम गरिदेला, तर सबै कुरा त सकारात्मक दिशामै गइरहेको छ । कम्पनीको बुक पनि हेर्नु पर्छ । नाफाको आकार ठूलो छ भनेर मात्रै पनि हुँदैन । संस्था भर्खर आएर ठूलो बन्दैछ कि संस्था पुरानो छ र पहिले नै ठूलो छ, त्यो पनि हेर्नुपर्छ । रिटर्न अन इक्विटी हेर्नुपर्छ । त्यस्तै अन्य वित्तीय सुचकहरु हेर्नुपर्छ । देशको राजनीति पनि हेर्नु पर्छ ।
अहिले बजार चाहीँ कुन अवस्थामा छ भन्ने लाग्छ ?
बजारमा अहिले त सेन्टिमेन्टको कुरा छ । राजनीतिमा सबै कुरा अड्किएको छ । राजनीति सहजरुपमा अगाडि वढ्यो भने आर्थिक क्रियाकलाप वढ्ने हो । राजनीतिक अवस्था अन्यौलमा भयो भने अरु क्षेत्रले गति लिन सक्दैन । अहिले नै हेरौं न पुँजीगत खर्च कति भइरहेकोे छ त ? आर्थिक बर्ष आधा सकिन लागिसक्यो तर पुँजीगत खर्च त नगन्य भएको छ । राजनीति मात्रै होइन अन्य आर्थिक गतिविधिहरु पनि भइरहेको छैन ।
अहिलेको समग्र अवस्थासँग तुलना गरेर हेर्दा बजार अहिले जुन अवस्थामा बसेको छ, त्यसलाई नराम्रो भन्न मिल्दैन । अहिले बजारमा संस्थाहरु लगानी गर्न आएका छन् । सामूहिक लगानी कोष कम्पनीहरु आएका छन् ।
सर्वसाधारणले अथवा हामीले नै बुझ्ने गरी तपाईले के भन्दिन पर्छ भने अहिलेको यो प्राइसमा गएर लगानी गर्नेहरु डराउनु पर्ने अवस्था छ कि छैन ?
पुँजी बजारमा जहिले तपाई छिरेपनि सत्प्रतिशत नै जोखिम हुन्छ । परिसूचक दुई सय अंक हुँदा लगानीकर्ता छिर्दा पनि सत्प्रतिशत जोखिम हुन्छ । तर के भने, किनेको सेयर होल्ड गरेर राख्न सक्ने क्षमता छ कि छैन त्यो महत्वपूर्ण हुन्छ । तपाईसँग आफ्नै बचत छ भने त्यसको तुलनात्मक लाभ हेर्नुहुन्छ । तपाईले मुद्दति खातामा राख्नु हुन्थ्यो वा अरु त्यस्तै केही क्षेत्रमा रकम लगानी गर्नुहुन्थ्यो । एक बर्ष बैंकमा राख्दा पाँच प्रतिशत ब्याज पाउनु हुन्छ । सेयर बजारमा त्यो पैसा लगानी गर्दा गुमाउने भनेको त्यही पाँच प्रतिशत हो । मेरो होल्डिङ क्यापासिटी र पुँजीको संरक्षण हुन्छ हुँदैन भन्ने आधारमा जोखिम कम बेसी मात्र हुने हो । त्यही भएर कुन बेला छिर्ने वा निस्कने भनेको आआफ्नो क्षमता र विश्लेषणमा भर पर्छ ।
अहिले बचतमा पाउने ब्याज धेरै कम छ, ऋणै लिएर लगानी गर्छु भन्दा पनि ब्याजदर निकै सस्तो छ, भनेपछि बजार छिर्ने अहिले उपयुक्त समय हो ?
बजार यसरी नै अगाडि वढ्छ भन्न अलि गाह्रो छ । राजनीतिक वातावरण सुमधुर हिसावले अगाडि गयो भने ऋण लिएर लगानी गर्दा पनि राम्रो प्रतिफल पाउन सकिन्छ । अहिले नै धेरै कम्पनीको मूल्य आम्दानी अनुपात २० प्रतिशतभन्दा कमै छ । अहिलेको समय बजार छिर्नका लागि गलत समय चाही होइन ।
तर यो बीचमा केही गलत भयो, राजनीति विग्रियो वा वित्तीय प्रणालीमा समस्या आयो भने त जे पनि हुन सक्छ । प्रतिफल सत्प्रतिशत नै सुनिश्चित हुने भए त मान्छे अरुतिर किन जान्थे र सबै यतै आइहाल्थे नि ।
त्यसोभए अब लगानीकर्ताले कस्तो पोजिसन लिने त ?
लगानीकर्ताले जोखिम कति उठाउन सक्छन त्यसमा भर पर्छ । हामी अहिले केही सेयरहरु बिक्री गरिरहेका छौं । किनेको समय र अहिलेको बेलामा के कति नाफा भयो त्यसका आधारमा बजारबाट निस्केका छौं । हामी फेरि लगानी गर्नका लागि बाहिरिएका हौं । हामी बाहिरिएको छोटो अवधिका लागि हो, फेरि छिरि पनि हाल्छौं ।
सामूहिक लगानी कोषहरुका लागि अहिले फेवरेवल समय छ ?
अहिले लगानीका लागि राम्रो समय हो । लामो समय हेर्ने संस्था वा व्यक्तिका लागि लगानी गर्ने एकदमै ठीकको बेला हो । छोटो सयमका लागि प्रवेश गर्नेलाई फरक हुनसक्छ । हाम्रा युनिट होल्डरलाई पहिलो बर्ष १४ प्रतिशत लाभांस दियौं, दोस्रोपटक अलिकति बढी दिनु हाम्रो दायित्व हो । हामी अरु व्यक्तिले जस्तो एग्रेसिभ लगानी गर्न सक्दैनौं । जनताको पैसा चलाएकाले सबै कुरा बिचार गरेर हिँड्नु पर्छ । मार्केट मेकरले जस्तो भूमिका निभाउन हामी सक्दैनौं । मार्केट मेकरले त जसरी लगानी गरे पनि होला तर हामीले धेरै पक्ष हेर्नुपर्छ ।
भनेपछि हामीले नै सर्वसाधारणलाई बुझाउन सकेका छैनौं, सामूहिक लगानी कोष र बजार निर्माता एउटै हुन् भन्ने लगानीकर्तामा परेको छ ?
केही हदसम्म हो । संस्थागत लगानीकर्ता भनेको घटेका बेला बजारलाई मेन्टन नै गरिदिनु पर्यो र बढेका बेला एक्जिट गरेर आउनु पर्यो भन्ने बुझाइ छ । तर कसरी हेरिदिनु पर्यो भने, हाम्रो कोषको प्रकृति वा पोर्टफोलियो म्यानेजर चाही हाम्रो अध्ययनमा बजार कता जान्छ त भन्ने बुझ्न जरुरी छ । हामीलाई लाग्यो कि बजार अझ बढ्छ, के अब बजारलाई करेक्सन गर्नु पर्छ भनेर हामी बीचमै वाहिरिने त ? त्यसो गर्यो भने संभावित नाफाबाट हाम्रा लगानीकर्तालाई टाढा पुर्याइरहेका हुन्छौं । हामीले पनि जवाफ त दिनै पर्छ । त्यसो गर्यो भने त हामीले वित्तीय अपराध गरिरहेका हुन्छौं नि । पब्लिकको पैसा लिएर मनखुसी गर्न सकिँदैन ।
मार्केट म्यानेज गर्नका लागि सामूहिक लगानी कोषहरुले आफ्नो भूमिकै देखाएका छैनन् भनिन्छ । यो आरोपमा कतिको दम छ ?
आरोप नै गलत हो । अहिले संस्था नै कम छन् । दुई तीन वटा सामूहिक लगानी कोष छन् । मैले तीन वटा स्किम चलाएँ भने पनि मैले गर्ने निर्णय तीन वटैमा एउटै हुन्छ नि, फरक त हुँदैन । एउटा स्किम चाँही बढ्ने वित्तिकै विक्री गरिदिने, अर्को चाँही किन्ने भन्ने त हुँदैन नि । त्यसैले थोरै सस्थाले जतिवटा स्किम चलाएपनि निर्णय उस्तै प्रकारको हुन्छ ।
संस्था धेरै हुनुपर्यो । लगानी नेचर फरक भएको स्किम हुनुपर्यो, अनि मात्र भूमिका प्रभावकारी हुन्छ । तत्र त हामी पनि बजार अनुसार नै चल्नुपर्छ ।
बजारमा चलखेल हुन्छ भनिन्छ । पहिले त धेरै हुन्थ्यौ, हामी सबैलाई थाहा छ । अहिले बजारको आकार बढेको छ, चलखेल कतिको हुन्छ ?
चलखेल भनेको परफेक्ट वा नन्पर्फेक मार्केट सबैमा हुन्छ । चलखेल केलाई भन्ने ? इनसाइडेड ट्रेडिङ त अपराधै हो । चलखेलभित्र के केलाई राख्ने ? लगानी कोषले बिक्री गर्दै छ भन्ने कसैले थाहा पायो र बिक्री गर्न थाल्यो भने त्यसलाई चलखेल भन्ने त ? त्यो त भन्न मिलेन । उसले आफ्नो निर्णय गर्न नसकेको भएर अरु थर्ड पार्टीको निर्णयलाई पच्छ्याएको हुन्छ ।
बजार त्यसरी प्रभावित भएको छ कि छैन ?
बजार त जहिले पनि त्यसरी नै चलेको हुन्छ हुन्छ । आकार बढ्दै गएपछि यस्ता चलखेल कम हुँदै जान्छन । हिजोका दिनमा तीन÷चार जनाको निर्णयले बजारलाई असर गर्छ भनिन्थ्यो, आज त्यो कुरा पुरानो भइसक्यो, मान्य हुँदैन । बजारको लिमिटेसनले चलखेल हुन्छ । कुनै पनि संस्थाको वोर्ड मिटिङ सकिएको हुँदैन बजारमा सेयरको मुल्य माथि पुगिसकेको हुन्छ । त्यो पनि चलखेल हो । चलखेल संस्थागत सुशासनका हिसाबले पनि हुन्छ ।
.jpg)
बजारमा सामूहिक लगानी कोषको निर्णयले महत्व राख्नुपर्ने हो । लगानीकर्ताहरु यस्ता कोषको मुभमेन्ट हेर्ने होइन कि केही एउटा भिँडको कुरालाई आधार बनाएर लगानी गरिरहेको हुन्छ ?
त्यो त पक्का पनि हुन्छ । बजारमा पहिलेदेखि भिजेर बसेको ग्रुपको कुरा स्वभाविक रुपमा पत्याइन्छ । ग्रुप नभएको भए बजार यो अवस्थासम्म सायद पुग्दैन थियो होला । उनीहरुको निर्णय ठीक वेठिक जे भने पनि बजारलाई अगाडि बढाउन त्यो ग्रुपको पनि ठूलो भूमिका छ । यसलाई सकारात्मक रुपमा हेर्नुपर्छ । बजार हिजो २ सयमा हुँदा पनि त्यो ग्रुप थियो, अरु थिएनन् ।
यहाँ वित्तीय अपराध भएको छ कि छैन, त्यो हेर्नुपर्छ । अपराध भएको छ भने कारवाही गर्नुप¥यो । हाम्रो नियामकहरु पनि यसमा सचेत हुन जरुरी छ । मर्जर हुने भयो भनेर पहिले नै सुचना चुहाइन्छ, बजार बढ्छ । संस्था कहाँ हराउँछ, मर्जर कहाँ पुग्छ । लगानीकर्तालाई त झुक्याउने काम भयो नि । यो पनि वित्तीय अपराध हो । बजारमा सबैले एकै समयमा सुचना पाउनुपर्छ ।
नियामकको क्षमता नपुगेर पनि भएको होला नि ?
पक्का पनि । मैले त धेरै पटक भनिसके नियामकको क्षमता वढाउनु पर्यो भनेर । उहाँहरु बलियो हुनु भएन भने हाम्रो विकास पनि रोकिन्छ । बजारको विकास रोकिन्छ । धितोपत्र वोर्ड जम्मा २८ जनाले चलाइरहेको अवस्था छ । बजार खर्बौको भइसक्यो । त्यो अनुसार उहाँहरुको क्षमता पनि बढाउनु पर्छ ।
पहिले त धितोपत्र वोर्ड मात्रै होइन सरकारले नै सोच्नु प¥यो पुँजी बजारलाई कतातिर लैजाने भनेर । रिपोर्ट बनाएर थन्क्याउने होइन, त्यसलाई कार्यान्वयन गर्नु प¥यो । वोर्ड स्वायत्त नभएर पनि हो । वोर्डलाई स्वायत्त बनाउनु पर्छ । बजार ठूलो भइसकेको छ, एकदमै सेन्सेटिभ छ । उसलाई आफ्नो निर्णय गर्ने अधिकार दिनुपर्छ । अनि पो काम छिटो छरितो हुन्छ त । वोर्डले गरेको निर्णय अन्तिम हुनुप¥यो । अहिले त वोर्डले निर्णय गर्छ, त्यो अर्थमन्त्रालय जान्छ । त्यहाँकाले कुरै बुझेका हुँदैनन् । अन्तिम निर्णय हुँदासम्म बर्षौ लागिसक्छ । त्यतिन्जेल बजार कहाँ पुगिसकेको हुन्छ । समस्या भनेको म्याक्रोबाट माइक्रोमा आएको हो । सरकारले पुँजी बजारका बारेमा बजेटमा एक लाइन लेखेर हुँदैन ।
प्राथमिक बजारमा कोषले निकालेका युनिटहरु मजाले बिक्री हुन्छ, तर दोस्रो बजारमा धेरै कारोबार हुँदैन ?
बजारमा जानु पर्ने भनेको तल्लो तहका लगानीकर्ता नै हो । संस्थाभन्दा व्यक्ति जानु पर्ने हो । सर्वसाधारणको सहभागिता सुरुमै कम भएर यस्तो भएको हो ।
युनिट बिक्री हुँदैन कि भनेर संस्थागत, समूहमा गएर मार्केटिङ गर्ने, यसले जनताकोमा कम पुग्ने भइहाल्यो, त्यसैले दोस्रो बजारमा पनि किनबेच थोरै भएको होला ?
हामीले दुवैलाई एकै ठाउँमा लगानी गर्न दिने हो । संस्थालाई बेग्लै फोरम त दिएका छैनौं । चेतनाको कुराले पनि यस्तो भएको हो । सामूहिक लगानी कोषका युनिटहरुको महत्व बुझाउन नसकेका कारण यस्तो भएको हो ।
अलिकति फरक प्रशंग, सेयर सेमीलिक्विड हो, लगानीकर्ताले आफूले चाहेको बेलामा बेचेर पैसा पाउनु पर्ने हो, तर नामसारीमा तीन/चार महिना लगाइन्छ मर्चेन्ट बैंकरहरुबाट ? यसले लगानीकर्तालाई हतोत्साहित गरिरहेको छ ?
आरोप सबैमा जान्छ । हामी पनि स्टेकहोल्डर हो । यो समस्या व्यक्ति, ब्रोकरबाट सुरु हुन्छ । सर्वसाधारणले प्रेसर नगरुन्जेलसम्म ब्रोकर कम्पनीले त्यो नामसारीमा पठाउँदैनन् । अन्तिम समयमा नामसारीमा पठाइन्छ । एकैचोटी लोड बढेर पनि भएको हो । साधारणसभाका बेलामा १५ दिनभित्रै दिन सकिने अवस्था छैन । अरु सामान्य अवस्थामा हामी १५ दिनभित्रै काम सक्छौं । कोषका युनिटहरु त सात दिनभित्रै हुन्छ ।
सबै म्यानुअल काम भएर यस्तो भएको हो । दक्ष कर्मचारी अभाव पनि एउटा कारण हो । यसको समाधान भनेको सिडिएस हो । डिम्याट टु डिम्याट गर्यौं भने यस्तो समस्या नै आउँदैन । तीन दिनमा काम हुन्छ । त्यो प्लेटफर्म प्रयोग गर्नुपर्छ । अटोमेसनमा गएपछि यो समस्या समाधान हुन्छ ।
फुलअटोमेसनमा लैजान केही समस्याहरु आइरहेको छ । स्टेकहोल्डर व्रोकरहरु पनि तयार देखिँदैनन् भनिन्छ । सिडिएसमा पनि केही समस्याहरु छन् ?
लिमिटेसन त होला । समस्या सुरुदेखि नै हो । सिडिएसको स्थापनादेखि नै समस्या आएको हो । बाणिज्य बैंकलाई पनि सहभागि गराउने भन्ने थियो । त्यो गरिएन । उनीहरुले पनि स्वामित्व लिन्थे । बैंकहरु सहभागि भएको भए अकाउन्टेवल हुन्थ्यो, तीन पटक उद्घाटन हुँदैनथ्यो । सिस्टमेटिक हिसावले गएको भए समस्या हुँदैनथ्यो । सुरुदेखि नै सिस्टम विग्रिएकाले समस्या भएको हो ।
सिडिएसको विकल्प केही पनि छैन । बजारको विकास गर्न यो अटोमेसनमा जानै पर्छ । नेप्सेको पनि पूर्णअटोमेसन हुनुपर्छ । मान्छेले इन्ट्राडे कारोबार गर्न पाउनुपर्छ । सेटलमेन्ट गर्न पाउनुपर्छ । यस्तो भए चलखेलको कुरा पनि हराउँछ ।
सरकारले रिफर्म त भन्यो तर पूँजी बजारलाई प्राथमिकतामा नराखेकाले यसो भएको भन्न सकिन्छ ?
मैले अगाडि नै भने नि सरकारको प्राथमिकतामा पुँजी बजार परेन भनेर । बजेटमा एक लाइन राख्नुपर्छ भनेर राखिएको छ, त्यति मात्र हो । बजेटमा राखेपछि सरकारले कार्यक्रम बनाएर अगाडि लगेको कहिले पनि देखिएको छैन । संस्थामा पठाएका मान्छेहरुमा पनि त्यो भिजन देखिएन ।
पुँजी बजारको नेतृत्व गर्ने ठाउँमा जम्मा ३०/३५ हजार रुपैयाँ तलव दिएर मान्छे पठाइन्छ । कम तलब भएको ठाउँमा को प्रोफेसनल मान्छे गएर बस्छ ? पहिचान हुन्छ भन्ने बाहेक कोही पनि त्यहाँ जाँदैन । जहाँ पनि बिक्री हुने मान्छे त्यहाँ किन जान्छ ? काम गर्ने वातावरण पनि छैन । कर्मचारीको पनि लिमिटेसन छ । निर्णय गराउन मन्त्रालय नै पुग्नु पर्छ । अनि किन जान्छ मान्छे त्यहाँ ?