निगम सञ्चालक समितिको बैठक आज, पेट्रोलको मूल्य घट्न सक्छ

बिजमाण्डू
२०६९ असार २२ गते ००:०० | Jul 6, 2012
निगम सञ्चालक समितिको बैठक आज, पेट्रोलको मूल्य घट्न सक्छ

काठमाडौं । पेट्रोलको मूल्य आज दुईदेखि पाँच रुपैयाँवीच समयोजन हुने सम्भावना छ । नेपाल आयल निगम नाफामा गएपछि यसै विषयमा छलफल गर्न शुक्रवार निगम सञ्चालक समितिको बैठक बस्दै छ । जुलाई १ मा इन्डियन आयल कर्पोरेशनले निगमलाई पठाएको मूल्यसूची अनुसरा प्रतिलिटर पेट्रोलमा १५ रुपैयाँ नाफा छ । नाफा बढी भएपछि तेलको मूल्य घटाउन नैतिक दबाब परिरहेको बेला आज निगमको सञ्चालक समितिको बैठक बस्दैछ । निगम स्रोतका अनुसार बैठकमा तेलको मूल्य घटाउने\ नघटाउने बारे पनि छलफल हुनेछ ।
‘यो बैठकमा विभिन्न विषयहरु छन्, तेलको मूल्य बारेमा पनि छलफल हुनेछ,’ वाणिज्य सचिव एवं निगम सञ्चालक समिति अध्यक्ष लालमणी जोशीले भने, तर घट्छ नै भनेर म अहिले भन्न सक्दिन, उनले भने । ‘आइओसीले पठाएको नयाँ मूल्यमा निगमलाई सामान्य नाफा भएको छ । यस बारेमा पनि छलफल हुन्छ,’ उनले भने, ‘तर यही मूल्यलाई आधार बनाएर घटाउन सकिने अवस्था छैन ।’ उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेकोले अर्को मूल्य आएपछि मात्रै मूल्य घटाउन सकिनेछ ।
इन्डियन आयल कर्पोरेसन(आइओसी)ले जुलाईमा पठाएको नयाँ मूल्य अनुसार निगमलाई १३ करोड नाफा छ । निगमलाई अहिले सबैभन्दा बढी मुनाफा पेट्रोलमा छ । निगमलाई एक लिटर पेट्रोलमा १५ रुपैयाँ नाफा छ भने मट्टितेलमा १२ रुपैयाँ नाफा छ ।
निगमले यसअघि पनि ०६५\०६६मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल ४० डलरमा आउँदा मूल्य नघटाई ३ अर्ब ३१ करोड मुनाफा गरेको थियो । त्यो बेला निगमले ४० डलरमा किनेको तेल उपभोक्तालाई ७० व्यारेल डलरको मूल्यमा तेल बिक्री गरेको थियो ।
 

Tata
GBIME
Nepal Life