
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । पूँजीबजारमा सृचीकृत कम्पनीमध्ये १२ कम्पनीले बर्षाैदेखि र १० कम्पनीले केही बर्षयता बार्षिक साधारण सभा गरेका छैनन् । नेप्सेमा सुचीकृत तथा पब्लिक लिमिटेडको रुपमा दर्ता भएका यी कम्पनीले आर्थिक बर्ष सकिएको छ महिनाभित्र अनिवार्य रुपमा बार्षिक साधारण सभा गर्नुपर्ने व्यवस्था छ ।
बर्षौ देखि साधारण सभा नगर्ने १२ कम्पनी कुन अवस्थामा छन भन्ने जानकारी न त सर्वसाधारण लगानी न नियामकलाई नै छ । यी कम्पनीहरु बर्षाैदेखि लगानीकर्ताको पहुँचभन्दा बाहिर छन् । यी कम्पनीका सञ्चालकले लगानीकर्ता र सरकारी निकायलाई कुनै जानकारी समेत दिएका छैनन् । सञ्चालनमा रहेका अन्य १० कम्पनीले पनि समयमा बार्षिक साधारण सभा नगरेको नेपाल धितोपत्र बोर्डको तथ्यांकले देखाउँछ ।
कम्पनी कुन अवस्थामा छन् भनेर जानकारी समेत नदिनेमा अरुण बनस्पती घिउ उद्योग, बिराट शु, बुटवल स्पिनिङ, फ्लोर हिमालयन, गोरखाली रबर उद्योग, हरिसिद्धी इटा उद्योग, ज्योती स्पिनिङ, खाद्य उद्योग, श्री भृकुटी पल्प एण्ड पेपर, श्रीराम सुगर मिल्स, नेपाल ट्रेडिङ, नेपाल वेलफेयर कम्पनी हुन् ।
नेपाल धितोपत्र बोर्डको सूचीमा भने नेपाल बिटुमिन एण्ड ब्यारेल पनि जानकारी नदिनेको सूचीमा छ । तर यो कम्पनीले गत असारमा २४औं साधारण सभा गरेर लगानीकर्तालाई १० प्रतिसत लाभांस दिने निर्णय गरेको थियो । यो कम्पनीको सेयर २०६४ साल पछि नेप्सेमा कारोबार भएको छैन ।
समयमै साधारण सभा नगर्ने १० कम्पनीमा याक एण्ड यति होटेल, नेशनल हाइड्रो, एभरेष्ट इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान लगायत छन् । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, गोरखा बिकास बैंक र काष्ठमण्डप डेभलपमेन्ट बैंक हुन् ।
के छ कानुनी व्यवस्था ?
कम्पनी ऐन २०६३ अनुसार आर्थिक वर्ष सम्पन्न भएको छ महिना भित्र वार्षिक साधारण सभा गर्नुपर्छ । कम्पनीहरुले निवेदन दिएर साधारण सभा गर्ने म्याद थप गर्न सक्छन् । यही नियमलाई आधार मानेर अन्य नियामकहरु धितोपत्र बोर्ड, बीमा समितिलगायतले बार्षिक साधारण सभा गर्नुपर्ने नियम बनाएका छन् । तोकिएको समयमा साधारण सभा नगरे धितोपत्र बोर्डले पच्चिस देखि पचहत्तर हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । तर साधारण सभा नगरेको भनेर हालसम्म बोर्डले कुनै पनि कम्पनीलाई कारवाही गरिएको छैन ।
‘नेशनल हाइड्रोपावर कम्पनीलाई बार्षिक साधारण सभा गर्न पटक पटक भनेका छौं, तर जरिवाना कसैलाई गरेका छैनौं’, धितोपत्र बोर्डका कानुन बिभाग प्रमूख मुक्तिनाथ श्रेष्ठ भन्छन् । धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ले पनि यो अवधिमा बार्षिक साधारण सभा गर्न नसके धितोपत्र बोर्डमा तुरन्त जानकारी गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, धितोपत्र सम्बन्धि ऐन, २०६३ ले बोर्डको नियम तथा निर्देशन नमान्नेलाई पच्चीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।
कम्पनी ऐनलाई नै आधार बनाएर बीमा समितिले पनि बीमा कम्पनीहरुलाई मसिंरसम्म आफ्नो बार्षिक वित्तीय विवरण पेश गरिसक्न र त्यसपछिको एक महिनामा बार्षिक साधारण सभा गरिसक्नु पर्ने व्यवस्था लागु गरेको छ । यसअघि बीमा ऐनले कम्पनीहरुलाई आर्थिक बर्ष सकिएको १० महिनासम्ममा बार्षिक वित्तीय विवरण पेश गर्न र त्यसको ६० दिनभित्र साधारण सभा गर्न सक्ने व्यवस्था गरेको थियो। बीमा कम्पनीहरुले ऐनको व्यवस्थालाई आधार मानेर साधारण सभा ढिलो गर्न थालेपछि समितिले नयाँ निर्देशन जारी गरेको समितिका प्रवक्ता राजकुमार अर्यालले बताए ।
म्याद सकिएको तीन महिनासम्म पनि साधारण सभा नगर्नेलाई कम्पनी रजिष्ट्रारको कार्यालयले नै निर्देशन दिने सक्ने व्यवस्था कम्पनी ऐनमा छ । कम्पनी रजिष्ट्रारको कार्यालयले दिएको थप यो अवधिसम्म पनि कुनै कारण नखुलाई साधारण सभा रोकि राखेमा लगानीकर्ताले अदालतमा उजुरी दिन सक्ने व्यवस्था पनि ऐनले गरेको छ । तर लगानीकर्ताहरु सञ्चलनमा रहेका कम्पनीहरु बिरुद्ध अदालतमा जान रुचाउँदैन ।
नेपाल राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाले तोकिएको समयमा बार्षिक साधारण सभा नगरे आफुले दिने सहुलियत कटौती गर्ने गरेको छ ।
पछिल्लो पटक कम्पनीहरुले कहिले गरे साधारण सभा ?
सञ्चालक समितिमा विवाद लगायतको कारण नेशनल हाइड्रोपावरको बर्षाैदेखि साधारण सभा हुन सकेको थिएन । तर गत बर्ष बार्षिक साधारण सभा गरेपनि कम्पनीको आव २०६६/६७ यताको वित्तीय विवरण प्रकाशित हुन सकेको छैन । साधारण सभामा बार्षिक वित्तीय विवरण समेत पेश हुन सकेको छैन।
एभरेष्ट इन्स्योरेन्सले २०६९ सालमा पछिल्लो पटक बार्षिक साधारण सभा गरेको थियो । आव २०६७/६८ को वित्तीय विवरण पारित गरेको कम्पनीले त्यसताको बार्षिक वित्तीय विवरण सभामा पेश गर्न सकेको छैन । कम्पनी समस्याग्रस्त भएपछि बीमा समितिले नै केही समय सञ्चालन गरेको थियो । अहिले व्यवस्थापन पक्षलाई कम्पनी सञ्चालनको जिम्मा लगाइएको भएपनि बार्षिक साधारण सभा हुन सकेको छैन ।
गुराँस लाइफ इन्स्योरेन्सले गत बर्ष बार्षिक साधारण सभा त गर्यो तर सभामा आव २०६८/६९ को बार्षिक वित्तीय विवरण पेश गर्यो । कम्पनीको त्यसयताको बार्षिक वित्तीय विवरण सभामा पेश हुन सकेको छैन ।
२०६८ सालमा पछिल्लो पटक बार्षिक साधारण सभा गरेको एनबी इन्स्योरेन्सको पनि त्यसयता बार्षिक साधारण सभा हुन सकेको छैन । बीमा समितिको कारवाहीमा परेको कम्पनीको सञ्चालनमा नै समस्या देखिएको छ । कम्पनीले २०७० सालमा बिशेष साधारण सभा भने गरेको थियो ।
गत बर्ष बार्षिक साधारण सभा गरेको प्राइम लाइफ इन्स्योरेन्सले पनि आव २०६८/६९ को बार्षिक वित्तीय विवरण पेश गरेको थियो । गत बर्ष नै बार्षिक साधारण सभा गरेको युनाइटेड इन्स्योरेन्सले पनि आव २०६८/६९ पछिको बार्षिक वित्तीय विवरण सभाबाट पारित गराएको छैन। समस्याग्रत घोषणा भएका गोरखा बिकास बैंक, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट लगायतका सस्थाको पनि नियमित साधारण सभा भएको छैन ।
सरकारी स्वामित्व भएका कम्पनीहरुमा बार्षिक साधारण सभा समयमै नगर्ने पुरानै रोग हो । राष्ट्रिय बीमा संस्थानमा पनि यो समस्या रहेको छ । कम्पनीको २०६९ सालमा पछिल्लो पटक बार्षिक साधारण सभा भएको थियो । त्यो समय पनि कम्पनीले आव २०६२/६३ को वित्तीय विवरण सभामा पेश गरेको देखिन्छ ।
याक एण्ड यतिले केही बर्ष अघि नै नेप्सेमा डिलिष्टिङको लागि अनुरोध पत्र पठाएको थियो । लगानीकर्ताको लगानी फिर्ता गर्न कम्पनी तयार नभएपछि कम्पनीलाई नेप्सेले डिलिष्टिङ गराएको छैन। तर कम्पनीले सुचीकृत कम्पनीले गर्नुपर्ने कुनै नियम पालना गरेको छ, न त लगानीकर्तालाई कुनै जानकारी नै दिएको छ ।