नयाँदिल्ली । अर्थतन्त्र उकास्ने पछिल्लो योजना अन्तर्गत अमेरीकी सरकारले तेस्रो चरणको सहायता प्याकेज (क्वान्टिटेटिभ इजिङ–३) घोषणा गरेको दिन विश्वभरका सेयर बजार उकालो लागेका छन् । सहायता प्याकेज घोषणासँगै आम जनता एवं लगानीकर्ता आशावादी देखिएका छन । जसको परिणाम विश्वभरका सेयर बजारमा देखिएको छ । शुक्रवार विहानैदेखि युरोपेली सेयर बजारमा सुधार देखिएको छ । संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सका सेयर बजारमा विहानी सत्रमा नै १.५ प्रतिसतको बृद्धि दर्ता गर्न सफल भएका छन् । अमेरीकी सेयर बजारमा पनि १.५ प्रतिसतको वृद्धि हुँदै २००७ को डिसेम्बर यताकै उच्च विन्दुमा आएको छ । यता हङकङको सेयर बजार २.७ प्रतिसतले र जापानको बजार १.३ प्रतिसतले उकालो लागेका छन् ।
भारतको सेयर बजारले पनि अमेरीकी निर्णयको जोडदार स्वागत गरेको छ । भारतको मुख्य सेयर बजार बम्बई स्टक एक्सेचञ्ज अन्तर्गतको सेन्सेक्स एक दिन २.४६ प्रतिसत (४४३ अंक) ले माथि चढदै २०११ को जुलाइ यताकै उच्चस्तरमा पुगेको छ । यसैगरी नेसनल स्टक एक्सचेञ्ज अन्तर्गतको निफ्टीमा पनि २.६ प्रतिसतको वृद्धि देखिएको छ । भारतीय सेयर बजारमा देखिएको बृद्धि तीन महिना यताकै उच्च हो ।
भारत सरकारले गर्ने भनिएको अर्थतन्त्र उकास्ने प्याकेज एवं डिजलमा भएको मूल्यवृद्धि दुवै कारणसँगै अमेरीकी केन्द्रीय बैंकको सहायता प्याकेजसम्बन्धी निर्णयका कारण बजारमा उच्च वृद्धि भएको भारतीय संचारमाध्यमले जनाएका छन् । शुक्रबार बैंक, रियल स्टेट तथा उर्जा कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि देखिएको छ ।
अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले अर्थतन्त्र उकास्नकालागि मासिक ४० अर्ब डलर बराबरको बण्ड खरिद गर्ने निर्णय गए राति गरेको थियो । फेडरल रिजर्भका अनुसार रोजगारी सृजनामा उल्लेख्य सुधार नआउञ्जेल बण्ड खरिद गर्ने कार्य जारी रहने छ । अमेरीका विश्व निर्यातको ठुलो बजार भएका कारण अमेरीकी अर्थतन्त्रले प्रत्यक्ष वा परोक्ष रुपमा समग्र विश्वको अर्थतन्त्रलाई नै असर पार्ने गर्छ । मासिक ४० अर्ब डलरको दरमा सरकारी बण्ड खरिद गर्ने केन्द्रीय बैंकको निर्णयले अमेरीकी बजारमा व्याजदर घटाउने छ । जसका कारण आम जनता एवं लगानीकर्ताहरु कर्जातर्फ आकर्षित भई व्यवसायीक गतिविधि बढने अपेक्षा गरिएको छ ।