
काठमाडौं । मर्जरपछि नेपाल स्टकमा कारोवारको चौथो दिनमा पनि ग्लोबल आइएमईको रेकर्ड वृद्धि जारी रह्यो । बुधवार ग्लोबल आइएमईको २१ रुपैयाँ बढेर स्टकमा कारोवार भयो । आइतवार १७५ रुपैयाँमा कारोवार भएको ग्लोबलको सेयर सोमवार १७ रुपौँले बढेर १९२ रुपैयाँमा कारोवार भएको थियो । मंगलवार १९ रुपैयाँ बढेर २११ रुपैयाँमा कारोवार भएको बैंकको सेयर बुधवार २३२ रुपैयाँमा कारोवार भएको हो ।
प्रतिशतका आधारमा सबैभन्दा बढी वृद्धि हुने बैंकका रुपमा ग्लाबल बुधवार पनि नम्वर १ मै रह्यो । मंगलवार पनि ग्लोबल आइएमइको सेयर १० प्रतिशतले वृद्धि भएर कारोवार भएको थियो । स्टक बजारमा बुधवार आश्चर्य नविल बैंकका सेयरधनीले देखाए । मंगलवार ६४ रुपैयाँले बढेको नबिल बैंकको सेयर बुधवार पाँच रुपैयाँ घटेर १४८० रुपैयाँमा कारोवार भयो । नविलले बुधवार मात्रै लगानीकर्तालाई २० प्रतिशत बोनस र ४० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो ।
बुधवार इन्भेष्टमन्ट बैक र बैंक अफ काठमाण्डूको सेयर मूल्य समेत ओरालो लाग्यो । उता एनबी समूहका दुवै बैंकले स्टकमा राम्रो वृद्धि देखाए । बंगलादेश बैंकको बुधवार मात्रै १३ रुपैयाँले सेयर मूल्य बढ्यो । मंगलवार १३४ रुपैयाँमा कारोवार भएको बंगलादेशको सेयर बुधवार १४७ रुपैयाँमा कारोवार भयो ।
बंगलादेश बैंकले मंगलवार मात्रै आफ्नो कुल मुनाफा एक अर्ब तीन करोड र मुनाफा ८३ करोड भएको तथ्य सार्वजनिक गरेको थियो । मुनाफा बढे पनि स्टकमा एनबीका सेयरधनीले भने यो मुनाफाबाट लाभांस पाउने छैनन् । एनबी समूहको अर्को बैंक एनसिसिको मंगलवार चार रुपैयाँले सेयर मूल्य झरे पनि बुधवार पाँच रुपैयाँ बढेर प्रतिकित्ता १२३ रुपैयाँमा कारोवार भयो ।
बुधवार चार्टड बैंकको समेत सेयर मूल्य १० रुपैयाँले घटेर कारोवार भयो । अधिकांश बाणिज्य बैंकको सामान्य मूल्य बढेपछि स्टक एक्सचेञ्जमा हरियो बत्ती बल्यो । लगातार केही दिनदेखि इन्सुरेन्स समूहमा देखिएको वृद्धिमा बुधवार ब्रेक लाग्यो । नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य ६२ रुपैयाँले घट्यो । बुधवार विशाल बजारको सेयर मूल्य ६८ रुपैयाँले बढेर १७७३ रुपैयाँमा, नागरिक लगानी कोषको ४२ रुपैयाँ बढेर ७४५ मा र बीमा समितिको ४५ रुपैयाँले बढेर १६८५ रुपैयाँमा कारोवार भयो ।
नेपाल टेलिकमको सेयर मूल्यमा समेत बुधवार नौ रुपैयाँको वृद्धि भयो । यसले नेप्सेलाई उचाल्यो । मंगलवार प्रतिकित्ता ५७५ रुपैयाँमा कारोवार भएको टेलिकमको सेयर मूल्य बुधवार ५८४ रुपैयाँ पुग्यो । बुधवार नेप्से १.८७ अंकले बढेर ४१४.३५ अंकमा पुग्यो । सबैभन्दा बढी टेलिकमको कारोवार हुने अन्य समूहको सूचकांक ८.२३ अंकले बढेर कारोवार भयो ।