
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरी १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ। बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट बोलकबोलमा तीन महिनाका लागि निक्षेप लिन लागेको हो। चालु आर्थिक वर्षमा यस अघि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप लिएको थियो।
बैंक तथा वित्तीय सस्थाहरुले भदौ ३१ गतेसम्म निक्षेप राष्ट्र बैंकलाई दिने प्रस्ताव पेश गर्न पाउने छन्। एउटा सस्थाले न्युनतम पाँच करोड रुपैयाँ र अधिकतम पाँच करोडले निशेष भाग जाने रकम प्रस्ताव गर्न पाउने छ।
असोज एक गते देखि राख्ने यो निक्षेपको म्याच्युरिटी पुस एक गते हुनेछ। राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बजारबाट तरलता खिच्न यो उपकरण घोषणा गरेको हो। बजारमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले यो उपकरण मार्फत खिच्न लागेको हो। बैंक तथा वित्तीय सस्थाले प्रतिस्पर्धामा व्याजदर प्रस्ताव गर्नेछन्। सस्तो व्याजदर कोट गर्नेको निक्षेप राष्ट्र बैंकले स्वीकार्छ।
बैंक तथा वित्तीय सस्थाले यस्तो निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा भने गणना गर्न पाउने छैनन्। तर एसएलआर तथा लिक्विडिटी रेसियोमा भने गणना गर्न पाउनेछन्।