बीबी एअरवेजको असोज २५ देखि नियमित उडान, पहिलो रुट क्वालालम्पुर

बिजमाण्डू
२०६९ भदौ २३ गते ००:०० | Sep 8, 2012
बीबी एअरवेजको असोज २५ देखि नियमित उडान, पहिलो रुट क्वालालम्पुर

काठमाडौं । बीबी एअरवेजले असोज २५ गतेदेखि नियमित उडान सुरु गर्ने भएको छ । एअरलाइन्सको पहिलो गन्तव्य काठमाडौंबाट क्वालालम्पुर हुनेछ । त्यसैगरी एअरलाइन्सले काठमाडौबाट हङकङ पनि नियमति उडान भर्नेछ । गैरआवासिय नेपाली भवन भट्टको लगानीमा स्थापित बीबी एअरवेजले नियमित उडान सुरु गर्नु अघि भदौ २८ गते चार्टड उडानबाट आफ्नो सेवा सुरु गर्दैछ । शनिवार पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष भवन भट्टले भदौ २८ मा कम्बोडियाको सियाम रिपबाट चार्टड उडान सुरु हुने जानकारी दिए ।

५० करोड रुपैयाँ चुक्ता पुँजी भएको यो एअरलाइन्सले बोइङ ७५७–२०० बाट उडान सुरु गर्नेछ । एअरलाइन्सले असोजबाट जापानको टोकियोमा चार्टड उडान गर्ने घोषणा पनि शनिवार गरेको छ । बीबी एयरलाइन्समा अर्को बिमान थपिएपछि आफ्नो सेवा बैंकक, सिंगापुर, नयाँदिल्ली र दोहामा विस्तार गर्ने अध्यक्ष भट्टले जानकारी दिए । उनले त्यसपछि थपिने दुई ७६७ बोइङबाट युरोपको लण्डन, फ्रयांकफर्ट, कोरियाको सिओल, अष्ट्रेलिया र चीनको ग्वानजाओ र ल्हासासम्म सेवा विस्तार गर्ने जानकारी दिए ।
शनिवार नै बीबी एअरवेजले काठमाडौंबाट हङकङ र क्वालालम्पुरको भाडादर पनि सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौं–क्वालालम्पुरको दुइतर्फी भाडा ३६ हजार रुपैयाँबाट सुरु हुने जानकारी दिएको छ । त्यसैगरी क्वालालम्पुरबाट काठमाडौं–क्वालालम्पुर फर्किंदा १२ सय रिंगेट लाग्ने जानकारी दिएको छ । कम्पनीले काठमाडौं–हङकङको दुइतर्फी भाडा ४८ हजार रुपैयाँबाट प्रारम्भ हुने जानकारी दिएको छ । हङकङबाट काठमाडौं–हङकङको भाडा साढे छ हजार हङकङ डलर तोकिएको छ । यी उडानमा कम्पनीले निशुल्क खाद्य तथा पेय पदार्थ उपलब्ध गराउने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।

Tata
GBIME
Nepal Life