
काठमाडौं । लगातार बढिरहेको बुटवल पावरको सेयर मूल्यमा बुधवार ब्रेक लागेको छ । बुधवार बुटवल पावरको सेयर मूल्य १५ रुपैयाँले झरेर ६७० रुपैयाँमा कारोवार भयो । बुटवल पावरसँगै अरुण भ्यालीको सेयर मूल्यमा पनि ठूलै गिरावट आयो । बुधवार अरुणभ्यालीको प्रतिकित्ता सात रुपैयाँले घटेर ३४० रुपैयाँमा आइपुग्यो । तर मंगलवार एक रुपैयाँले तल झरेको चिलिमेको सेयर मूल्य बुधवार भने एकै रुपैयाँले बढेर कारोवार भयो ।
जलविद्युत समूहका दुई कम्पनीको सेयर ओरालो लागेपछि समूहको सूचकांक १.९४ अंकले तल झर्यो । एभरेष्ट बैंकको कन्भर्टिवल प्रिफेरेन्स सेयर १५ रुपैयाँले तल झर्यो भने एभरेष्ट बैंकको साधरण सेयर एक रुपैयाँले तल झरेर कारोवार भयो ।
गुल्मी विकास बैंकको सेयर मूल्य बुधवार १६ रुपैयाँले तल झरेपछि प्रतिकित्ता १४४ रुपैयाँ पुगेको छ । केही दिन अघि सूचीकृत यो कम्पनी बुधवार प्रतिशतका आधारमा सबैभन्दा बढी गुमाउने कम्पनीमा पर्यो ।
बुधवार पनि हिमालयन बैंकको सेयर १० रुपैयाँले तल झरेर ६८० रुपैयाँ प्रतिकित्ता कारोवार भयो । सबैभन्दा ठूलो झड्का मुक्तिनाथ विकास बैंकका सेयरधनीलाई लाग्यो । नगद र सेयर गरेर ५० प्रतिशत लाभांस घोषणा गरेको मुक्तिनाथको बुधवार पहिलोपटक प्रतिसेयर १० रुपैयाँले तल झर्यो । मुक्तिनाथको प्रतिसेयर तीनसय २० रुपैयाँमा अन्तिम कारोवार भयो ।
लुम्बिनी बैंकले गतवर्षभन्दा बढी बोनस दिने घोषणा गरेकै दिन बुधवार प्रतिकित्ता एक रुपैयाँले सेयर तल झर्यो । बुधवार फेरी नबिल बैंकको प्रमोटर सेयर १७ रुपैयाँले माथि चढ्यो । मंगलवार नविलको प्रमोटर सेयर तल झरेर कारोवार भएको थियो ।
स्टकमा बुधवार नेपाल लाइफ इन्सुरेन्स र नेशनल लाइफ इन्सुरेन्सका सेयरधनी मालामालब ने । नेपाल लाइफको प्रतिसेयर ३४ रुपैयाँले बढ्यो भने नेशनल लाइफको प्रतिकित्ता १५ रुपैयाँले सेयर मूल्य बढ्यो । यी दुई इन्सुरेन्सको सेयर मूल्य बढेपछि इन्सुरेन्स समूहको सूचकांक ७.०९ अंकले बढ्यो । फाइनान्स समूहमा पनि बुधवार सामान्य वृद्धि रह्यो । ओरेन्टल र तारागाउँको प्रतिसेयर १ रुपैयाँले बढ्यो भने सोल्टी होटलको प्रतिसेयर चार रुपैयाँले बढेपछि बुधवार होटल समूहको सूचकांक ६.३७ अंकले बढ्यो ।
नेपाल टेलिकमको सेयर मूल्य बुधवार पनि घट्ने क्रम रोकिएन । टेलिकमको प्रतिसेयर चार रुपैयाँले मूल्य घटेपछि प्रतिकित्ता ५७७ रुपैयाँमा कारोवार भयो । टेलिकमको सेयर मूल्य घटेपछि अन्य समूहको सूचकांक ४.७ अंकले तल झर्यो । अधिकांश बैंकको सेयर मूल्य पनि बुधवार तल झर्यो । यसले नेप्से सूचकांक १.७१ अंकले तल झरेर ४०७.३६ अंकमा बन्द भयो ।