मोदीको नेपाल चित्रमा विनोद चौधरीको रंग

बिजमाण्डू
२०७१ साउन २२ गते ००:०० | Aug 7, 2014
मोदीको नेपाल चित्रमा विनोद चौधरीको रंग

एउटा बहुचर्चित भनाइ छ– सफल त्यो हो, जसका शत्रु धेरै हुन्छन्, असल त्यो हो जसका मित्र धेरै हुन्छन्। यसलाई आधार मान्ने हो भने, नेपाली उद्यमी विनोद चौधरीका के धेरै होलान् शत्रु या मित्र? हिसाव गरेर खुशी पार्नलाई त जे भने पनि हुन्छ तर यसको बेटुक जवाफचाँहि शत्रु नै हो, त्यो भन्दा फरक हुनै सक्दैन। यद्यपि, उनी त्यसको बहीखाता राख्दैनन्, बेप्रवाह आफ्नो गतिमा विचरण गरिरहन्छन्। कसैले एकातिरको बाटो थुन्न खोजे अर्कोतिर बाटो सोझाएर आफ्नो वेगलाई कायम राखी हाल्छन्। यो उनको सफलता हो र जीवन पद्धति पनि, यसलाई 'विनोद डक्ट्रिन' भने पनि हुन्छ।

Tata
GBIME
Nepal Life

यही डक्ट्रिनले उनलाई खिचापोखरीको साघुरो गल्लीबाट फिनिक्सझै उठाएर फोर्ब्सको बिलिनियर सूचीमा चढायो। सूचीमा उनको नाम त थियो नै, सँगै उनको राष्ट्रको नाम थियो– नेपाल, राष्ट्रियताको नाम थियो– नेपाली। एउटा नेपाली उद्यमी व्यवसायीले आफ्नो क्षेत्रबाट मातृभूमीको मान राख्न जे गर्न सक्थे, उनले त्यही गरे।
विनोदको पहिलो आयाम उद्यमशीलता भए पनि उनी त्यतिमा खुम्चने मान्छे हैनन्। बहुआयाममा फैलिएका छन् उनी। राजनीति उनको व्यक्तित्वको पछिल्लो आयाम हो। जे आयाममा फैलिए पनि मुलुकको समृद्धि नै उनको ध्येय हो। यही क्रममा उनी पहिलो संविधानसभाको सदस्य हुन पुगे। संविधानसभाको दोस्रो कार्यकालका लागि उनी चौधरीग्राम रहेको आफ्नो कर्मक्षेत्र नवलपरासीबाट प्रत्यक्ष चुनाव लड्न ठीक परेका थिए, उनीमाथि खासगरी माओवादीवृतबाट नियोजित किसिमले नै राजनीतिक आक्रमण भयो। त्यही बेला छोरा निर्वाण पनि व्यक्तिगत जीवनमा आधारित खबरको विषय बनाइए। एकातिर माओवादी अर्कातिर सानै वृत भए पनि एमाले इत्तर पार्टी पत्रकारिता, लड्न मुनासिव नलागेर हुन सक्छ उनले त्यो बाटो छोडे र लागे भारतको चुनावी जोड घटाउमा।

भारतमा पनि ठूलो लगानी गरेका विनोदको नेटवर्क नहुने कुरै थिएन। मोदी लहरको अन्दाज भैसकेको थियो। गुजरातका मुख्यमन्त्री भएकै बेला सुमधुर सम्वन्ध बनाएर उनी मोदीको गुड–बुकमा परिसकेका थिए। संजोग नै भन्नुपर्छ, यही बेला विनोद मोदीका धर्मपुत्र जीतबहादुरको नेपालमा परिवार भेटाइ दिने सम्वन्ध–सूत्र पनि बने। यसले भावनात्मक रुपमा उनलाई मोदीसँग नजिकिन सहयोग पुर्‍यायो।

विनोद उद्यमी त हुन् नै, त्यो भन्दा पनि बढी एक भिजिनरी बिजनेस लिडर हुन्। तथ्यमा आधारित सूचना उनका शक्ति हुन्, हाइपोथेसिसमा त उनी कुनै सपना पनि देख्दैनन्। नभन्दै भारतमा प्रचण्ड बहुमतका साथ मोदी युग सुरु भयो। उनी दिल्लीमै बसेर कसरी मोदीको विकास मोडललाई नेपालसँग जोड्ने? अझ यसो भनौ, कसरी मोदीलाई नेपाली जनजनको भावनासँग जोडेर वर्षौदेखि भारतको 'ठूल्दाइ–प्रवृति'ले अमिलिएको नेपाली मनलाई शान्त बनाउने?, आफैंलाई एउटा प्रोजेक्ट दिएर उनी यी र यस्तै प्रश्नहरुको उत्तरको खोजीमा लागे।

नेपालीे राष्ट्रियताको चुरो अनि भावनामा बग्ने नेपाली प्रवृतिको तन्तु तन्तु समातेका विनोद सारा गृहकार्य गरेर भारतीय जनता पार्टी र त्यसका नेपाल रणनीतिकारसँग बसे। यस क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, विदेश प्रभारी विजय जोलीलगायतका नेताहरुलाई नेपाल–भारतबीच रहेको अविश्वास, सम्वेदनशीलता र सम्वोधन हुनुपर्ने प्राथमिकताहरुका बारेमा सम्झाउने प्रयत्न गरे। यसमा उनलाई सफलता हात लाग्यो। परिणामतः त्यसैको पृष्ठभूमीमा सुष्मा स्वराजको नेपाल भ्रमणको एजेण्डा तय भयो, त्यही आधारमा मोदीको नेपाल चित्र उभियो। यस क्रममा एमालेबाट संविधान सभासद् रहिसकेका विनोदलाई एमालेकै महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मन्त्रालय सम्हालिरहेको अवस्थाले समन्वयका लागि थप सहयोग पुर्‍यायो।

विनोद यसलाई सोझै स्वीकार्दैनन् किनकि उनलाई कूटनीतिका तानाबानाहरुका बारेमा राम्ररी ज्ञान छ। उनी यति मात्र भन्छन्, 'महामहिम मोदीजी सँग मेरो पुरानो दाहोरो परिचय छ। आर्थिक समृद्धि आजको अपरिहार्यता भन्ने कुरामा हामी दुबैको गहिरो विश्वास छ। नेपालको समृद्धिका लागि नेपाली जलसम्पदाको बहुआयामिक उपयोग गर्नुपर्छ भन्ने कुरामा हाम्रो सोचमात्र हैन, कोण पनि मिल्छ। उहाँ नेपालको भलो चाहने भारतीय राजनेता हो।
नेपालको आर्थिक समृद्धिको मार्गचित्र लिएर हिडेको एक नेपाली हुनुको नाता उहाँलाई यससँग आवश्यक पर्ने जानकारी उपलव्ध गराउनु मेरो राष्ट्रिय कर्तव्य हो। म त्यो कर्तव्य पूरा गर्ने कुरामा सचेत छु र रहनेछु।'

मोदी एक्सन ओरिएन्टेड नेता हुन्। उनी प्रक्रियामा भन्दा पनि परिणाममा विश्वास गर्छन् तर त्यो परिणाम सर्वहिताय, सर्वसुखाय हुनुपर्छ भन्ने उनको मान्यता छ। विनोद मोदीको यो कार्यशैलीप्रति अत्यन्त प्रभावित छन्। विनोद आफै पनि सुरुदेखि नै डिअन्टोलजकिलभन्दा पनि टेलियोलजिकल सिद्धान्तमा विश्वास गर्ने मान्छे हुन्। संसारका अपवाद बाहेक हरेक सफल मानिसहरु यही बाटोबाट सफलताको शिखर चुम्छन्।

सन् २०११ मै डबल डिजिट आर्थिक वृद्धिको मानचित्र लिएर हिडेका थिए विनोद। उनले त्यसका लागि मागेको समय सन् २०२० आउन अब ६ वर्ष मात्र बाँकी छ। तर, उनको त्यो सपना बिचैमा अनेकौ कारणले बाँगियो, तुहिएको भने मान्न तयार छैनन् उनी। भन्छन्, 'यो अझै सम्भव छ र खासै महत्वाकांक्षी लक्ष्य पनि हैन यो। पर्यटन, कृषि र जलस्रोतलाई केन्द्रमा राखेर तीनचुले प्राथमिकताको रोडम्यापमा हिड्ने हो भने त्यो लक्ष्य सजिलै हासिल गर्न सकिन्छ। तर, त्यसका लागि प्रष्ट भिजन र त्यसलाई लक्ष्यसम्म पुर्‍याउने इच्छा शक्ति चाहिन्छ।' संजोग भनौं या एउटै कोणको सोच, भारतीय प्रधानमन्त्री मोदीले पनि संविधानसभाको विशेष सम्वोधनमा नेपालको समृद्धिका लागि यिनै तीन बाटा सुझाएका थिए।

नेपालमा जलस्रोत सेतो सुनका रुपमा रहेको छ। यसको समुचित विकासबाट मात्र नेपाल समृद्ध बन्न सक्छ, विनोद यो कुरामा दृढ निश्चित छन्। त्यो सबैको उत्पादन नेपालको बुताको विषय हैन, त्यसका लागि वैदेशिक लगानी आवश्यक छ। भारत नै हाम्रो विद्युतको बजार पनि भएकाले उसको पनि यसमा हित छ। त्यसैले उसलाई सँगै लिएर हिड्न सके मात्र नेपालको जलस्रोतको विकास हुन्छ। विनोद भन्छन्, 'तर, यसमा नेपालमा अझै पनि आशंका छ। कुनै कालखण्डमा गरिएका कोशी र गण्डक सम्झौताका कारण यस्तो आशंका हुनु स्वभाविक पनि छ। तर, अब त तिनै कोशी र गण्डकीमा खर्बौ क्युसेक पानी बगिसक्यो, संसार कहाँबाट कहाँ पुगिसक्यो। अब कुनै पनि किसिमको आशंका पाल्नुभन्दा पनि टेबलमा बसेर 'विन विन सिचुयसन'का लागि नेगोसियसन गर्ने ल्याकतको विकास गर्नुपर्छ। त्यसो गर्न सकियो भने मात्र नेपालको समृद्धि सम्भव छ।'

नेपाल विश्वको दोस्रो र चौथो अर्थतन्त्रको विचमा छ। तापनि, भौगोलिक सहजताका कारणले नेपालले विश्वको चौथो ठुलो अर्थतन्त्र भारतसँगै सहकार्य गरेर आर्थिक समृद्धिको बाटोमा हिड्नुपर्ने परिस्थिति छ। यो सत्यलाई स्वीकार गरेर अविश्वासलाई विश्वासमा परिणत गर्दै अघि बढ्नमै नेपाल र भारत दुबैको कल्याण छ। विनोदलाई पनि यस्तै लाग्छ, उनी भन्छन्, 'हामीले चाहे पनि नचाहे पनि प्याराडाइम सिफ्ट हुन्छ हुन्छ, यो गतिको नियम हो र यही नै विज्ञान पनि हो। हामी एक ठाउँमा अड्डी लिएर हाम्रो भावी पिंढीको सपनामाथि खेल्न सक्दैनौं र खेल्नु पनि हुँदैन।'

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई एक आपसमा रहेको अविश्वासको बादल हटाउने क्रममा कोशेढुंगा ठान्छन् विनोद। उनी भन्छन्, 'खासगरी मोदीको सहज एवं पारदर्शी सोच र भावनाको सम्मान गरेर अघि बढ्न सकियो भने यो भ्रमणको जगमा सुन्दर सपनाको महल हैन, यथार्थमै समृद्धिको महल बनाउन सकिन्छ। तर, त्यसका लागि सधैं नै अविश्वास गर्ने शंकालु बानी मात्र हैन, नकारात्मक सोचको पनि तिरस्कार आवश्यक छ। त्यसका लागि फेरि पनि राष्ट्रिय सहमति आवश्यक छ। सहमति गीत हैन सजिलै गाउन सकिने, यो त राष्ट्रमा रहेका विविध सोच र कोणको सामुहिकता हो। यसका लागि सबैमा साझा आर्थिक समृद्धिको मार्गचित्र हुनुपर्छ।'