आईएफसी छाडेर नेपालमै सम्भावना खोज्दै सुधिर मित्तल

बिजमाण्डू
२०७१ साउन २२ गते ००:०० | Aug 7, 2014
आईएफसी छाडेर नेपालमै सम्भावना खोज्दै सुधिर मित्तल
नेपालको अर्थतन्त्रको आकार हेर्दा यति धेरै बैंक कसरी टिक्न सक्छन् भन्नेमा आश्चर्य लाग्थ्यो। तर, अहिले उनीहरुले ब्याज र बिभिन्न शुल्क हेर्दा टिक्ने आधार त यो पो रहेछ भनेर बुझेँ
नेपाल नै आएर काम गर्न पाउने भने पछि उनले आईएफसी छाडेनन्। यहाँ आएर लालदरबारस्थित विश्वबैंक अफिस (तात्कालिन)को माथिल्लो तलामा आइएफसीको कार्यालय खोले र नेपाल मिसन प्रमुखको रुपमा काम थाले। विश्वव्यापी सञ्जाल भएको संस्थालाई नेपाल भित्र्याउन सफल भए।
'आइएफसीमा काम गर्दा समेत विदेशीलाई नेपालमा लगानी गर भनेर धेरै पटक आग्रह गरेको छु' उनी भन्छन् 'तर, उनीहरुले यहाँको वातावरणलाई देखाएर कि दक्षिणको भारत या उत्तरको चीनमा जान्छु भन्ने जवाफ दिन्थे।'

प्रभात भट्टराई/बिजमाण्डू
काठमाडौं। नेपालको सरकारी कलेजबाट स्नातक। त्यसपछि विश्वकै टप विजनेश स्कुलमा एमबिए पढ्ने अवसर। एमबिए पासआउट हुने सिलसिलामा विश्वभरका निजी क्षेत्रलाई लगानी गर्ने विश्व बैंक समुहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कलेजमै आएर जागिरको प्रस्ताव। डलरमा तलव। विश्वभर घुमेर आईएफसीको लगानी विस्तार गर्ने अवसर।
 
एउटा आम नेपाली तन्नेरीको औषत सपना भन्दा माथिको उपलब्धि हो यो। तर, सुधिर मित्तललाई त्यतिले बाँधेन। सात बर्ष अघि नेपाल नफर्किएको भए सायद आज उनी आईएफसीको निर्देशकको कुर्सिमा हुन्थे। 
 
सन् १९९१ मा फ्रान्सको इनसियाड विजनेश स्कुलबाट एमबिए पास आउट हुने मध्ये दुई जनालाई कजेलमै पुगेर 'रिक्रुट' गर्यो आईएफसीले। त्यसै मध्येका एक थिए मित्तल। २५ बर्षको उमेरमा आईएफसीको लगानी अधिकृतको रुपमा काम थाले उनले। त्यस बेला आईएफसी विश्वभरका छ वटा कलेजमा फ्रेस युवालाई कर्मचारीको रुपमा नियुक्त गर्थ्यो। त्यसमा चार वटा अमेरिका, एक बेलायत र एक फ्रान्सका थिए। अहिले ती कलेजको संख्या केही बढेको छ। 

सुधिरको स्कुले जीवन राजधानीको आनन्दकुटी विद्यालयबाट सुरु भयो। त्यसपछि नैनितालको विरला स्कुलबाट एसएलसी गरे। अमृत साइन्स क्याम्पसबाट आईएस्सी र शंकरदेवबाट विकम गरेपछि इनसियाडमा आवेदन पठाए। विश्वकै सर्वोत्कृष्ठ मध्येको विजनेश स्कुलमा भर्ना हुन त्यहाँका पुर्व विद्यार्थीहरुलाई अन्तर्वार्ता दिनुपर्थ्यौ। नेपालमा त उक्त स्कुलको कोही पनि एल्मुनाइ थिएनन्। उनले दिल्ली पुगेर अन्तर्वार्ता दिए। भाग्यवश छनौट भए। 
 
पढाइसके लगत्तै नेपाल फर्कने र बुवा बनवरी लाल मित्तललाई व्यवसायमा सघाउने योजनासहित फ्रान्स उडेका उनी जागिर खान वासिङ्टन डिसी पुगे। 'नेपाल फर्कने रहर भएपनि कुनै बाध्यता थिएन' उनी भन्छन् 'आईएफसीले जागिरको प्रस्ताव गरेपछि विश्वबैंक समुहमा काम पाउँदा बुवाले पनि गर भनेर सुझाव दिनु भयो।' 
 
जागिर सुरु गरेपछि पनि दुई/तीन बर्ष मात्र बस्छु भन्ने थियो उनको मनमा। तर, काम रमाइलो भयो। नौ बर्ष पछि चाहिँ अब छोड्छु र नेपाल जान्छु भनेर सहकर्मीलाई सुनाए। त्यस बेला उनलाई सुपरभिजन गर्ने निर्देशक दक्षिण एसिया प्रमुखका रुपमा नयाँदिल्लीमा थिए। उनले दिल्लीबाटै वासिङ्टन फोन गरेर मित्तललाई 'जागिर नछोड बरु नेपाल गएर आईएफसीको अफिस खोल' भनेर प्रस्ताव गरे। त्यतिन्जेल आइएफसीले बङ्गलादेश, श्रीलंकालगायत दक्षिण एसियाका अरु मुलुकमा राम्रै काम गरे पनि नेपालमा खास लगानी गरेको थिएन।
 
नेपाल नै आएर काम गर्न पाउने भने पछि उनले आईएफसी छाडेनन्। यहाँ आएर लालदरबारस्थित विश्वबैंक अफिस (तात्कालिन)को माथिल्लो तलामा आइएफसीको कार्यालय खोले र नेपाल मिसन प्रमुखको रुपमा काम थाले। विश्वव्यापी सञ्जाल भएको संस्थालाई नेपाल भित्र्याउन सफल भए। 
 
तर, त्यस बेला एकातिर मुलुकमा द्वन्द अर्कोतिर खिम्ती र भोटेकोशीको विवादमा नै धेरै समय वित्यो उनको। यहाँ तीन बर्ष बस्दा पनि नेपालकै वातावरणको कारण सोचे अनुरुप लगानी विस्तार हुन सकेन। आईएफसीबाट ऋण लिएर व्यवसाय गर्ने निजीक्षेत्रकै उत्साह कम भएपछि उनको मात्र जोडबलले केही लागेन। त्यसपछि नेपाल मात्र होइन दक्षिण एसियाकै फोर्टफोलियो हेर्ने गरि उनको सरुवा दिल्लीमा भयो। उनी त्यहाँ आईएफसीको दक्षिण एसिया पोर्टफोलियो प्रमुख भए।

 
त्यसबेला विश्वबैंक समुहको काम गर्ने शैली अहिले भन्दा फरक थियो। फिल्डमा गएको व्यक्तिलाई दुई/तीन बर्ष पछि हेडअफिस फिर्ता बोलाइन्थ्यो। केही बर्ष वासिङ्टनमा काम गरेपछि मात्र फेरि फिल्ड पठाइन्थ्यो। अहिले चाहिँ जति धेरै फिल्ड बस्यो उति राम्रो मानिन्छ। त्यसबेलाको मान्यता अनुसार दिल्लीमा दुई बर्ष बसे पछि अमेरिका सरुवा भयो मित्तलको। 
 
उनले फर्किन सक्दिन राजीनामा दिन्छु भने। आईएफसीका तात्कालिन उपाध्यक्षले 'जागिर नछोड, हामीलाई अनुभवी मान्छे चाहिन्छ, बरु बिदा लिएर बस भनेर' सुझाव दिए। एक बर्ष विदा बसेपछि फेरि वासिङ्टन बोलाइयो। त्यसपछि चाहिँ उनले राजीनामा नै दिए सन् २००७ मा।
 
आईएफसीका अब्बल कर्मचारी थिए उनी। अमेरिका फर्किन मानेको भए निर्देशक हुने सम्भावना धेरै थियो। किनभने साथीहरुले डाह गर्ने गरि बढुवा भइरहेको थियो। 'साथीहरु बढुवा चाहियो भनेर कोकोहोलो गर्थे, तर, मेरो हुन्थ्यो' उनी भन्छन्, 'मलाई निर्देशकको अफर पनि थियो।' आफुले नमागिकन १६ बर्षको सेवा अवधिमा पाँच/छ पटक बढुवा भयो उनको। जागिर छोड्दा धेरैले उनलाई वेवकुफ पनि भने।
 
सन् १९९७ देखि आईएफसीले स्थायी कर्मचारी लिन छोड्यो। १९९१ को ब्याच भएको हुँदा उनी स्थायी थिए। सँगै काम गर्ने साथीहरुले समेत नछोड्न आग्रह गरे। तलव सुविधा देखि सबै राम्रो। अहिले नेपालका टप बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पाइरहेको भन्दा बढि तलब उनी त्यसबेला नै बुझ्थे। तर, उनको निर्णय बदलिएन।
 
नेपाल फर्किने सबै भन्दा एउटा ठुलो कारण चाहिँ सन्तानलाई विदेशमा नहुर्काउने रहर थियो। छोराछोरीलाई आफ्नै संस्कार सिकाउने सपना थियो मित्तलको। 'बच्चाहरुले आफु भन्दा ठुलालाई ढोग्न नहिच्किचाउन् भन्ने मेरो सोच थियो' उनी भन्छन्। अहिले उनको छोरा १४ बर्षको भए। हजुरबुवा/हजुरआमासँगै रहेर सबै पारिवारिक संस्कार सिकेका छन्। घरमा काम गर्नेलाई समेत इज्जत गर्न सिकाएका छन् उनीहरुले। 'काम गर्ने देखि कसैलाई पनि तँ/तिमी भनेर हेप्दैन, आदरपुर्वक बोल्छ' उनी भन्छन् 'यो सिकाइ उसका लागि जीवनभरको कमाइ पनि हो।'
 
वित्तिय क्षेत्रको अनुभव भएको हुँदा नेपाल आएर बैंकमा काम गर्ने या बैंक खोल्ने प्रस्ताव पनि आएको थियो। त्यसले उनलाई तानेन। नेपालका बैंक कसरी चलेका छन् भन्नेमा नै आफु अलमलमा रहेको उनको भनाइ छ। नेपालको अर्थतन्त्रको आकार हेर्दा यति धेरै बैंक कसरी टिक्न सक्छन् भन्नेमा आश्चर्य लाग्थ्यो। तर, अहिले उनीहरुले ब्याज र बिभिन्न शुल्क हेर्दा टिक्ने आधार त यो पो रहेछ भनेर बुझेको उनी बताउँछन्। 
 
नेपाल आएर बुवाले चलाइ रहेको श्री एयरलाईन्समा प्रबन्ध निर्देशकको रुपमा काम थालेका छन् उनले। अहिले श्री एयरलाइन्समा ठुला छ र साना दुई गरी आठ वटा हेलिकप्टर छन्। साना दुई गत बर्ष थपिएका हुन्। ठुलो एउटा पनि उनी नेपाल फर्किएपछि खरिद गरिएको हो। तर, यसमा आफ्नो योगदान भन्दा बुवाकै नेतृत्वले सम्भव भएको उनी बताउँछन्। 
 
नेपाल र दिल्लीबाहेक मिसनकै रुपमा अरु ठाउँ बसेनन्। प्रोजेक्ट हेर्न अफ्रिकाका धेरै देशमा पुगेका छन्। त्यस बाहेक दक्षिण अमेरिका र एसियाका प्रोजेक्ट पनि ह्यान्डल गरे उनले। भियतनाममा आईएफसीको पहिलो लगानीको नेतृत्व उनले नै गरेका हुन्। उनले आइएफसीमा काम सुरु गर्दा आठ सयले काम गर्थे भने छोड्दा तीन हजारको संख्यामा पुगेका थिए। 
 
नेपालमा आईएफसीले के मा लगानी गर्ने भनेर ठाउँ नपाएकै कारण पनि पोर्टफोलियो बढ्न नसकेको उनी बताउँछन्। जलविद्युत र पुर्वाधार बाहेक अरु खास क्षेत्रमा ठुलो लगानीको सम्भावना पनि नदेखिएको उनको अनुभव छ। सोल्टी लगायत होटल, वुद्ध एयरमा पनि आइएफसीले लगानी गरेको छ।
 
पहिला उनी अरुको प्रपोजल हेर्ने र त्यसका कमिकमजोरी खुट्याउने जिम्मेवारीमा थिए। अहिले उनी आफैं प्रपोजल लेख्छन् आफ्नो व्यवसायका लागि। 'बैंक वा कुनै लगानीकर्ताको हेराइ र आन्ट्रप्रेनरको हेराइ फरक हुन्छ' उनी भन्छन् 'लगानीकर्ताको नजरमा सबैमा जोखिममात्र देखिन्छ भने आन्ट्रप्रेनरले त्यहि जोखिम उठाउने हिम्मत गर्छन्।'
 
नेपालको विकासका लागि मानसिकता परिवर्तन जरुरी देखिएको उनको अनुभव छ। तत्काल मुनाफा चाहिने र धेरै नकारात्मक मानसिकता नै अग्रमनको वाधक उनले देखेका छन्। कतिपय व्यवसायीमा पनि यहि सोच रहेको उनको अनुभव छ। नेपालमा व्याप्त नकारात्मक मानसिकताका कारण विदेशी लगानीकर्तालाई मनाउन कठिन भएको उनी बताउँछन्। 
 
'आइएफसीमा काम गर्दा समेत विदेशीलाई नेपालमा लगानी गर भनेर धेरै पटक आग्रह गरेको छु' उनी भन्छन् 'तर, उनीहरुले यहाँको वातावरणलाई देखाएर कि दक्षिणको भारत या उत्तरको चीनमा जान्छु भन्ने जवाफ दिन्थे।' अहिले पनि लगानीकर्ताका लागि यहाँको वातावरण र आममानसिकता परिवर्तन हुन नसकेको उनको भोगाइ छ।

 
नेपाल फर्किएको सात बर्षमा मुलुक चिन्ने क्रममा कोही सफल हुन लाग्यो भने खुट्टा तान्ने प्रबृत्ति धेरै रहेको देखेका छन् उनले। साथै निजी क्षेत्रले केही गर्न लाग्यो भने त्यसलाई सघाउन सरकार हिच्किचाउने गरेको उनको अनुभव छ। उनी आइएफसीमा रहँदा अरु देशका मन्त्री लगायत उच्च पदस्थ पदाधिकारी आएर आफ्नो मुलुकमा लगानी गर्न आग्रह गर्थे। 
 
तर नेपालका लागि आईएफसी आफैंले प्रस्ताव गर्दा समेत 'पहिले परराष्ट्रमा गएर भन्नुस, त्यहाँबाट अगाडी बढ्यो भने हामी पनि हेरौंला न त' भन्ने खालको जवाफ पाउने गरेको उनको सम्झनामा ताजै छ।
 
नेपालमा कृषि र प्रविधिमा धेरै सम्भावना देखेका छन् उनले। तर, ति सबैका लागि पुर्वाधारको रुपमा रहने सडक, जलविद्युत जस्ता परियोजना बिना अघि बढ्न नसक्ने उनी बताउँछन्। काठमाडौं–निजगढ फाष्ट ट्रयाक, पञ्चेश्वर लगायतका परियोजनाबारे बाल्यकालदेखि सुन्दै आए पनि अघि नबढ्दा उनलाई चिन्तित पनि बनाएको छ। पुर्वाधारले एक कदम फड्को मारेको खण्डमा पुर्वी नेपालमा आफ्नो चिया बगान रहेको जमिनमा किन्वा लगायतका वाली (अनाज) उत्पादन गरेर निर्यात गर्नेबारे योजना बनाइ सकेका छन् उनले। जलविद्युत आयोजनामा पनि उनलाई रुची छ।
 
उनले आईएफसीमा छँदा सयौं विजनेश प्रपोजल हेरेका छन्। यसले उनलाई कसरि व्यवसाय योजना बनाउने भन्नेमा निपुण बनायो। तर, अर्काको गल्ति खुट्याउन जति सजिलो हुन्छ आफुले प्रपोजल लेख्दा तिनै गल्ति दोहोर्याउने सम्भावना पनि उत्तिकै रहने उनी बताउँछन्। त्यसैले आफुले बनाएका व्यवसाय प्रस्ताव हेरिदिन आईएफसीका पुराना साथीहरुलाई पठाउने गरेको उनी सुनाउँछन्। 
 
यसरि व्यवसायमा केहि नयाँ थालनी छिट्टै गर्ने योजना उनले बुनि सकेका छन्। साथै समाजसेवामा पनि बुवाको बिँढो थाम्नेबाटो लिइ सकेका छन्। त्यस बाहेक उनले आईएफसीको जागरि छोडे पनि उनले पढेको इनसियाड विजनेश स्कुलले उनलाई कहिल्यै छाड्ने छैन। नेपाल वा भारतबाट उक्त स्कुलमा पढ्न जाने विद्यार्थीलाई एलुम्नाइको रुपमा अन्तर्वार्ता लिने जिम्मेवारी सन् १९९१ देखि निरन्तर छँदैछ। 

Tata
GBIME
Nepal Life