काठमाडौं । आइतवार प्रतिकित्ता १४१ रुपैयाँले सेयर मूल्य बढेपछि युनिलिभरको एक महिनामा मात्रै १४ सय रुपैयाँले सेयर मूल्य बढेको छ । एक महिना अघि युनिलिभरको प्रतिकित्ता छ हजार छ सय रुपैयाँमा कारोवार भएको थियो तर वितेको एक महिनामा बढ्दै आठ हजार रुपैयाँ नजिक पुगेको छ । सोमवार १४१ रुपैयाँले बढेपछि युनिलिभरको प्रतिसेयर सात हजार नौ सय ९५ रुपैयाँ पुगेको हो ।
युनिलिभरले अघिल्लो महिना प्रतिकित्ता ६८० रुपैयाँले नगद लाभांस दिने घोषणा गरेपछि कम्पनीको हरेक कारोवारमा सेयर मूल्य बढिरहेको छ । सोमवार एउटा कारोवारबाट युनिलिभरका १० कित्ता सेयरको विक्री भएको थियो ।
स्टक एक्सचेञ्जमा युनिलिभरका नौ लाख २० हजार सात सय कित्ता सेयर सूचीकृत भएका छन् । सोमवारको वृद्धिसँगै युनिलिभरको बजार पुँजीकरण सात अर्ब ३६ करोड पुगेको छ । सोमवार ३० प्रतिशत लाभांस घोषणा गरेको सिटी विकास बैंकको सेयर मूल्य १२ रुपैयाँले बढ्यो भने फस्र्ट माइक्रोफाइनान्सको सेयर मूल्य १५ रुपैयाँले बढ्यो । एनएमबी बैंकको ११ रुपैयाँले सेयर मूल्य बढ्यो भने आइतवार सेयर मूल्य बढेका नेपाल एसबीआई र चार्टड बैंकको प्रतिसेयर मूल्य १० रुपैयाँले तल झरेर कारोवार भयो ।
सोमवार बैकिङ र इन्सुरेन्स समूहको सूचकांकमा रातो बत्ति बल्यो, सोल्टी होटलको पाँच रुपैयाँले सेयर मूल्य बढेपछि होटल समूहको सूचकांक छ अंकले बढ्यो । युनिलिभरको वृद्धिले उत्पादन समूहको सेयर सात अंकले बढायो तर पनि नेप्से सूचकांक हरियो भने हुन सकेन । ०.१७ अंकले नेप्से तल झरेर सोमवारको कारोवार बन्द भयो ।
