
काठमाडौं । ५० प्रतिशत लाभांस दिने मुक्तिनाथ विकास बैंकको निर्णयलाई सेयर बजारले पनि ठूलै दिलसँग आइतवार स्वागत गर्यो । गत बिहिवार प्रतिसेयर १ रुपैयाँ घटेको मुक्तिनाथको आइतवार एकै दिन २९ रुपैयाँले सेयर मूल्य बढ्यो । मुक्तिनाथले गत शुक्रवार सञ्चालक समितिबाट साढे २७ प्रतिशत नगद र साढे २२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । नेप्सेमा भएको यो वृद्धिले प्रतिशतका आधारमा सबैभन्दा बढी मूल्य बढ्ने पाँच कम्पनीको सूचीमा मुक्तिनाथ विकास बैंक पनि परेको हो ।
मुक्तिनाथ र सिटीको सेयर मूल्य उकालो लागिरहादा आइतवार बागेश्वरी विकास बैंकका सेयरधनीले भने राम्रै गुमाउनु पर्यो । अघिल्लो कारोवारभन्दा एकै दिनमा एक सय रुपैयाँले सेयर मूल्य झरेपछि बागेश्वरको सेयर मूल्य प्रतिकित्ता १३२ रुपैयाँमा आइपुगेको छ ।
आइतवार जलविद्युत समूहको सेयर मूल्यमा पनि ठूलै वृद्धि देखियो । लाभांस घोषणाका लागि ठीक परेको चिलिमे हाइड्रोको एकै दिन २४ रुपैयाँले सेयर मूल्य बढ्यो । चिलिमे हाइड्रोको आइतवार प्रतिकित्ता १०९४ रुपैयाँमा कारोवार भयो । आइतवार बुटवल पावरको सेयर मूल्य समेत १७ रुपैयाँले बढेर प्रतिकित्ता ६८६ रुपैयाँमा कारोवार भयो । त्यसैगरी अरुण भ्याली हाइड्रोको समेत प्रतिकित्ता दुई रुपैयाँ बढेर ३४६ रुपैयाँमा कारोवार भयो । यसले जलविद्युत समूहको सेयर सूचकांक १६.९४ अंक बढ्यो ।