ठूला सहकारीले गलत काम गरेको अर्थसचिवको आरोप, कारवाहीको तयारी

बिजमाण्डू
२०६९ भदौ १७ गते ००:०० | Sep 2, 2012

काठमाडौं । अर्थसचिव कृष्णहरी बास्कोटाले केही ठूला बचत तथा ऋण सहकारीले गलत काम गरिरहेको बताएका छन् । केही ठूला सहकारीले गलत काम गरिरहेका छन् । उनीहरुले गरेको गलत कामको हामीलाई जानकारी भइसकेको छ, अ‍ैचोपैचो बचत तथा ऋण सहकारी संस्थाको वार्षिकोत्सब उद्घाटन गर्दै उनले भने, त्यस्ता सहकारीलाई कारवाही हुनेछ ।
उनले ठूला सहकारीको बारेमा अर्थमन्त्रालय, राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोलीले गरेको अध्ययनबाट ती सहकारीको पहिचान भइसकेको छ । नेपालभर अहिले २५ हजार ३ सय ५३ सहकारी संस्था दर्ता छन् । यो मध्ये बचत तथा ऋण सहकारी संस्थाको संख्या ११ हजार ५ सय ८४ छ भने कृषि सहकारी ४ हजार ६ सय ९६ छ ।
 विभागका अनुसार दुग्ध सहकारी संस्था १ हजार ७ सय ८५ र उपभोक्ता सहकारी संस्था १ हजार ४ सय २७ रहेको छ । यो सबै सहकारीबाट १ खर्ब २१ करोड निक्षेप रहेको र १ खर्ब ३६ अर्ब २९ करोड कर्जा प्रवाह भएको छ । हाल नेपालमा ५ करोड भन्दा बढीको कारोबार गर्ने सहकारी संस्था सात सय छन् भने ५० वटा सहकारीले ५० करोड भन्दा बढीको कारोबार गरिरहेका छन् ।
स्रोतका अनुसार पचास करोड भन्दा बढीको कारोबार गर्ने सबै सहकारी उपत्यका भित्रै रहेका छन् । उपत्यकामा रहेका ठूला सहकारीले वाणिज्य बैंक सरहको निक्षेप संकलन गरेका र जथाभावी रुपमा घरजग्गामा लगानी गरेको अध्ययनले देखाएको थियो । गरीब जनताबाट निक्षेप संकलन गरेर आफुखुशी जोखिम रहेका क्षेत्रमा लगानी गरेको भन्दै त्यस्ता सहकारीलाई राष्ट्र बैंकले अनुगमनको तयारी समेत गरेको छ । अध्ययनका अनुसार एकाघरका परिवार सञ्चालक रहेर आफ्नै कम्पनीमा सहकारीबाट ऋण लगानी गरेको अध्ययनमा पाइएको छ ।

Tata
GBIME
Nepal Life