
काठमाडौं । भिबोर विकास बैंक र भाजुरत्न फाइनान्स एक भएका छन् । यी दुई वित्तीय संस्थाले आइतवार (आज)बाट एकीकृत कारोवार सुरु गरेका छन् । एकीकृत भएपछि पनि यी दुई संस्थाले भिबोर विकास बैंकको रुपमा कारोवार गरेका छन् । दुई संस्था मर्ज हुने निर्णय दुवै कम्पनीको विशेष साधरणसभाबाट गरिएको थियो । राष्ट्र बैंकबाट मर्ज हुन अनुमति पाएका यी दुई संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत एकीकृत हुने अनुमति पाएका छन् । अब साविकमा रहेको भाजुरत्न फाइनान्स एण्ड सेभिङ्ग कम्पनीको सम्पत्ति तथा दायित्व मर्ज भएको भिबोर विकास बैंकसँग रहने भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अजय घिमिरेले जानकारी दिए ।
दुवै कम्पनी मर्ज भएपछि ७५ करोड चुक्ता पुँजी भएको विकास बैंक बन्नेछ । भिवोरको अहिले ६८ करोड १७ लाख रुपैयाँको चुक्ता पुँजी छ भने भाजुरत्नसँग सात करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ ।
नेपाल स्टकमा सूचीकृत यी दुई कम्पनीमध्ये भिवोरको पछिल्लो कारोवार ११२ रुपैयाँमा भएको थियो भने भाजुरत्नको ११६ रुपैयाँमा भएको थियो । मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी बढाएर एक अर्ब ३६ करोड पुर्याउने लक्ष्य राखिएको छ । भिवोरमा भाजुरत्नको प्रमुख प्रवद्र्धक ज्योती समूहले १४ करोड ८० लाख रुपैयाँ र भिवोरका प्रवद्र्धकले २० करोड ८० लाख रुपैयाँ थप्ने योजना छ ।
कम्पनीले थप २४ करोड १० लाख रुपैयाँ मर्जर वा हकप्रद सेयर जारी गरेर उठाउने योजना बनाएको छ । योजना अनुसार काम भए भिवोरमा संस्थापकको ६१ प्रतिशत र सर्वसाधरणको ३९ प्रतिशत सेयर रहनेछ ।
घरजग्गा कारोवारलाई केन्द्रमा राखेको भिवोर दुई वर्ष अघिदेखि संकटमा छ । घरजग्गा ओरालो लागेपछि सुरु भएको संकट अहिले केही जारी छ । एक साता अघि मात्रै भिवोरले रविभवनमा भएको जग्गा प्रभाकरण सम्शेर राणाको कम्पनी सौर्य हाउजिङलाई एक अर्ब ३७ करोड ५० लाख रुपैयाँमा विक्री गरेको थियो । भिवोरले अन्य ठाउँका सम्पत्ती समेत विक्री गर्दै आएको छ । कम्पनीले अब आफूलाई विशुद्ध बैकिङमा केन्द्रित गर्ने योजना बनाएको छ ।