‘नरेन्द्र मोदी चाहन्छन् भारत जस्तै नेपालको पनि विकास होस्’

बिजमाण्डू
२०७१ असार १९ गते ००:०० | Jul 3, 2014
‘नरेन्द्र मोदी चाहन्छन् भारत जस्तै नेपालको पनि विकास होस्’
सुदर्शन सापकोटा/सरोज काफ्ले/बिजमाण्डू
काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीका विदेश मालिला प्रमुख विजय जोलीले नेपाल सरकारले सहयोगको हात बढाएमा भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘सजिलाे गरि पैसा पठाउन पहल गर्छु’
भारतीय जनता पार्टीका विदेश मालिला प्रमुख जोलीले भारतमा काम गर्ने नेपालीले आफ्नो देशमा  सजिलै पैसा पठाउन सक्ने वातावरण तयार पार्न आफूले पहल गर्ने बताए । ‘मलाई लाग्छ यो साँच्चैको गम्भिर मुद्दा हो । भारतमा धेरै नै नेपाली जनता बसोबास गर्छन् । यसलाई हामीले हेरेका छौं,’ उनले भने, ‘सहज रुपमा नेपाल पैसा पठाउने वतावरण बनाउने कुरालाई शंवोधन गर्न जरुरी छ ।’
भारतमा बस्ने नेपालीलाई नेपाल पैसा पठाउन समस्या भइरहेको विषयमा आफू जानकार रहेको बताउँदै जोलीले । ‘नेपाली वित्तीय संस्थाहरुले गरेको अनुरोध भारतमा पेन्डिङ छ, त्यसलाई भारतको वित्तीय मन्त्रालयले विचार पुर्याउने छ,’ उनले भने, ‘नेपालीले कमाएको पैसा सुरक्षित रुपमा नेपाल पठाउन सकुन् भनेर हामी गम्भिर रुपमा हेर्ने छौं ।’ 
उनले नेपालमा राजनीतिक स्थायित्व कायम भएमा भारत सरकार जलविद्युत, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । ‘भारतीय जनता पार्टीको प्रतिनिधित्व गर्दै नरेन्द्र मोदीको नेतृत्वमा बनेको नयाँ सरकार नेपालमा स्थायित्व चाहन्छ,’ जोलीले बिजमाण्डूसँग बिहीबार विशेष कुराकानी गर्दै भने, ‘स्थायित्वसँगै भारत सरकार द्वीपक्षीय हितका आयोजना निर्माणमा सक्दो सहयोग गर्न तयार छ ।’
भारतले सहयोग गर्ने त भन्छ तर पछिल्लो समय केही प्रगति देखिँदैन नि भन्ने बिजमाण्डूको प्रश्नमा जोलीले भने, ‘प्रगति यस कारण देखिएको छैन नेपाल अशान्त छ । राजनीतिक कारणले नेपाल असन्तुलित छ ।’ उनले लगानीकर्ताले केही न केही नाफा हेरेर लगानी गर्ने भन्दै उनले नेपालमा उद्योग स्थापना गर्नेलाई डराउने धम्क्याउने गरेका कारण लगानी हुन नसकेको बताए । ‘यदि नेपालमा उद्योग स्थापना गर्नेहरुलाई डराउने धम्काउने गरिन्छ भने कसले नेपालमा आएर लगानी गर्छ ?,’ उनले भने, ‘लगानी ल्याउनका लागि नेपालमा शान्ति र स्थिरता आउन जरुरी छ । यो पहिलो सर्त नै हो ।’
उनले नेपाललाई स्थिरतातर्फ लैजान नेपालका राजनीतिक दलहरु यस बिषयमा गम्भिर हुन आउश्यक रहेको बताए ।

Tata
GBIME
Nepal Life

 

सरकारले सोच्न जरुरी छ कि यहाँ औद्योगिक करिडोर बनोस् । नेपालको पूर्व–पश्चिम दुबैतिर सेज (विशेष आर्थिक क्षेत्र) बनोस् । यहाँ उद्योग धन्दाहरु खुलोस् । उद्योग खुल्यो भने युवा जनशक्तिले रोजगार पाउँछन् । राजश्व संकलन बृद्धि हुन्छ । अर्थतन्त्र बलियो हुनछ ।
…..

उनले अर्थतन्त्र विस्तार गर्दै रोजगारी श्रृजना गर्न लगानी आवश्यक भएको भन्दै यसका लागि सरकारले वातावरण दिनु पर्ने बताए । 
‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदी चाहिरहनु भएको छ कि नेपालमा राजनीतिक स्थिरता आओस्,’ उनले भने, ‘उहाँ मान्नु हुन्छ, राजनीतिक स्थिरता आयो भने नेपाल र नेपालका नागरिकहरुको चौतर्फी विकास हुन्छ । यसका लागि नेपालका विभिन्न राजनीतिक दलहरुले मिलेर समयमै संविधान निर्माण गरुन् ।’ उनले नेपाली राजनीतिक दलहरुले निर्वाचनका बेलामा गरेको प्रतिवद्धता अनुसार एक बर्षमा संविधान निर्माण गरोस् भन्ने प्रधानमन्त्री मोदीको अपेक्षा रहेको बताए ।
भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री राजनाथ सिंहका तर्फबाट नेकपा एमालेको ९औं महाधिवेशमा सुशाकामन दिन आएका जोलीले नेपाली जनताले १०/१२ घण्टासम्म लोडसेडिङमा बस्नु पर्ने वाध्यताको चाँडै अन्त्य गर्नका लागि भारत सरकार सघाउन तयार रहेको बताए ।
‘नेपालभित्र ऊर्जा उत्पादन गर्न दुवै पक्षको छलफलबाट जलविद्युत आयोजनाहरु आउनु पर्छ भन्ने अध्यक्ष राजनाथजीको सन्देश पनि मैले लिएर आएको छु,’ उनले भने, ‘यहाँ उत्पादन भएको बिजुली भारतमा मात्र जाओस भन्ने हामी चाहँदैनौं यहाँ पनि त्यसको समुचित प्रयोग हुनु पर्छ भन्ने हामी चाहन्छौं ।’ 
उनले नेपाल लगानीका लागि प्रचुर सम्भावना भएको मुलुक भएको भन्दै भारतमा हुने विकास नेपालमा पनि हुनसक्ने बताए । ‘यदि दिल्लीमा एपोलो हस्पिटल बन्न सक्छ भने नेपालमा किन बन्न सक्दैन ?’ उनले भने, ‘ठूला ठूला उद्योग बन्न सक्छन् भने यहाँ किन बन्न सक्दैन ? हामी चाहन्छौं नेपालमा पनि ठूलो आर्थिक विकास होस् ।’ 
उनले नेपालको विकासका लागि यहाँको सरकारले गम्भिर रुपमा सोच्नु पर्ने बताए । उनले भने, सरकारले सोच्न जरुरी छ कि यहाँ औद्योगिक करिडोर बनोस् । नेपालको पूर्व–पश्चिम दुबैतिर सेज (विशेष आर्थिक क्षेत्र) बनोस् । यहाँ उद्योग धन्दाहरु खुलोस् । उद्योग खुल्यो भने युवा जनशक्तिले रोजगार पाउँछन् । राजश्व संकलन बृद्धि हुन्छ । अर्थतन्त्र बलियो हुनछ । वाहिरबाट थप लगानी ओइरिन्छ । उत्पादनको निर्यात हून्छ । यसको फाइदा प्रत्येक नागरिकले पाउने छन् । यसका लागि नेपालको सरकारले सोच्न जरुरी छ ।
जोलीको नेतृत्वमा नेकपा एमालेको ९औं महाधिवेशमा शुभकामना व्यक्त गर्न आएको भारतीय जनता पार्टीका प्रतिनिधि

उनले भारतीय जनता पाटीका अध्यक्ष राजनाथ सिंह र प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको विकासमा जहिले पनि चासो लिइरहेको र विकास प्रकृयालाई सघाउन तयार रहेको बताउने गर्नु भएको जानकारी दिए । ‘हामी नेपालका नागरिकले राम्रो उन्नति गरेको हेर्न चाहन्छौं । यसमा हामी सघाउन पनि तयार छौं । तर, हामी नेपालको सरकारलाई कुनै पनि कुरा लाद्न चाहँदैनौं,’ जोलीले भने, ‘हामी बराबरी हैसियतको साझेदारका हिसावले हेरिरहेका छौं । हो यसका लागि हामी दुबै पक्षले बराबरी पहल गर्नु पर्छ ।’ 
उनले नेपालको ऊर्जा उत्पादनमा प्रधानमन्त्री मोदी जहिले पनि सकारात्मक रहेको बताए । ‘ऊर्जाको उत्पादनको पक्षमा हाम्रा प्रधानमन्त्री जहिले पनि सकारात्मक र प्रयत्नशील हुनुहुन्छ,’ जोलीले भने, ‘उहाँको जहिले पनि पहल रहेको छ ऊर्जाको उत्पादनबाट जनताको पनि उन्नति हुन्छ र अर्थतन्त्र पनि विस्तार हुन्छ ।’ उनले नेपालमा उर्जा विकासका योजनाहरु ल्याए भारत सरकार यसलाई विशेष रुपमा सहयोग गर्न तयार रहेको पनि बताए । 
भारतलाई नेपालको बिजुलीभन्दा पनि सिंचाइका लागि पानी चाहिएकाले उसले नेपाली आयोजनाहरु जिम्मा लिएर पनि अगाडि वढाएको छैन नि भन्ने बिजमाण्डूको प्रश्नमा जोलीले भने, ‘हिजो अर्कै परिस्थिति थियो, हिजो कांग्रेसको सरकार रहेको र कांग्रेसको सोच अनुसार व्यूरोक्रेसी चल्थ्यो । सरकार परिवर्तनपछि सरकारको सोचमा र उसले लिने दिशा र दशामा परिवर्तन आइसकेको छ । हामी के कुरामा विश्वास गर्छौ भने जहाँ कृषिको महत्व छ त्यहाँ जलविद्युतको पनि उति नै महत्व छ । हामी प्राथमिकतामा नेपालको जलविद्युत पनि पर्छ ।’ 
बिजमाण्डूले महाकाली सन्धि अनुसार निर्माण हुनु पर्ने पञ्चेश्वर आयोजना भारतकै कारणले अगाडि वढ्न नसकेको छ नि भनेर प्रश्न गर्दा जोलीले स्पष्ट जवाफ फर्काएनन् । उनले भने, यसमा नेपाल सरकारले सोच्ने कुरा हो । नेपाल सरकारले यसलाई कसरी हेर्छ सबै कुरा त्यही अनुसार अगाडि छ । हो हामी नेपालको विकास चाहन्छौं । बाँकी कुरा नेपालले लिने नीतिमा निर्भर रहन्छ । नयाँ सरकार नेपालको विकास चाहन्छ । नेपाल स्पष्ट भएर आएमा हामी जुनसुकै बेला सहयोग गर्न तयार छौं ।