अन्तर्राष्ट्रिय विमानस्थलमा कम उर्जा खपत गर्ने कार्यक्रम, कार्यक्रमपछि ऊर्जा ३०% कम खपत हुने

बिजमाण्डू
२०७१ असार ११ गते ००:०० | Jun 25, 2014

काठमाडौं । उर्जा खपत कम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उर्जा खपत कम गर्ने कार्यक्रम ल्याएको छ । विमानस्थलभित्र  उर्जाको खपत बढी भएको भन्दै यसलाई कम प्राधिकरणले यस्तो कार्यक्रम ल्याएको हो ।
 
यस कार्यक्रम अन्तर्गत विमानस्थलभित्र उर्जाको खपत ठाउँ तथा सामाग्री कम विजुली खपत हुने प्रविधि प्रयोग गरिएको प्राधिकरणले जनाएको छ ।
 
विमानस्थल क्षेत्र भित्र हालै गरिएको उर्जा परीक्षणबाट उर्जा खपत कम गर्दा विमानस्थलले अहिले खपत गरिरहेको उर्जा भन्दा ३० प्रतिशत कम हुने जनाएको छ ।
 
प्रधिकरणले उर्जा बचत तथा उर्जा खर्च कमगर्न नेपाल इनर्जी इफिसेन्सी प्रोग्राम(नीप) मार्फत जर्मन विकास सहयोग-जीआइजेडको सहयोगमा गत पुस ६ देखि २५ गतेसम्म उर्जा खपत कम कसरी गर्न सकिन्छ भनेर परीक्षण गरेको थियो । 
 
उर्जा परीक्षणबाट सिफारिस गरिएको उर्जा खपत कम गर्ने कामहरुको कार्यान्वयनबाट विमानस्थलले हाल भइरहेको उर्जा खर्च वार्षिक पाँच करोड ६१ लाखमा वार्षिक एक करोड ६३ लाख रुपैयाँ कम गर्न सकिने जनाएको छ ।
 
यसरी उर्जा प्रभावकरिताको कामबाट विमानस्थलको आर्थिक भार समेत कम हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेले बताए । उनले भने, 'विद्युतको कम प्रयोगबाट हाल भइरहेको लोडसेडिङ समस्यालाई कम गर्न समेत यसले मद्दत गर्छ ।'
 
उनले अहिले त्रिभुवन विमानस्थलमा मात्रै उर्जा खपत कम गर्ने कार्यक्रम ल्याइए पनि अब बन्ने नयाँ विमानस्थलहरुमा कम उर्जा खपत हुने प्रविधिको विस्तार गरिने बताए । उनले भने, 'गौतमबुद्ध र प्रस्तावित पोखरा विमानस्थलमा पनि यस्ता कामहरु गरिने छ । जसले उर्जा खपत मात्रै होइन दीर्घकालीन हिसाबले पनि राम्रो हुन्छ ।'
उनले 'लो कस्ट, नो कस्ट' भन्ने मान्यतालई प्राथमिकता दिएर विमानस्थलमा मात्रै नभएर अरु ठाउँमा समेत उर्जा कम खपत हुने प्राणालीको विकास गर्नुपर्ने बताए। उनले सिंहदरबार भित्र चौविसै घण्टा बत्ती बालेर छाडिने र अनावश्यक समयमा उर्जा खपत भइरहने हुँदा उर्जा खपत गर्न सकिने प्रणाली लागु गरिहाल्नुपर्ने सुझाए । उनले भने, 'यसले गर्दा लोडसेडिङमा समेत कमी आउाछ ।'
 
मन्त्रालयले जल तथा उर्जा आयोगको सचिवालय समक्ष गरिएको अनुरोधको आधारमा नीपको उद्योगहरुमा उर्जा खपत कम कार्यक्रमको परीक्षण गरेको थियो ।
 
नीप, नेपाल तथा संघीय गणतन्त्र जर्मनबीच दुई पक्षीय विकास सहयोगको दायरमा भित्र नेपालमा उर्जा प्रभावकारिताको प्रवर्द्धन गर्न  यो कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
 
सन् १९४९ मा स्थापित यस विमानस्थलका भौतिक पूर्वाधार अन्तर्राष्ट्रिय, आन्तरिक टर्मिनल भवन, अपरेसन तथा एयरलाइन्स भवन, कार्गो, अति विशष्ट व्यक्ति भवनमा उर्जा खपत कम गरिएको प्राधिकरणले जनाएको छ । 
 
विमानस्थलभित्र उर्जा बढी खपत हुने उपकरणहरु एयरकन्डिसन, भवनभित्र तथा बाहिरको बत्ती, हवाइ मैदानका बत्ती, लिफ्ट, एस्केलेटर, कन्भेयर, पम्प,  उड्डयन तथा आइटीका उपकरणमा उर्जा खपत कम गरिएको विमानस्थलको इलेक्ट्रिकल विभाग प्रमुख इन्जिनियर सुनीलकुमार कुशवाहले बताए ।
 
उनका अनुसार विमानस्थलभित्रको बत्तीमा लिड लाइटको प्रयोग गरिएको छ । यो भन्दा पहिले ७२ वाटको बत्ती प्रयोग गरिएको ठाउँमा अहिले ९ देखि २० वाटसम्मका लिड लाईट प्रयोग गरिएको छ । यसैगरी पुराना सिआरटी मोनिटरहरुको सट्टा कम विजुली खपत हुने एलइडी मोनिटर पनि राख्न थालिएको कुशवाह बताउँछन् ।
 
यसैगरी शौचालय, प्यासेज र विमानस्थलभित्रका कोठाहरुमा अकुपेन्सी सेन्सरयुक्त प्रविधि राखिएको छ । यो प्रविधि अनुसार मानिस भए बत्ती बल्ने र नभए निभ्ने हुन्छ । कुशवाह भन्छन्, 'विमानस्थलभित्र धेरै ठाउँमा मानिस नै नहुँदा पनि चौविसै घण्टा बत्ती बल्छ । तर यो प्रविधि ल्याएपछि रुम अकुपाइ भए बत्ती बल्छ नत्र आफैँ निभ्छ । यसले उर्जा खपतमा कमी ल्याउँछ ।'
 
विमानस्थलमा खपत हुने कुल विद्युतमध्ये एयर कन्डिसनमा ४८, बत्तीमा ३२, अप्रत्यक्ष उपभोक्ताहरुले ११ पम्प तथा कन्भेयरमा ९ प्रतिशत विद्युत खपत हुन्छ । आर्थिक वर्ष २०६८/७० मा विमानस्थलले नेपाल विद्युत  प्राधिकरणलाई कुल पाँच करोड ६१ लाख रुपैयाँ विद्युत महशुल तिरेको थियो।
 
उर्जा परीक्षणको प्रतिवेदन प्राप्त भएपछि विमानस्थलले यसै आर्थिक वर्षमा उर्जा प्रभावकारिताको काममा ४० लाख रुपैयाँ लगानी गरिसकेको छ । त्यसैगरी परीक्षणबाट सिफारिस गरिएका अन्य कदमहरुको कार्यान्वयनको निमित्त विमानस्थलले आगामी आर्थिक वर्षमा करिव पाँच करोड रुपैयाँ लगानी गर्ने प्राधिकरणका महानिर्देशक रतिसचन्द्रलाल सुमनले बताए ।
 
कार्यक्रम जल तथा उर्जा आयोगको सचिवालयले जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (विएमजेड) को निमित्त जर्मन विकास सहयोगको कार्यक्रम हो ।

Tata
GBIME
Nepal Life