काठमाडौं । अभावको मौका छोपेर कृषि सामाग्री संस्थानले कम तौलको मल दिने इन्डियन पोटास लिमिटेड(आइपिएल)बाटै मल ल्याउन आज पैसा पठाएको छ । संस्थानले मंगलबार ११ हजार टन डिएपी मल ल्याउनका लागि रक मभारत पठाएको हो ।
आइपिएलले यसअघि पठाएको ५० किलोको बोरामा साढे दुई किलो कम मल पाइएको थियो । साढे दुई किलो कम पाइएपछि सार्वजनिक लेखासमितिले यो कम्पनीलाई कालोसूचीमा राख्न सरकारलाई निर्देशन दिएको थियो । कम्पनीका अनुसार आइपीएलसँग प्रति टन ६४ हजार ४ सय ८० रुपैयाँमा मल किन्ने निर्णय भएको छ । यो आधारमा नेपालले ११ हजार टन मलका लागि आइपिएललाई ७० करोड रुपैयाँ तिरेको छ ।
भारतको पूर्ण स्वामित्वको आइपिएलले कम तौलको मल दिएपछि कालोसूचीमा राख्न निर्देशन दिएपनि भारतीय दूतावासले मल आइपिएल मार्फतनै दिने स्पस्ट पारेको थियो । गत वैशाख २० गते दूतावासले पत्र पठाएर मल आइपिएल वाहेक अरुबाट नदिने स्पस्ट पारेको थियो ।
स्रोतका अनुसार संस्थानका उच्च कर्मचारीहरुले आइपिएलसँग पहिल्यै मल किन्दा आर्थिक लाभ लिएकोले अभाब बनाइएको स्रोतले बतायो । ‘अहिले अभाव देखाएर कम तौल दिने कम्पनीसँग मल किनिएको छ,’ संस्थानका एक कर्मचारीले भने, ‘त्यही कम्पनीसँग मल किन्नु थियो भने किन अभाव गराएर अहिले आएर निर्णय गरियो ?’
