माछापुच्छ्रे बैंकले आइसिआइसिआइसँग रेमिट्यान्स पाटर्नरका रुपमा काम गर्ने, साझेदारीमा छलफल

बिजमाण्डू
२०७१ जेठ २० गते ००:०० | Jun 3, 2014
माछापुच्छ्रे बैंकले आइसिआइसिआइसँग रेमिट्यान्स पाटर्नरका रुपमा काम गर्ने, साझेदारीमा छलफल


काठमाडौं । गैरआवासीय नेपाली डा. उपेन्द्र महतो मुख्य प्रबद्र्धक रहेको माछापुच्छ्रे बैंकले भारतीय आइसिआइसिआइ बैंकसँग पहिले चरणमा रेमिटेन्स पार्टनरका रुपमा काम गर्ने भएको छ । बैंकले दोस्रो चरणमा रणनीतिक साझेदारका रुपमा भित्राउन प्रारम्भिक छलफल समेत सुरु गरेको छ ।
माछापुच्छ्रेले तीन बर्षभित्र मुख्य पाँच बैंकभित्र आफ्नो स्थान सुरक्षित बनाउन आइसिआइसिआइ बैंकसँगको साझेदारीलाई अघि बढाएको हो । आइसिआइसिआइ भारतको नीजि क्षेत्रको सबैभन्दा ठूलो बैंकमध्ये एक हो ।
बैंकको कुल सम्पति नै ५९ खर्ब ४६ अर्ब भारु छ । गत मार्चसम्मको बैंकको खुद नाफा मात्रै ९८ अर्ब १० करोड भारु छ । सन् १९९४ मा स्थापना भएको आइसिआइसिआइ समूहको सहायक कम्पनीका रुपमा रहेको यो  बैंकमा चन्दा कोचर प्रमुख कार्यकारी अधिकृत छन् ।
आइसिआइसिआइ समूहको बैंकवाहेक बीमा कम्पनी, सेक्युरिटिज कम्पनी, काउन्सिलिङलगायत आठ वटा कम्पनी छन् । यो बैंक भारत बाहेक वेलायत, क्यानडा र रसियामा पनि सञ्चालनमा छ ।
‘हामीले आइसिआइसिआइ बैंकसँग तीन÷चार चरणकै कुराकानी गरिसकेका छौं,’ बैंकका सञ्चालक वीरेन्द्रप्रसाद महतोले बिजमाण्डूसँग भने, ‘उनीहरुले हाम्रो बैंकको आवश्यक फाइल मगाएर अध्ययन थालिसकेका छन् ।’ उनका अनुसार, आइसिआइसिआइ बैंक माछापुच्छ्रेसँग कुनै न कुनै रुपमा साझेदार बनाउने रणनीति अनुसार नेपाल भित्राउन खोजिएको हो ।
यद्यपी माछापुच्छ्रे बैंकमा आइसिआइसिआइ बैंक कुन सेयर संरचना अनुसार साझेदार बन्ने भन्ने बारेमा छलफल नभएको महतोले जानकारी दिए । पहिलो चरणमा उसको रेमिटेन्स सञ्जाललाई माछापुच्छ्रेले प्रयोग गर्ने छ । यससँगै अन्य साझेदारी पनि अगाडि वढ्ने छ, उनले भने ।  
रेमिटेन्समा अब्बल
बैंकले आगामी दिनमा विदेशमा काम गर्ने नेपालीहरुले पठाउने रेमिटेन्स भित्राउन विशेष रुपमा अग्रसरता देखाउने भएको छ । यसका लागि बैंकले देशभित्रै शाखा विस्तार र एजेन्ट नियुक्त गर्ने छ भने वाहिरका केही बैंकहरुसँग पनि कुराकानी गरिरहेको छ ।
‘आइसिआइसिआइ बैंकमार्फत पनि ठूलो मात्रामा रेमिटेन्स भित्रिने छ,’ महतोले भने, ‘यस बाहेक केही विदेशी बैंकसँग पनि गम्भिर रुपमा छलफल चलिरहेको छ ।’ आइसिआइसिआइ बैंक भारतवाहेक रसिया, क्यानडा र वेलायतमा पनि सञ्चालनमा छ ।
महतोका अनुसार, साउदी अरवको एक बैंकको सहकार्यमा रेमिटेन्स भित्राउनका लागि निकै काम अगाडि बढिसकेको छ । अहिलेसम्म नेपाली कम्पनीहरुले स्थानीय एजेन्टहरुमार्फत नेपालमा रेमिटेन्सको सुविधा दिँदै आएका थिए । उनले साउदीको बैंकसँग अन्तिम चरणको कुराकानी भइरहेको जानकारी दिए ।
पुँजी बृद्धि योजना  
माछापुच्छ्रे  बैंकले आगामी तीन बर्षभित्र चुक्ता पुँजी पाँच अर्ब पुर्याउने समेत तयारी गरेको छ । यसका लागि बैंकले चालु बर्षकै नाफाबाट करिव ५५ करोड रुपैयाँ बराबरको वोनस सेयर वितरण गर्ने छ । अहिले बैंकको दुई अर्ब ४७ करोड रुपैयाँ चुक्ता पुँजी छ ।
‘हामी तीन बर्षभित्र देशका पाँच ठूला बैंकभित्र पर्ने गरी रणनीति बनाएर अगाडि वढिरहेका छौं,’ महतोले भने, ‘यसका लागि पहिलो सर्त पुँजी बृद्धि हो ।’ उनले हरेक बर्ष वोनस सेयर वितरण गरेर पुँजी बृद्धि गर्ने योजना सुनाए ।
बैंक सेवा विस्तारमा पनि आक्रमक रुपमा अगाडि वढ्ने छ । अहिले बैंकको शाखा संख्या ४० छन् । आउँदो बर्ष बैंकले १० वटा स्थानमा शाखा विस्तार गरिसक्ने योजना बनाएको छ । बैंकले एटिएमको संख्या पनि बर्ष दिनभित्र सय पुर्याउने तयारी गरिरहेको छ । ‘अहिलेसम्म हामी निक्षेप र कर्जा विस्तारमा ध्यान दिँदै अगाडि वढ्यौं,’ उनले भने, ‘अबको लक्ष्य योसँगै सेवा विस्तार पनि हुने छ ।’

Tata
GBIME
Nepal Life