नेप्से फेरी ८६६ मै, १० अंक बढ्यो, यो तहमा रहेको प्रतिरोध तोडिने सम्भावना, वित्त बाहेक सबै हरियो



२०७१ जेठ १४ गते ००:००
नेप्से फेरी ८६६ मै, १० अंक बढ्यो, यो तहमा रहेको प्रतिरोध तोडिने सम्भावना, वित्त बाहेक सबै हरियो


काठमाडौं। साताको अन्तिम कारोबार दिन बुधवार नेप्सेले हरियो संकेत दिएको छ । गत बैसाख २४ मा करिब साढे पाँच बर्ष यताकै उच्च बिन्दु ८६६ छोएको नेप्सेले फेरी एकपटक त्यही स्थानमा आइपुगेको छ । गत बैसाख २४ मा नेप्से बिसं २०६५ कात्तिक ११ गते (८८१ मा रहेको) यताकै उच्च बिन्दुमा पुगेको थियो । ८६६ मा प्रतिरोधको सामाना गरिरहेको नेप्से आगामी बढ्ने दिशामा रहे थप उचाई छुने छ । यसपछि नेप्सेले नौं सय १८ मा सामान्य प्रतिरोध पाउँने रेखा चित्रले देखाउँछ । बुधवार नेप्से १० अंकले बढेर ८६६.५७ बिन्दुमा आइपुगेको हो । 
सबै समूहको परिसूचक बढेपछि नेप्सेमा सुधार आएको हो । बीमा समूहको परिसूचक ६८ अंक, जलविद्युत् समूहको परिसूचक ८४ अंक, बैंकिङ समूहको परिसूचक ७.१७ अंकले बढेको छ । चिलिमे जलविद्युत्को सेयर मूल्य दुई हजार तीन सय नजिक आइपुगेको छ । बुधवार मात्रै कम्पनीको सेयर मूल्य ८५ रुपैयाँले बढेको छ । मूल्य घट्नेभन्दा बढ्ने कम्पनीको संख्या धेरै भएपनि कम्पनीहरुको मूल्य वृद्धिदर उच्च भने छैन । मूल्य बढेका कम्पनीहरु मध्ये अधिकांशको दुई प्रतिशतभन्दा कमले बृद्धि भएको छ । सहयोगी बिकास बैंकको सेयर मूल्य आठ प्रतिशत र एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने सात प्रतिशतले बढेको छ । 
नेपाल राष्ट्र बैंकले बुधवारबाट व्यवस्थापन जिम्मा लिएको एचएण्डबी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब सात प्रतिशतले घटेको छ । एचएण्डबीको सञ्चालक समिति र प्रमूख कार्यकारी अधिकृत जसुदा सैंजुलाई पनि बैंकले निलम्बित गरेको छ । गुड फर पेमेन्ट चेक मार्फत् एचएण्डबीमा भएको ८२ करोड रुपैयाँ बढिको ठगिमा संलग्नलाई कारवाही नगरेको भन्दै राष्ट्र बैंकले यो कदम लिएको हो । एचएण्डबीको सेयर ७३ रुपैयाँमा कारोबार भएको छ । 
नेशनल लाइफ इन्स्योरेन्सको तीन करोड ३८ लाखभन्दा धेरै रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । यस दिन ४१ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो । 
 
    
 

Tata
GBIME