आयल निगम १३ करोड नाफामा, मूल्य नघटाएपछि उपभोक्ता अझै पनि मारमा

बिजमाण्डू
२०६९ असार १९ गते ००:०० | Jul 3, 2012

काठमाडौं । पेट्रोलियम पदार्थ कारोवारमा एकाधिकार प्राप्त नेपाल आयल निगमलाई तीन वर्षपछि पहिलो पटक प्रतिमहिना अनुमानित १३ करोड रुपैयाँ नाफा हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेपछि निगम नाफा कमाउने अवस्थामा आएको हो । घाटामा जाँदा मूल्य बढाउन लगातार दबाब दिने निगमले नाफामा जाँदा पनि मूल्य भने नघटाउने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको ९५ डलर ९७ सेन्ट छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोल र मट्टितेलमा धेरै नाफा छ । निगमलाई प्रतिलिटर पेट्रोलमा १५ रुपैयाँ र मट्टितेलमा १२ रुपैयाँ नाफा छ ।
‘तत्काल कुनैपनि पेट्रोलियम पदार्थको मूल्य घट्दैन,’ निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने, ‘हामी मूल्य घटाउने भन्दा तेलको मौज्दात बढाउनेमा लाग्नेछौ ।’ उनले निगमको भण्डार रितिएकोले दशैसम्म तेलको मौज्दात बढाउन समय लाग्ने जानकारी दिए ।
निगमको सबै डिपोमा अहिले जम्मा १२ हजार किलोलिटर मात्रै पेट्रोलियम पदार्थ छ जवकी निगमका डिपोको क्षमता ७५ हजार किलोलिटर हो । ‘दशैसम्म सबैतिर जोहो गरेर ४० हजार किलोलिटर तेल मौज्दात गर्ने हाम्रो लक्ष्य छ,’ अग्रवालले भने । निगमले यसअघि ०६५÷०६६मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल ४० डलरमा आउँदा मूल्य नघटाई ३ अर्ब ३१ करोड मुनाफा गरेको थियो । त्यो बेला निगमले उपभोक्तालाई प्रति ब्यारल ७० डलरको मूल्यमा तेल बिक्री गरेको थियो ।
उपभोक्तालाई चर्को भार बोकाएर मुनाफा गरेको त्यही वर्ष निगमले २० करोड बोनस बाँड्ने निर्णय गरेको थियो । चौतर्फी दबाबपछि निगमले बोनस बाँड्ने निर्णय फिर्ता लिएको थियो । निगमले अहिले त्यही नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि मूल्य घटाउने छाँट देखाएको छैन । उता नेपाल आयल निगमले पेट्रोल आयात गर्ने भारतमा भने प्रतिलिटर पेट्रोलमा दुईदेखि तीन रुपैयाँ मूल्य घट्ने भएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा भारतले प्रतिलिटर पेट्रोलको मूल्य साढे सात रुपैयाँ बढाएको थियो । विपक्षी दलको चर्को विवादपछि भारतमा प्रतिलिटर पेट्रोलको मूल्य साढे दुई रुपैयाँ घटेको थियो ।

Tata
GBIME