लण्डन । नेट वर्थ अर्थात खुद मूल्यको बारेमा हामीमध्ये धेरैलाई थाहा छ । कुनै पनि कम्पनीमा लगानी गर्नुअघि नेट वर्थलाई हेरिन्छ अनि मात्रै निर्णय लिईन्छ । नेट वर्थलाई सामान्य तरिकालेभन्दा यो कुनै कम्पनीको कुल सम्पति र दायित्ववीचको फरक हो । सम्पति बढी भए पोजेटिभ नेट वर्थ हुन्छ भने सम्पत्ती घटे नेगेटिभ नेटवर्थ हुन्छ । पोजेटिभ नेट हुनु राम्रो हो ।
हामी कम्पनीको नेटवर्थमा विशेष ध्यान दिन्छौं तर आफ्नै नेट वर्थको बारेमा मतलब राख्दैनौं । तर, हाम्रो पनि नेटवर्थ हुन्छ । अचम्म नमान्नुहोस । हो, हाम्रोपनि नेटवर्थ हुन्छ । हो भने कसरी निकाल्ने हाम्रो नेटवर्थ ? यो निकाल्न खासै गाह्रो छैन ।
पहिले तपाँईको स्वामित्वमा भएका सबै सम्पत्तीहरुको सूची तयार गर्नुस् । यस अन्तर्गत तपाँईका हरेक प्रकारका बचत, शेयर लगानी, घर, गाडी लगायत बिक्रि गरेर नगद प्राप्त गर्न सकिने सबै कुरा पर्छन । सूचि तयार गरेपछि हरेक सम्पत्तीको वर्तमान मूल्य (उपलब्ध भए वास्तविक नभए अनुमानित) राख्नुस र जोडेर कुल सम्पत्ती प्राप्त गर्नुस ।
अब, आफ्नो सबै दायित्वहरुको सूची तयार गर्नुस । यसमा तपाँइको उधारो बित तथा तिर्न बाँकी सबै रकम तथा हरेक प्रकारका ऋण पर्छन । साथिसँगको सापटी पनि पर्छ । हरेक शिर्षकमा रकम राख्दै जोडेर कुल दायित्व पत्ता लगाउनुस ।
कुल सम्पत्ती र कुल दायित्व प्राप्त भईसकेपछि नेटवर्थ निकाल्न गाह्रो छैन । अब कुल सम्पत्तीबाट कुल दायित्व घटाईदिनुहोस । तपाँईको नेटवर्थ पत्ता लाग्यो । यो माइनर वा प्लस दुबैमा आउनसक्छ । माईनसमा आयो भन्दैमा आत्तिइहाल्नु पर्दैन । तपाँई आय आर्जनमा भर्खर लाग्नुभएको छ वा आयआर्जनमा लाग्नुभएकै छैन भने माइनसमा नै आउँछ । विस्तारै आम्दानी बढदै गएपनि प्लस हुनपुग्छ । तर, तपाँइको उमेर घर्किसकेको छ भनेचाँहि विचार गर्नुस है । अब आम्दानीको श्रोत बढाउनुप¥यो ।
नेटवर्थ कसरी बढाउने ?
प्लसमा भएको नेटवर्थ चाँहि बढाउने हो भने माइनसमा भएको घटाउनुपर्छ । यसकालागि आफ्नो ऋणहरु विस्तारै तिर्दै जानुपर्छ, आम्दानीको श्रोत बढाउनुपर्छ, खर्च कम गर्नुपर्छ र लगानी र बचत बढी गर्नुपर्छ । अर्काे तर्फ तपाँईले साना साना कुरामा खर्च गरिरहनुभयो, मनपरेको कुरा किन्नुभयो भने प्लसमा भएको नेटवर्थ घट्छ र माईनसमा भएको बढ्छ । यसैगरी ऋण थपियो भने पनि नतिजा उस्तै हुन्छ ।
नेट वर्थ पत्ता लगाउनु हामी सबैकालागि उपयुक्त हुन्छ । यसले हामिलाई आफ्नो आम्दानी बढाउने तथा खर्च कम गर्न उत्प्रेरित गर्छ । हरेक महिना नेटवर्थ गणना गर्ने र अधिल्लो महिनाको भन्दा बढाउने प्रयास गर्ने हो भने वित्तीय रुपमा तपाईलाई सक्षम हुन धेरै समय नलाग्न सक्छ ।