युनडिपिका नेपाल संयोजकले भेटे अर्थमन्त्री, आगामी सहयोग रणनीतिका विषयमा दिए जानकारी

बिजमाण्डू
२०७१ बैशाख २४ गते ००:०० | May 7, 2014
युनडिपिका नेपाल संयोजकले भेटे अर्थमन्त्री, आगामी सहयोग रणनीतिका विषयमा दिए जानकारी



काठमाडौं । संबिधानसभाको दोस्रो चुनावपछि जनताको अपेक्षा र परवर्तित सन्दर्भमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको भूमिकाका सन्दर्भमा बुझ्न संयुक्त राष्ट्र संघका उपमहासचिव हाओलियाङ झु चारदिने नेपाल भ्रमणमा आउने भएका छन ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीका राष्ट्रिय संयोजक जेमी म्याकगोल्ड्रिकले बुधबार अर्थमन्त्री डा. रामशरण महतलाई भेटी उपमहासचिव झु आगामी मई १४ देखि १७ सम्म नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएका हुन् ।
म्याकगोल्ड्रिकले युएनडीपी अन्तर्गत सञ्चालित कार्यक्रमको मूल्यांकन, भविष्यमा नेपाललाई गर्नुपर्ने सहायताका विषयमा झुको भ्रमणमा छलफल हुने बताए । यूएनडीपीले आफ्नै स्रोत र अन्य मुलुकहरुको समेत सहायता लिएर नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
यसैबीच यूएनडीपीले सन २०१३ देखि २०१७ सम्मका लागि नेपाललाई गर्ने सहायताको संरचना पारित गरी कार्यान्वयनमा ल्याएको छ । संयोजक म्याकगोल्ड्रिकले पाँच बर्षे सहायता संरचना पारित भैसकेको र उक्त संरचना अन्तर्गत करिब ६८ अर्ब लगानीका विभिन्न आयोजनाहरु सञ्चालन हुने जानकारी दिए । उनले अर्थमन्त्री डा महतसमक्ष कार्यक्रम सञ्चालनका क्रममा कतिपय कर्मचारीलाई भिसाको समस्या रहेको गुनासो पनि गरे ।
सो अवसरमा अर्थमन्त्री डा महतले संयुक्त राष्ट्र संघले बिगत लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा स्वीकृत संरचना अन्तर्गत प्रभावकारीरुपमा काम गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा काम गर्दै आएका विदेशीहरुका लागि आगामी दिनमा भिसाको समस्या नहुने आश्वासन दिए ।
नेपालले उच्चस्तरको बृद्धिदर हासिल गर्न स्वदेशी तथा विदेशी लगानी, स्वदेशी स्रोत तथा विदेशी सहायताको प्रभावकारी परिचालनको नीति लिएको जानकारी दिए । अर्थमन्त्री डा महतले सहश्राव्दी लक्ष्य हासिल गर्नेतर्फ नेपालको उच्च प्राथमिकता रहेको र ती लक्ष्यहरु हासिल गर्नेमा नेपाल अहिलेसम्म सही दिशा लिएर अगाडि बढिरहेको उल्लेख गरे ।

Tata
GBIME
Nepal Life