‘अतिथी देवो भव’को मर्म मर्यो, नेपालको यात्रामा नजान पर्यटकलाई बेलायतको चेतावनी

बिजमाण्डू
२०६९ असार १७ गते ००:०० | Jul 1, 2012

काठमाडौं । के पर्यटकका लागि नेपाली भूमी ‘अतिथी देवो भव’ हुन छाडेको हो ?, के उनीहरुका लागि नेपाल जोखिमयुक्त छ ? यो प्रश्न नेपालमा नउठे पनि बेलायती मिडियाले भने खडा गरेका छन् । सोमवार प्रकासित बेलायती पत्रिका डेली मेलको एउटा समाचारमा एक जना बेलायती पदयात्री नेपालमा हराएको जानकारी दिंदै नेपाल पर्यटकका लागि जोखिमयुक्त रहेको दावी गरिएको छ ।

२७ वर्षका बेलायती नागरिक जिसिमोस सोफलास नेपालको पदयात्राका क्रममा हराएको र उनी स्थानीयवासिन्दाको आक्रमणमा परेको हुन सक्ने अनुमान डेली मेलले गरेको छ । सगरमाथाको बेस क्याम्प नाम्चेबाट पदयात्राका लागि निक्लिएका जिसिमोस त्यसयता हराइरहेको बताइएको छ ।
पत्रिकाले नेपालको पदयात्रामा रहेकी एक जना अमेरिकी युवतीको हत्या लगत्तै बेलायती नागरिक हराउनु संयोग मात्र नभएको दावी गरेको छ । नेपालमा जिसिमोसजस्तै कम्तिमा पनि १२ जना पर्यटक हराइरहेको दावी पनि गरिएको छ ।
सेन्ट एन्ड्रयु विश्वविद्यालयका स्नातक उनलाई अन्तिम पटक २४ अप्रिलमा नाम्चे बजारमा रहेको होटल तिब्बतमा देखिएको थियो । उनले त्यही होटलमा केही सामान राखेर छिट्टै फर्कने बाचाका साथ पदयात्रामा निस्किएका थिए । नेपालका प्रहरी अधिकारीहरुले उनको हत्या भएको आशंकलाई खारेज गरेका छैनन् तर उनीहरु कुनै र्दुघटनाको अनुमान लगाइरहेका छन्, डेलि मेलमा छापिएको छ । स्थानीय पर्यटक गाईडले सबै मार्गमा उनको खोजविन गरेको बताइएको छ । मौसम राम्रो रहेको बेला उनी हराउनुले घट्ना रहस्यमय भएको दावी गरिएको छ । होटलबाट उनको क्यामेरा, फोन, क्रेडिट कार्ड, ड्राइभिङ लाइसेन्स बरामद गरिएको छ ।
मे १५ मा बेलायतको म्यानचेस्टर विमानस्थलमा नफर्किएपछि परिवारले उनी हराएको रिपोर्ट प्रहरीमा गरेको थियो । उनी हराएको लामो समय भए पनि बेल्जियमकी २३ वर्षे पर्यटक डेब्बी माभेराको हत्या भएको भोलिपल्ट मात्रै यो खबर आएको हो । उनको शरिर टुक्रा पारेको अवस्थामा लाङटाङ राष्ट्रिय निकुञ्जमा फेला परेको थियो । उनको साथबाट ६५ डलर र क्यामेरा फेला पारेको हुनाले यो हत्या लुट्नका लागि नभई अरु प्रयोजनमा भएको दावी गरिएको छ ।
जिसमोसले होटल छाडेको तीन दिनपछि २७ अप्रिलमा उनको खाताबाट ३५ हजार रुपैयाँ नेपाली झिकिएको थियो । उता यही काण्डपछि बेलायतको कमनवेल्थ कार्यालयले नेपालमा एक्लै पदयात्रा नगर्न पर्यटकलाई चेतावनी दिएको छ । एउटा आधिकारिक सूचनामा भनिएको छ, नेपालमा तपाई एक्लैले यात्रा नगर्नुहोला । एक्लै यात्रा गर्दा विदेशी पर्यटकहरु हराइरहेका छन, एक्लो महिला पर्यटक माथि आक्रमण पनि भएका छन् ।
नेपालमा थुप्रै पर्यटक हराइरहेको जानकारी दिंदै डेलि मेलले लेखेको छ, कोलोराडो विश्वविद्यालयका विद्यार्थी अब्रे क्यारोलिन साको हिमालय क्षेत्रबाट दुई वर्ष अघि हराए, उनी अहिलेसम्म फेला परेका छैनन् । २४ वर्षे गोरेथ कोच सन् २००४ देखि हराएका छन्, ३३ वर्षकी जुलियना वाइने चार वर्ष अघि निस्किएको पदयात्राबाट फर्किन सकिनन् । सन् २००३ मा नाम्चे बजारबाट पदयात्राका लागि निस्किएका २४ वर्षे एलेक्स रात्नसोथी लुटिएपछि कहिल्यै भेटिएनन् । गत डिसेम्वरमा लाङटाङ निकुञ्जको पदयात्रामा निस्केकी २३ वर्षे अमेरिकी लेना सेसन बलात्कार गरेर हत्या गर्छु भन्दै छुरी देखाउने व्याक्तिको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भइन् ।

Tata
GBIME
Nepal Life