
काठमाडौं। स्वास्थ्यमा राज्यको बजेट बर्षेनी बढे पनि त्यस अनुरुप सेवा प्रवाह प्रभावकारी हुन नसकेको तथ्य प्रकाशित भएको छ। साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)ले गरेको सर्भेक्षण अनुसार स्वास्थ्य क्षेत्रको बजेट प्रणाली समय सापेक्ष बनाउन आवश्यक देखिएको हो। विश्व बैंकको नेपाल उत्तरदायित्व विषयक परियोजना अन्तर्गत सावती उक्त सर्भेक्षण सम्पन्न गरेको छ।

निशुल्क औषधी, सुत्केरी भत्ता र बाल खोपजस्त्ाा कार्यक्रममा केन्द्रित रहेर गरिएको सर्वेक्षणमा आधारित कार्यपत्र प्रस्तुत गर्दै सावतीका निलु थापाले यि सेवालाई थप प्रभावकारी बनाउन बजेट विनियोजन र खर्च प्रणालीलाई कार्यक्रम मुखी बनाउनु पर्ने बताइन्।
सावतीले हिमाल, पहाड र तराई तीन प्रदेश समेटेर पाँच जिल्लामा सर्वेक्षण गरेको थियो। यी पाँच जिल्लामा झापा, बर्दिया, नुवाकोट, अछाम र मुस्ताङ छन्। केही निशुल्क औषधीको गुणस्तरमा स्थानिय क्षेत्रमै प्रश्न उठन थालेको सर्भेक्षणका क्रममा पाइएको छ। तुलनात्मक रुपमा बाल खोप सेवा प्रभावकारी देखिएको छ भने सुत्केरी भत्ता पाउन धेरै समय लाग्ने जस्ता समस्या देखिएका छन्।