लण्डनमा साढे २२ अर्बमा बिक्यो पेन्टहाउस

बिजमाण्डू
२०७१ बैशाख २१ गते ००:०० | May 4, 2014
लण्डनमा साढे २२ अर्बमा बिक्यो पेन्टहाउस
लण्डन । केन्द्रिय लण्डनको एउटा पेन्टहाउस १४ करोड पाउण्ड (साढे २२ अर्ब रुपैयाँ)मा विक्री भएको छ । यो बेलायतको अहिलेसम्मकै महँगो पेन्टहाउस भएको दावी गरिएको छ । विक्री भएको पेन्टहाउसमा फर्निचर, फ्लोरिङ्ग र आन्तरिक कोठा बनाउन अझै बाँकी छ ।
१६ हजार स्क्वायर फिटको यो पेन्टहाउस रसिया वा युक्रेनका नागरिकले खरिद गरेको आंशका गरिए पनि त्यसको विस्तृत विवरण भने दिइएको छैन् । किंगस्टनब्रिजमा वान हाइड पार्कको यो पेन्टहाउसमा कोठा निर्माण, आन्तरिक सजावट र फ्लोरिङ्गको काम भने खरिदकर्ताले आफ्नै पैसाबाट गर्नुपर्ने हुन्छ । 
विज्ञहरुले पेन्टहाउसलाई आफ्नो योजनाअनुरुप कोठा निर्माण गर्न, आन्तरिक सुविधाका वस्तु थप्नका लागि अझ लाखौं पाउण्ड खर्च गर्नुपर्ने अनुमान गर्छन् । त्यसो भएमा यो पेन्टहाउसको मूल्य १६ करोडदेखि साडे १७ करोड पाउण्डसम्म पर्ने अनुमान गरिएका छ ।
खरिद सम्झौताअनुसार नयाँ मालिकले ८० जना होटल स्टाफ, हाउसकिपिङ्ग र सुरक्षाको सुविधा पाउनेछन् ।  पेन्टहाउस डिका रुपमा चिनाइएको यो सम्पत्ती वन हाइड पार्कमा भएका चारमध्ये एउटा टावर हो । जुन टावर किंग्सस्टनब्रिज र हाइडपार्कको साउदर्न बोर्डरमा पर्छ । यो टावरमा ह्यारोड डिपार्टमेन्ट स्टोरबाट पाँच मिनेटको दुरीमा पर्छ । 
सम्पत्ती विक्री भएको जानकारी शनिवार कम्पनीले जानकारी दिएको छ । यो खरिद विक्री प्रक्रिया केही महिनादेखि चलिरहेको अनुमान गरिएको छ । २० लाख पाउण्डभन्दा माथिको सम्पत्ती खरिदमा बेलायतमा सरकारलाई महँगो शुल्क बुझाउनुपर्दछ । यो सम्पत्ती खरिदमा दुई करोड दश लाख पाउण्डसम्म कर तिनुपर्ने अनुमान गरिएको छ ।
व्याक्तिगत सम्पत्ती खरिदमा सात प्रतिशत कर तिर्नुपर्दछ भने कर्पोरेट कम्पनीले खरिद गर्दा यस्तो कर १५ प्रतिशतसम्म तिर्नुपर्दछ । सात प्रतिशत कर तिर्नुपरे यसका लागि ९८ लाख पाउण्ड कर र १५ प्रतिशत तिर्नुपरे दुई करोड दश लाख पाउण्ड तिर्नुपर्दछ । 
यो टावर निर्माण गर्ने कम्पनी सिपिसि समूहका प्रवक्ताले १६ हजार स्क्वायर फिटको डुप्लेक्स पेन्टहाउस विक्री भएको जानकारी दिएका छन् । तर उनले खरिदकर्ता र मूल्यका विषयमा भने प्रतिक्रिया दिएनन् ।
उनले भने, यहाँ पूर्वाधार निर्माणको काम अझै बाँकी छ, त्यो काम खरिदकर्ताको योजना र स्टायलमा निर्माण हुनेछ । खरिदकर्ताले नै कतिवटा बाथरुम, बेडरुम र किचन बनाउने आफै निर्णय गर्नेछन्, उनले भने । यो भवनको लम्बाई पार्क क्षेत्रबाट शहरी क्षेत्रसम्म विस्तार भएको छ । एउटा कुनाबाट हाउडपार्कको दृष्य प्राप्त हुनेछ भने अर्को कुनाबाट किंगस्टनब्रिज र हरोडको दृष्य हेर्न सकिनेछ ।
वान हाइड पार्कका चार वटा पेन्ट हाउसमध्ये अब विक्रीका लागि एउटा मात्रै बाँकी छ । तीन बेड रुमको यो फ्लायटको मूल्य एक करोड ५० लाख पाउण्ड पर्ने अनुमान गरिएको छ ।
यसअघि बेलायतमा यति महँगोमा कुनै पनि फ्ल्याट विक्री भएका थिएनन् । सन् २०११ मा वान हाइड पार्कको अर्को एउटा पेन्ट हाउस १३ करोड ६० लाख पाउण्डमा विक्री भएको थियो । गतवर्ष मेफेयर १८ को कार्टन हाउस ट्रेस २५ करोड पाउण्डमा विक्रीका लागि राखिएका थियो । तर अहिलेसम्म त्यो विक्री भए वा नभएको जानकारी आएको छैन् ।
भवन खरिद गर्ने सम्भावित नागरिक पूर्वी युरोपबाट भएको अनुमान गरिएको छ । युक्रेनमा भएको पछिल्लो राजनीतिक हलचलले लण्डनमा सम्पत्ती थुपार्नेको संख्या बढिरहेको अनुमान गरिएको छ । लण्डनमा गतवर्षको तुलनामा अहिले औषत एक भवनको मूल्य १८ हजार पाउण्डले बढेको छ ।
बिल्डिङ्ग सोसाइटीका प्रमुख कार्यकारी ग्राम बेलले पछिल्लो वर्षको तुलनामा घरको मूल्य १०.९ प्रतिशतले बढको बताएका छन् । उनले यसलाई मिहिन ढंगले विश्लेषण गर्नुपर्ने समेत बताए ।
 

Tata
GBIME
Nepal Life