मलेसियामा सुरक्षागार्ड पठाउँदा म्यानपावरले लिए तोकिएभन्दा डेढ गुणा बढी शुल्क

बिजमाण्डू
२०६९ भदौ ६ गते ००:०० | Aug 22, 2012

काठमाडौ । अढाई महिनाअघि मलेसियाले खुल्ला गरेको सुरक्षागार्डमा जान कामदारले दुई लाखसम्म तिर्नुपरेको छ । म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाले कामदारले महँगो शुल्क तिरेर सुरक्षागार्डमा जानुपरेको हो । सरकारले मलेसिया जाने कामदारबाट ८० हजार मात्रै लिन पाउने प्रावधान तोकेको छ । सुरक्षागार्डमा कामदार ल्याउन नेपालका म्यानपावर कम्पनीले मलेसियामा रहेका स्थानीय एजेन्टलाई महँगो शुल्क तिर्नुपरेकोले बढी शुल्क लिनुपरेको हो ।
मलेसियाका एजेन्टलाई हामीले नै पाँच हजार रिंगिट(एक लाख ४० हजार रुपैयाँ) बुझाउनुपर्ने अवस्था आएको छ । पहिला दुई हजार रिंगिट तिरे पुग्थ्यो, एक म्यानपावर सञ्चालकले भने, म्यानपावर कम्पनीले जति मनलाग्यो त्यति तिरेकोले अहिले यस्तो अवस्था आएको हो । उनका अनुसार मलेसियाको सुरक्षागार्डको अहिलेको स्थिती इजरायलमा जस्तै देखिएको छ । इजरायलमा कामदार पठाउँदा व्यवसायीबीचकै प्रतिस्पर्धाका कारण महँगो कमिसन दिँदा कामदारले आठ लाखसम्म बुझाउनुपरेको थियो । मलेसियामा सुरक्षागार्डमा जाने कामदारले नौ सय रिंगिट तलब पाउँछन् । यो वाहेक ओभरटाइम गरेर १५ सय रिंगिटसम्म कमाउन सक्छन् ।

Tata
GBIME
Nepal Life