मुनाफामा नम्वर १ बैंक बन्यो कृषि विकास, १८६ करोड नाफा, नबिल बैंक पछि छुट्यो

बिजमाण्डू
२०६९ साउन ३२ गते ००:०० | Aug 16, 2012
मुनाफामा नम्वर १ बैंक बन्यो कृषि विकास, १८६ करोड नाफा, नबिल बैंक पछि छुट्यो


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई पछि छाड्दै कृषि विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले १८ प्रतिशतले नाफा वढाउँदै १ अर्ब ८६ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकले कृषि विकास बैंकलाई जित्दै आएको थियो । राष्ट्रिय वाणिज्य बैंकको नाफा ३० करोडले घटेर १ अर्ब ४३ करोडमा सिमित भएपछि कृषि विकास बैंक नं १ नाफा गर्ने बैंक बनेको हो । राष्ट्रिय वाणिज्य बैंकलाई निजी क्षेत्रको नविल बैंकले पनि उछिनेको छ । नबिलले १ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकको नाफा पुरानो खराव कर्जा उठाए पछि वढेको हो । ब्याज आम्दानी घटेका बेला बैंकले पुरानो खराव ऋण उठाउने रणनीतिलाई तिव्रता दिएको थियो । यसै कारण बैंकको खराव ऋण अनुपात ८.९९ प्रतिशतबाट घटेर ६.३५ मा आएको छ । बैंकले अघिल्लो वर्षसम्म नउठेको ऋणमध्ये दुई अर्ब १७ करोड रुपैयाँ उठाएको छ ।
बैंकले यस वर्ष नाफाबाट संभावित नोक्सानीमा छुट्याउनु पर्ने रकमसेत घटाएको छ । साढे १७ प्रतिशतले यस्तो रकम घटाउँदै बैंकले यसपटक संभावित नोक्सानीमा २ अर्ब ६ करोड रुपैयाँ मात्र छुट्याएको छ । बैंकको ब्याज आम्दानी आधा प्रतिशतले घटेर ४ अर्ब ११ करोडमा खुम्चिएको छ ।
रणनीतिक साझेदार ल्याउने तयारीमा रहेको बैंकले ऋण र निक्षेप दुवै वढाएको छ । ऋण लगानी १४ प्रतिशत वढाएर बैंकले ३९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । निक्षेप पनि २६ प्रतिशतले वढेर ४३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
सञ्चालन खर्च कम गर्न सकेको भए बैंकको नाफा थप वढ्ने थियो । बैंकको कर्मचारी तथा प्रशासनिक खर्च मात्रै २ अर्ब ३८ करोड रुपैयाँ छ । बैंकले कर्मचारी खर्च कटौती गरेर प्रतिस्पर्धी जनशक्ति नियुक्त गर्न भर्खरै स्वेच्छिक अवकास योजना ल्याएको थियो । बैंकले उच्च सञ्चालन तथा प्रशासनिक खर्चलाई चुनातीका रुपमा लिएको छ ।
बैंकले एक वर्षको अवधिमा रियलस्टेट ऋण भने २६ गुणाभन्दा वढीले वढाएको छ । बैंकले २७ करोड ५८ लाख रुपैयाँ रियलस्टेटमा लगानी गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात २०.४५ प्रतिशतबाट घटेर १८.२५ प्रतिशतमा आएको छ ।
कृषि विकासको नाफा वढेका कारण सर्वसाधारण सेयरधनीले यस वर्ष प्रतिफलको राम्रो आसा गर्न सक्छन् । बैंकको प्रति सेयर आम्दानी ६१ रुपैयाँ २७ पैसा छ । मूल्य आम्दानी अनुपात २.५५ गुणा र प्रति सेयर नेटवर्थ २ सय ५९ रुपैयाँ ६५ पैसा छ ।

Tata
GBIME