अत्यावश्यक सेवा ऐन आजदेखि लागू हुने, उद्योगीलाई पक्राउ गर्ने सरकारी तयारी

बिजमाण्डू
२०६९ साउन ३० गते ००:०० | Aug 14, 2012
अत्यावश्यक सेवा ऐन आजदेखि लागू हुने, उद्योगीलाई पक्राउ गर्ने सरकारी तयारी

काठमाडौ । सरकार र ग्यास उद्योगीबीच सोमबार राती भएको वार्ता असफल भएपछि सरकारले आज नै अत्यावश्यक ऐन जारी गर्ने भएको छ । सरकारले ऐनका लागि सोमबारको वार्ताको पर्खिएको थियो । सरकारी वार्ता टोली र ग्यास उद्योगीबीच सोमबार राती भएको वार्तामा कमिसनकै विषयमा सहमति हुन नसकेपछि वार्ता असफल भएको थियो ।
उद्योगीले कमिसन, ओभरहेड र ढुवानी भाडा नबढाई सहमति हुन नसक्ने अडान लिए । तर तत्कालै उनीहरुको माग संबोधन गर्ने अवस्था थिएन, वार्तामा सहभागी एक अधिकारीले भने, वार्ता सफल हुने देखिएन । गृह मन्त्रालयले आजै अत्यावश्यक सेवा ऐनको सूचना जारी गर्नेछ । अत्यावश्यक ऐन लगाउने विषयमा सोमबार गृहमन्त्रालयमा गृहसचिव नविन घिमिरेको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी र आयल निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालबीच छलफल भएको थियो ।
छलफलमा अत्यावश्यक ऐन कार्यान्वयनमा आएपछि उद्योगीलाई कसरी पक्राउ गर्ने भन्नेबारे समेत छलफल भएको गृह स्रोतले बतायो । ऐन लगाएपछि उद्योगीलाई कसरी पक्राउ भन्ने बारे पनि छलफल भइसकेको छ, स्रोतले भन्यो, ऐन कार्यान्वयनमा आएपछि उनीहरु हड्तालमा आए भने पक्रनुपर्छ त्यसैले पहिले नै रणनीति बनाइएको हो ।

Tata
GBIME
Nepal Life