
रंगुन । डेढ दशकपछि बर्मामा पेप्सीका उत्पादन विक्री वितरण खुल्ला भएको छ । पेप्सी, सेभेन अफ र मिरिन्डा उत्पादन गर्ने पेप्सीको प्रालिले बर्माको एक कम्पनीसँग बिक्री वितरणको सम्झौता गरेको हो । कम्पनीले बिक्री वितरणको अलावा वर्मामा प्लान्ट नै लगाउने विषयमा पनि अध्ययन गरिरहेको छ । बर्मा सरकारमाथि युरोप र अमेरिकाले लगाउँदै आएको आर्थिक नाकाबन्दी फुकुवा गरेपछि कम्पनीले बिक्री वितरण सुरु गर्न लागेको जानकारी दिइएको छ ।
यो कम्पनीले सन् १९९७ देखि कारोबार बन्द गरेको थियो । यसअघि नै पेप्सीको प्रतिस्पर्धी कोकाकोलाले वर्मामा प्लान्ट लगाउने घोषणा गरिसकेको छ । पेप्सीको कम्पनीका अध्यक्ष एंव प्रमुख कार्यकारी इन्दिरा नुइले बर्मामा हल्का पेय पदार्थको व्यापक सम्भावना रहेको बताउँदै बर्मामा छिट्टै ठूलो बजार लिने दावी गरिन् । बीबीसी