ग्याँस उद्योगीको आन्दोलन : निगमसँग सहमति भएन, आजदेखि पीडीओ नउठाउने

बिजमाण्डू
२०६९ साउन २२ गते ००:०० | Aug 6, 2012

काठमाडौं । दुई रंगका सिलिण्डर बनाउने सरकारी निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेका ग्याँस उद्योग संघका पदाधिकारी र नेपाल आयल निगमका व्यवस्थापकवीच सोमवार भएको छलफल पनि निष्कर्षमा पुग्न सकेन । सहमति नभएपछि पहिलो चरणमा व्यवसायीले आजदेखि पीडीओ रोक्ने घोषणा गरेका छन् ।
उनीहरूले साउन २४ गतेदेखि भारतका प्रशोधन केन्द्रबाट ग्याँस नउठाउने, साउन २५ गते भन्सार नाकाबाट नछुटाउने र सहमती नभए साउन ३१ गतेदेखि खाना पकाउने ग्याँसको विक्रिवितरणा नगर्ने चेतावनी दिएका छन् । सरकारले भदौदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि ग्यास उद्योगी यसका विरुद्ध उत्रिएका हुन् । उनीहरूले यसअलावा ग्याँस व्यवसायीको कमिशन बढाउन पनि माग गरेका छन् ।  सरकारले भदौ १ देखि घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि निलो रङका सिलिन्डर कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।
निर्देशन अनुसार सबै बोटलिङ प्लान्टलाई आफुसँग भएको सिलिन्डरको पचास प्रतिशत घरायसी र पचास प्रतिशत व्यवसायिक बनाउनुपर्नेछ । व्यवसायिक सिलिन्डर बनाउन निलो रङ लगाउनुपर्ने र त्यसको लागत पनि व्यवसायीले बेहोर्नुपर्ने सरकारको जिकिर छ ।

Tata
GBIME