प्राइम लाइफ इन्सुरेन्समा पनि समस्या, सिईओले अनियमितता गरेको भन्दै कर्मचारीबाट राजिनामा माग

बिजमाण्डू
२०७० असोज ७ गते ००:०० | Sep 23, 2013

काठमाडौं । प्राइम लाइफ इन्सुरेन्सका कर्मचारीले आफ्नै प्रमुख कार्यकारी अधिकृत माथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजिनामा मागेका छन् । उनीहरुले प्रमुख कार्यकारी अधिकृत रेष्टा झालाई कार्यालय प्रवेशमा रोक लगाउने, व्यवसाय बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
प्राइम लाइफ इन्स्योरेन्स राजेन्द्र खेतान सबैभन्दा ठूलो प्रवद्र्धक रहेको कम्पनी हो । खेतानकै प्रवद्र्धनमा रहेको एभरेष्ट इन्सुरेन्समा समेत कर्मचारी आन्दोलनमा छन् । कर्मचारी आन्दोलनका कारण एभरेष्ट दुई महिनादेखि बन्द छ । गतवर्ष अध्यक्षबाट राजिनामा दिएका खेतानपछि यो वर्ष अध्यक्ष रतनलाल संघाईले समेत एभरेष्टबाट राजिनामा दिएका छन् ।
अग्नीसम्वन्धि बीमा विवाद भएपछि गतवर्ष खेतानले एभरेष्ट र प्राइम दुवै कम्पनीको अध्यक्षबाट राजिनामा दिएका थिए । प्राइममा प्रमोदकुमार कार्की अध्यक्ष छन् भने खेतानका भाई प्रेमप्रकाश खेतान बोर्ड डाइरेक्टर छन् । प्राइमका कर्मचारीले सिईओ झामाथि अभिकर्ता तथा कर्मचारीको जानकारी विना नै  सात सय ६८ जना अभिकर्तालाई डिनर खुवाएर आठ लाख ६७ लाख रुपैयाँ भुक्तानी गरेको तथा निजी स्वार्थका लागि सिएनबिएन सर्भिसबाट एसटिएस तथा अन्य कामका लागि २४ लाख आठ हजार रुपैयाँ भुक्तानी गरेको आरोप लगाएका छन् ।
उनीहरुले सिएनबिएनको सेवा प्राइमका लागि पूर्णत औचित्यहिन भएको र यस्तो सेवासम्वन्धी खर्च बीमित, लगानीकर्ता, कर्मचारी लगायत कम्पनीसँग आवद्ध सम्पूर्ण सरोकारवालाको हित विपरित भएको आरोप पनि उनीहरुले लगाएका छन् । प्राइमको व्यवस्थापनलाई लेखेको र बीमा समिति, श्रम कार्यालय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, बीमा समिति कर्मचारी संघलाई बोधार्थसहित पठाइएको विज्ञप्तिमा संघका अध्यक्ष हरिबहादुर खड्का र महासचिव बिकास बस्नेतले हस्ताक्षर गरेका छन् ।
उनीहरुले सिईओले राजिनामा नदिए असोज ७ गतेबाट कार्यालय प्रवेशमा रोक लगाउने र कर्मचारीको मागका विषयमा सञ्चालक समितिबाट जानकारी नआएमा ११ गतेपछि सेवा बन्द गर्ने चेतावनी दिएका छन् । प्रमुख कार्यकारी अधिकृत झासँग कम्पनीले गर्न सक्ने खर्चको परिधिभन्दा अत्याधिक खर्च गरेको भन्दै बीमा समितिले समेत स्पष्टिकरण सोधेको थियो ।

Tata
GBIME
Nepal Life