काठमाडौं । नेपाल आयल निगम र ग्याँस उद्योगीवीचको वार्ता विनानिष्कर्श टुङ्गीएको छ । भदौबाट दुई रंगका सिलिण्डर बनाउने निगमको निर्णय विरुद्ध व्यवसायी आन्दोलनमा उत्रिएपछि आज पहिलो चरणको वार्ता भएको हो । ग्याँस उद्योग संघका अध्यक्ष हरि पाठकले आइतवार बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए । बैठकमा बुधवार प्रारम्भिक छलफल भएको छ, निगमसँग सकारात्मक ढंगले वार्ता अघि बढेको छ, उनले भने ।
उद्योगीहरुले दुई रंगको सिलिण्डरको विरोध गरेसँगै ग्याँसको ढुवानी भाडा बढाउन तथा नाफा कम भएको भन्दै त्यसलाई पनि वृद्धि गर्न माग गरिरहेका छन् । निगमले ग्याँसमा बढी नाफा दिन नसकिने आज स्पष्ट पारेको छ । तर ढुवानी भाडामा भने सोंच्न सकिने जानकारी दिएको छ ।
छलफलमा निगमले भदौबाट दुई रंगको सिलण्डर बनाउनका लागि सहयोग मागेको थियो । व्यवसायीले दुई रंगको सिलिण्डर बनाउने प्रयास व्यवहारिक नहुने भन्दै त्यसको विरोध गरेका थिए ।
उद्योगीको राष्ट्रिय भेलाले पहिलो चरणमा साउन २३ गतेदेखि पीडीओ रोक्ने घोषणा गरेका हुन् । उनीहरूले साउन २४ गतेदेखि भारतका प्रशोधन केन्द्रबाट ग्याँस नउठाउने, साउन २५ गते भन्सार नाकाबाट नछुटाउने र सहमती नभए साउन ३१ गतेदेखि खाना पकाउने ग्याँसको विक्रिवितरणा नगर्ने चेतावनी दिएका छन् ।
सरकारले भदौदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि ग्यास उद्योगी यसका विरुद्ध उत्रिएका हुन् । ग्यास उद्योग संघले ४३ वटै ग्यास बोटलिङ प्लान्टलाई चार दिन अघि भेलामा सहभागी गराएर यस्तो निर्णय गरेको थियो। निर्देशन अनुसार सबै बोटलिङ प्लान्टलाई आफुसँग भएको सिलिन्डरको पचास प्रतिशत घरायसी र पचास प्रतिशत व्यवसायिक बनाउनुपर्नेछ । व्यवसायिक सिलिन्डर बनाउन निलो रङ लगाउनुपर्ने र त्यसको लागत पनि व्यवसायीले बेहोर्नुपर्ने सरकारको जिकिर छ ।