अनियमितता फेला पारेपछि बीमा समितिले एनबी इन्सुरेन्सको कारोवारमा लगायो रोक

बिजमाण्डू
२०६९ साउन १६ गते ००:०० | Jul 31, 2012
अनियमितता फेला पारेपछि बीमा समितिले एनबी इन्सुरेन्सको  कारोवारमा लगायो रोक


काठमाडौं । बीमा समितिले आर्थिक अनियमितता पाएपछि एनबी इन्सुरेन्सलाई कारवाही गरेको छ । बीमा समितिले एनबी समूहको बहुमत शेयर भएको एनबी इन्सुरेन्सलाई कारवाही गर्ने निर्णय गरेको हो ।एनबी इन्सुरेन्सका सञ्चालकहरुले बीमाकर्तासँग शुल्क उठाएर व्याक्तिगत रुपमा खर्च गरेको पाइएपछि समितिले एनबी इन्सुरेन्सलाई कारवाही गर्ने निर्णय गरेको हो । सञ्चालकहरुले इन्सुरेन्सलाई आफ्नै घर भाडामा दिनुका साथै भाडा वापत पाँच करोड ९० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेका थिए ।
नियमअनुसार एकैपटकमा २० लाख रुपैयाँभन्दा बढीको खर्च गर्नुपरे बीमा समितिबाट स्वीकृती लिनुपर्दछ । तर एनबी इन्सुरेन्सका सञ्चालकहरुले केएसडी नामको आफ्नै कम्पनीलाई १० पटक गरेर घरभाडा भुक्तानी गरेका थिए । मासिक दुई लाख ३० हजारका दरले प्रत्येक दुई वर्षमा १० प्रतिशतले बढ्ने गरी पाँच करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

यसरी भुक्तानी गर्दा एनबी इन्सुरेन्सलाई पाँच वर्षमा व्याजवापत झण्डै छ करोड रुपैयाँ घाटा लागेको थियो । एनबी इन्सुरेन्सले स्थिर सम्पत्ति किन्दा वा निर्माण गर्दा आफ्नो नेटवर्थको ३० प्रतिशतभन्दा बढी खर्च गर्न नपाउने नियम पनि उल्लंघन गरेको थियो । कम्पनीले अघिल्लो आर्थिक वर्षको अझैसम्म पनि वित्तीय प्रतिवेदन साधरणसभाबाट स्वीकृत गरेको छैन, यसैकारण नेटवर्थ गणना गर्दा त्यस अघिल्लो वर्षलाई आधार लिइएको छ ।
त्यसअघिल्लो वर्ष कम्पनीको नेटवर्थ जम्मा छ करोड ५० लाख रुपैयाँ मात्र थियो, नेटवर्थको ३० प्रतिशत अर्थात एक करोड ९५ लाख रुपैयाँ मात्र एनबी इन्सुरेन्सले खर्च गर्न सक्छ । तर घरभाडाकै लागि कम्पनीले नेटवर्थले तोकेको ३० प्रतिशतभन्दा झण्डै चार करोड रुपैयाँ बढी भुक्तानी गरेको छ ।
बीमा समितिको स्थलगत अध्ययन अनुसार एनबी इन्सुरेन्सले सर्भेयरको अन्तिम मूल्यांकन आउनु अघि नै दावी भुक्तानी गरेको पाइएको थियो । एनबी इन्सुरेन्सका सञ्चालक जेन श्रेष्ठ प्रवन्ध सञ्चालक रहेको नेशनल हाइड्रोलाई इन्सुरेन्सले ऋण लिएर सर्भेयरको अन्तिम प्रतिवेदन नआउँदै भु्क्तानी गरेको थियो ।
जेन श्रेष्ठ एनबी इन्सुरेन्सका पनि सञ्चालक सदस्य हुन्, यसै कारण नियमविपरित भु्क्तानी भएको प्रतिवेदनमा उल्लेख छ । नेशनल हाइड्रोलाई भुक्तानी दिनका लागि इन्सुरेन्सले पश्चिमाञ्चल फाइनान्समा राखेको २० लाख रुपैयाँ मुद्धतीलाई धितोमा राखेर १८ लाख रुपैयाँ ऋण लिएको थियो ।
कम्पनीमा एनबी समूहका सञ्चालक जितबहादुर श्रेष्ठ अध्यक्ष छन् भने लक्ष्मीबहादुर श्रेष्ठ र छोरा जेन श्रेष्ठ सञ्चालक छन् । इन्सुरेन्सले सात लाख बिमालेख जारी गरेको छ भने एक लाख ३० हजार बिमालेखको भुक्तानी गर्न बाँकी छ । छ  वटा शाखा कार्यालय र सातवटा सम्पर्क कार्यालय छन् । बीमा समितिको यो निर्णयपछि एनबी इन्सुरेन्सले बीमा गर्न, बीमा लेखको भुक्तानी गर्न, दावी भुक्तानी गर्नमा रोक लागेको छ ।

Tata
GBIME
Nepal Life