काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । बिहीबार ९६ रुपैयाँ पुगेको डलरको मूल्य शुक्रबार ९५ रुपैयाँमा ओर्लिएको हो । राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक डलरको मूल्य ९५ रुपैयाँ ६ पैसा निर्धारण गरेको छ ।
अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले अर्थतन्त्र सुधार गर्न पुराना ऋणपत्रको भुक्तानी दिन थालेपछि डलर वलियो हुन थालेको हो । सुस्त रहेको अमेरिकी अर्थतन्त्रलाई मजवुत वनाउन केन्द्रिय बैंकले सुधार योजना सार्वजनिक गरेपछि हिजो साँझबाट डलरको मूल्य एकाएक वढ्न थालेको हो ।
डलर वढ्न थालेपछि भारुसहित अन्य सबै मुद्रा कमजोर देखिएका छन् । भारु कमजोर भएको असर नेपाली मुद्रामा पनि परेको हो । नेपाली रुपैयाँसँग भारुको स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुँदा नेपाली मुद्रा अवमूल्यन हुन्छ ।
डलर वलियो हुँदा नेपाली अर्थतन्त्रलाई फाइदा कम वेफाइदा ज्यादा हुन्छ । रेमिट्यान्स पठाउनेलाई यसले फाइदा गर्छ । नेपाल आयातमूखि अर्थतन्त्र भएकाले वस्तु तथा सेवा खरिद गर्दा वढी मूल्य तिर्नु पर्छ ।
