सुन प्रतितोला ५५० बढ्यो, ५७ हजारको सीमा नाघ्यो, चाँदी पनि चम्कियो

बिजमाण्डू
२०६९ साउन ११ गते ००:०० | Jul 26, 2012
सुन प्रतितोला ५५० बढ्यो, ५७ हजारको सीमा नाघ्यो, चाँदी पनि चम्कियो


काठमाडौं । सुनले झण्डै डेढ महिना अघिको लयलाई समात्दै विहिवार प्रतितोला ५७ हजार रुपैयाँको सीमा नाघ्यो । साउन लागेपछि विस्तारै उकालो लागेको सुन विहिवार साताकै उच्च वृद्धि भयो । नेपाल सुनचाँदी व्यवसायी संघले बुधवारभन्दा सुन प्रतितोला साढे पाँच सय रुपैयाँ वृद्धि गरेर विहिवारका लागि मूल्य तोकेको छ । छापावाल सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ भने तेजावी सुन ५६ हजार ८५० रुपैयाँमा छ । साउन लागेपछि प्रतितोला सुनमा १४ सय रुपैयाँको बढोत्तरी भएको छ ।
साउन ७ गते आइतवार ५५ हजार आठ सय रुपैयाँमा रहेको सुन ८ गते साढे दुई सय रुपैयाँ वृद्धि भएर ५६ हजार ५० रुपैयाँमा पुगेको थियो, मंगलवार डेढ सय रुपैयाँले वृद्धि भएर ५६ हजार दुइ सय रुपैयाँ पुगेको सुन बुधवार तीन सय ५० रुपैयाँले वृद्धि भएर ५६ हजार पाँच सय ५० रुपैयाँ पुगेको थियो । विहिवार एकै पटक पाँचसय ५० रुपैयाँ वृद्धि भएपछि सुनले ५७ हजार रुपैयाँको सीमा नाघेको हो ।
यस अघि असार ५ गते सुनले सबै रेकर्ड तोड्दै ५७ हजार सात सय रुपैयाँ पुगेको थियो । विहिवार सुन मात्र टल्किएको छैन, चाँदी पनि चम्किएको छ । प्रति दश ग्राम ८६६ रुपैयाँमा कारोवार हुँदै आएको चाँदी एकैपटक आठ रुपैयाँ ५० पैसाले वृद्धि भएर ८७४ रुपैयाँ ५० पैसा पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि र भारु कमजोर हुँदा डलर बलियो बनेपछि त्यसको असर नेपाली सुन बजारमा परेको हो । नेपाली मुद्रासँग स्थिर विनिमयदर भएको भारु कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर हुन्छ र त्यसको असर बहुमूल्य धातूमा पनि पर्छ ।

Tata
GBIME