डलर महँगो भएपछि नेपाली मुद्रा ९१ रुपैयाँ २५ पैसा पुग्यो, ११ महिना यताकै उच्च विन्दुमा कारोवार

बिजमाण्डू
२०७० जेठ २४ गते ००:०० | Jun 7, 2013
डलर महँगो भएपछि नेपाली मुद्रा ९१  रुपैयाँ २५ पैसा पुग्यो, ११ महिना यताकै उच्च विन्दुमा कारोवार


काठमाडौं । शुक्रवार डलर थप ३५ पैसाले बढेपछि ९१ रुपैयाँ २५ पैसा पुगेको छ । यो ११ महिना यताकै उच्च विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रवारका  लागि अघिल्लो दिनभन्दा प्रतिडलर ३५ पैसा बढाएर ९१ रुपैयाँ २५ पैसाको रिफ्रेन्स दर तय गरेको छ । यो गतवर्ष जुन ३० यताकै उच्च विन्दु हो । गतवर्ष जुन २९ मा डलर ९१ रुपैयाँ ४५ पैसामा कारोवार भएको थियो । त्यसयता लगातार ओरालो लागेको डलर ८२ रुपैयाँ ९९ पैसासम्म झरेको थियो । पछिल्लो सात महिनामा मात्रै डलर नौ रुपैयाँ हाराहारीमा बढेको छ ।
अमेरिकी अर्थतन्त्र मजबुत बन्दै जानु तर भारतीय अर्थतन्त्रको वृद्धिदर सुस्ताउँदै गएपछि त्यसको असर भारुमा परेको हो । भारुसँग स्थायी विनिमयदर भएको नेपाली रुपैयाँलाई त्यसको प्रभाव परेको हो । डलरको भाउ बढेपछि रेमिट्यान्स आप्रवाहमा सुधार भएको छ, तर नेपालमा आयात हुने सम्पूर्ण उपभोग्य सामाग्रीको मूल्य भने बढ्नेछ । सबैभन्दा ठूलो पेट्रोलियम पदार्थको आयात, सुन चाँदीको मूल्यमा पर्नेछ ।
भारु कमजोर भएका कारण भारतमा पेट्रोल कम्पनीहरुले पेट्रोल र डिजेलको मूल्य बढाएका छन्, यही कारण लामो समयपछि नाफामा गएको नेपाल आयल निगम फेरी तीन करोड रुपैयाँ घाटामा गएको छ । डलर महँगो भएका कारण भोटेकोशी र खिम्ती आयोजनालाई नेपाल विद्युत प्राधिकरणले बढी मूल्य चुकाउनुपर्दछ । त्यसैगरी ठूला आयोजना निर्माणको लागत पनि बढनेछ ।

Tata
GBIME
Nepal Life