काठमाडौं । आन्तरिक बजारमा सुन २२ महिना यताकै न्युन विन्दुमा झरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमवारका लागि सुन प्रतितोला ४८ हजार सात सय रुपैयाँ तोकेको छ । यसअघि २०६८ साउन २४ मा सुनले ४९ हजारको सीमालाई पार गर्दै माथि चढेको थियो । त्यसयता लगातार बढेको सुन प्रतितोला ६२ हजार रुपैयाँसम्म पुगेको थियो ।
सोमवार सुन चार सय रुपैयाँ घटेको हो, आइतवार पनि सुन छ सय ५० रुपैयाँले घटेर एक महिना अघिको न्युन विन्दुलाई तोडेको थियो । एक महिना अघिदेखि सुनको मूल्य तल झरिरहेको छ । प्रतितोला ४९ हजार पाँच सयमा झरेपछि सुन फेरी बढेर ५३ हजारसम्म पुगेको थियो । सुनभन्दा चाँदीको अवस्था अझ दयनीय छ, चाँदी सोमवार प्रतितोला ८३० रुपैयाँमा झरेको छ । सोमवारको तुलनामा चाँदी २० रुपैयाँ घटेर कारोवार भएको हो । चाँदी २७ महिनाको न्युन विन्दुमा छ । यसअघि २०६७ माघ १९ गते चाँदीले प्रतितोला ८३० को सीमाभन्दा माथि पुगेको थियो ।
