
काठमाडौं । डलर महँगो भएपछि नेपालमा मंगलवार पनि प्रतितोला सुनको मूल्य एक सय ५० रुपैयाँले बढेको छ । आइतवार दुई सय, सामेवार दुई सय ५० र मंगलवार १५० रुपैयाँ सुनको मूल्य बढेपछि यो साता प्रतितोला सुनमा छ सय रुपैयाँको वृद्धि भैसकेको छ । दुई साता अघि एकै दिन प्रतितोला छ सय रुपैयाँ घटेपछि सुनको मूल्य ५६ हजारको सीमाभन्दा तल झरेको थियो । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारका लागि छापावाल सुन प्रतितोला ५६ हजार दुई सय, तेजावी सुन प्रतितोला ५५ हजार ९५० रुपैयाँ राखेको थियो ।
सुन महँगिए पनि चाँदीको भाउमा भने खासै परिवर्तन भएको छैन । सोमवार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागे पनि भारुको अवमूल्यन भएका कारण नेपालमा यसको मूल्य बढेको हो । भारुको अवमूल्यन हुनासाथ नेपाली मुद्राको पनि अवमूल्यन हुन्छ ।