राष्ट्रिय बाणिज्य बैंकलाई ७९ करोडको प्रिफरेन्स सेयर पुँजीमा बदल्न क्याविनेटको अनुमति

बिजमाण्डू
२०७० बैशाख ५ गते ००:०० | Apr 18, 2013
राष्ट्रिय बाणिज्य बैंकलाई ७९ करोडको प्रिफरेन्स सेयर पुँजीमा बदल्न क्याविनेटको अनुमति


काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा भएको एक प्रतिशत प्रिफरेन्स सेयरलाई साधरण सेयरमा बदल्न बिहिवारको क्याविनेटले अनुमति दिएको छ । बैंकमा ७८ करोड ७० लाख रुपैयाँ बराबरको प्रिफरेन्स सेयर छ । पुस मसान्त भित्र चुक्ता पुँजी बढाउन राष्ट्र बैंकले  दिएको निर्देशन बमोजिम राष्ट्रिय बाणिज्य बैंकले यसअघि हकप्रद सेयर जारी गरेको थियो । शतप्रतिशत सरकारी स्वामित्व भएको राष्ट्रिय बाणिज्य बैंकले एक शेयर बराबर ११ दशमलव २२ प्रतिशतका दरले हकप्रद सेयर जारी गरेको हो ।
हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजीका आधारमा राष्ट्रिय बाणिज्य बैंक कृषि विकास बैंक पछिको ठूलो बाणिज्य बैंकका रुपमा स्थापित भएको छ । पुँजी वृद्धिका लागि असारको अन्तिम सातामा सरकारले राष्ट्रिय बाणिज्य बैंकलाई चार अर्ब ३२ करोड ५३ लाख १० हजार रुपैयाँ निकासा गरेको थियो ।
बैंकसँग ३८ करोड ५३ लाख रुपैयाँ बराबरको साधरण सेयर छ, यसैको ११ दशमलव २२ प्रतिशतको अनुपातमा हुने गरी सरकारले चार अर्ब ३२ करोड लगानी थपेको हो । चार अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर र प्रिफरेन्स सेयर जारी गरेपछि राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पुँजी पाँच अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बाणिज्य बैंक समूहमा राष्ट्रिय बाणिज्य बैंकभन्दा ठूलो चुक्ता पुँजी भएको बैंक अब कृषि विकास बैंक मात्र हो ।
राष्ट्र बैंकले बैंकलाई पुसमसान्त भित्र पुँजी वृद्धि सम्वन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न असार २४ गते निर्देशन दिएको थियो । यो निर्देशन बमोजिम अब बैंकले एनआईडीसी बैंकसँग मर्ज गर्नुपर्ने हुन्छ । एनआइडिसी बैंकसँगको मर्जपछि बैंकको चुक्तापुँजी थप ४१ करोड ५८ लाख २० हजार रुपैयाँले बढ्नेछ ।
बैंकले साढे आठ अर्बको चुक्ता पुँजी पुर्याउन सरकारलाई तिर्न बाँकी आठ करोड ६५ लाख ७० हजार रुपैयाँ लाभांशलाई पनि चुक्ता पुँजीका रुपमा परिवर्तन गर्दैछ । यसैगरी बैंकले बैंकको किताबमा रहेको ३० वर्षको भुक्तानी अवधि रहेको विश्व बैंकबाट प्राप्त साढे दुई अर्ब रुपैयाँको एसडिआर ऋणलाई पनि चुक्ता पुँजीमा परिणत गर्दैछ ।

Tata
GBIME