कर्जा नतिरेपछि मन्त्रीपत्नीको सम्पत्ती लिलामीमा, न्युज २४ पनि लिलामी गर्ने चेतावनी

बिजमाण्डू
२०७० बैशाख ३ गते ००:०० | Apr 16, 2013

काठमाडौं । कर्जा नतिरेपछि सनराइज बैंकले पर्यटनमन्त्री रामकुमार श्रेष्ठको सम्पत्ती लिलामी गर्ने भएको छ । पाँच करोड ९३ लाख रुपैयाँ कर्जा नतिरेपछि बैंकले मन्त्री श्रेष्ठकी श्रीमती सञ्चालक रहेको मनकामना क्रसर उद्योग र त्यसको सम्पत्ती लिलामी गर्न लागेको हो । बैंकको सिफारिशमा यस अघि नै श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठ, नातेदार राजेन्द्रकुमार श्रेष्ठ, शंकरमान श्रेष्ठ र साझेदार कमला सुवदी तथा रामरत्न बानिया कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् । श्रेष्ठ आफै भने कम्पनीका सञ्चालक पनि होइनन्, उनले आफ्नो नाममा ऋण लिएका पनि छैनन्, यही कारण उनी भने कालोसूचीमा छैनन् ।
बैंकले मन्त्रीपत्नी श्रेष्ठ सञ्चालक रहेको मकवानपुर मनहरीस्थित मनकामना क्रसर उद्योगका नाममा रहेको दुई बिघा १० कठ्ठा १३ धुर जग्गा सात दिने लिलामीबाट विक्री गर्न लागेको हो । त्यसैगरी बैंकले कम्पनीका नाममा रहेको एउटा टिपर, एउटा ह्वीर लोडर, क्रसिङ्ग प्लान्ट, मेशिनरी, इक्वीपमेन्ट, जेनेरेटर र ट्रान्सफर लगायतका सामान पनि लिलामीमा चढाएको छ । ऋणका विषयमा बैंक र मन्त्री श्रेष्ठवीच विवाद छ, श्रेष्ठले बैंकविरुद्ध विभिन्न अदालतमा मुद्धा दायर गरेका छन् ।
मन्त्री श्रेष्ठले श्रीमतीका नाममा कम्पनी खोलेर ऋण लिए पनि व्यवस्थापन भने आफै हेर्दै आएका थिए । उनले कम्पनीको सम्पत्ती अर्को साझेदारलाई विक्री गरिसकेको भन्दै कर्जा भुक्तानीबाट जोगिदै आएका थिए । उता अर्को एउटा बैंकले न्युज २४ र इन्टरटेनमेन्ट २४ च्यानल चलाउँदै आएको नेपाल ब्रोडकास्टिङ्ग च्यानल लिलामीको चेतावनी दिएको छ । कम्पनीका सञ्चालक अनिल जोशीले सेञ्चुरी बैंकबाट लिएको ऋण चुक्ता नगरेपछि लिलामीको चेतावनी पाएका हुन् ।
बैंकले ३५ दिन भित्र कर्जा तिर्न आउन जोशीलाई सार्वजनिक सूचना सार्वजनिक गरेको छ । जोशीले कम्पनीका दुई च्यानलाई धितोजमानी राखेर ऋण लिएका छन् । त्यसबाहेक उनले च्यानल सञ्चालनका लागि काठमाडौं वडा नम्वर ३ को १३०५ बर्गमिटरको घरजग्गा धितो राखेर सेञ्चुरी र आईसिएफसीबाट पनि ऋण लिएका छन् ।

Tata
GBIME