काठमाडौं । प्रभावकारी रुपमा सञ्चालनमा नआए पनि जलविद्युत लगानी तथा विकास कम्पनीले गत आर्थिक वर्षमा ३५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले इक्वीटीका रुपमा जम्मा भएको ६ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ बैंकमा निक्षेप राखि ५१ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो ।
जलविद्युत उत्पादन, वितरण तथा प्रसारण लाइनका आयोजनामा शेयर र ऋण लगानी स्थापना भएको कम्पनीको अधिकृत पूँजि ५० अर्ब रुपैयाँ छ भने जारी पूजि १० अर्ब र चुक्ता पूँजि आठ अर्ब रुपैयाँ छ । कम्पनीमा सरकारको पाँच अर्ब, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र विमा संस्थानको १÷१ अर्ब र सर्वसाधारणको २ अर्ब रुपैयाँ सेयर रहने छ । बैंकले सर्वसाधारणका लागि दुई अर्ब रुपैयाँको सेयर जारी गर्न छिट्टै प्रक्रिया सुरु गरिने बताएको छ ।
शुक्रवार भएको कम्पनीको पहिलो वार्षिक साधरणसभामा कम्पनीलाई १५ मेगावाट माथिका जलविद्युत आयोजनामा ऋण लगानी गर्न स्वीकृती दिएको छ । कम्पनीको पहिलो वार्षिक साधारणसभाले २५ मेगावाटभन्दा ठूला आयोजनामा मात्रै लगानी गर्ने व्यवस्था थियो । वित्तिय संकट झेलिरहेका १० मेगावाटभन्दा ठूला निर्माणाधिन आयोजनामा हाल लगानी गरिरेको बैकहरुको सहवित्तियकरणमामा सहभागी भएर कम्पनीले पुर्नकर्जा उपलब्ध गराउने व्यवस्था यस अघि नै स्वीकृत भैसकेको छ । कम्पनीले १५–२५ मेगावाटसम्मका आयोजनामा बैक तथा वित्तिय संस्थासँगको सहवित्तियकरणमा बढीमा २० करोड रुपैयाँ मात्रै लगानी गर्ने छ ।
ऊर्जा सचिव एवं कम्पनीका अध्यक्ष हरिराम कोइरालाले कम्पनी स्थापना भएको एक वर्षको अवधिमा २५ मेगावाटभन्दा माथिका एक आयोजना मात्रै आएकाले साधरणसभाबाट लगानी नीती परिवर्तन गरिएको शुक्रवार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । कम्पनीले गतवर्ष ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनामा एक अर्ब रुपैयाँ ऋण र ढक्केवर–मुजफ्पुर प्रसारण लाइनको नेपाल खण्ड निर्माण गर्न स्थापना भएको पावर ट्रान्समिसन कम्पनी नेपालमा १४ प्रतिशत इक्विटी लगानी गर्ने दुई निर्णय गरेको छ । यी परियोजनामा पनि अहिलेसम्म रकम भने प्रवाह नभएको अध्यक्ष कोइरालाले जानकारी दिए । मिस्त्रीखोलामा कम्पनीले नबिल बैंकको लिडमा ऋण प्रवाह गर्ने सम्झौता गरेको छ । अध्यक्ष कोइरालाले राष्ट्रिय महत्वका बुढीगण्डकी र नलसिंगगाड जलशाययुक्त जलविद्युत आयोजनाका लागि वित्तिय स्रोत जुटाउन कम्पनीले पहल गर्ने बताए ।