सोलुखुम्बुको विद्यालयलाई गैरआवासिय एसी शेर्पाको १५ लाख रुपैयाँको सहयोग

बिजमाण्डू
२०६९ चैत्र १४ गते ००:०० | Mar 27, 2013
सोलुखुम्बुको विद्यालयलाई गैरआवासिय एसी शेर्पाको १५ लाख रुपैयाँको सहयोग


सोलुखुम्बु । अमेरिकामा लामो समय बसोबास गर्दै आएका गैरआवासीय नेपाली एसी (आङछिरि) शेर्पाले सोलुखुम्बु गाविस टाप्टिङमा अवस्थित जनप्रिय मा.वि.लाई दशवटा ल्यापटप र दशवटा किन्डल सहयोग गरेका छन् । गैरआवासीय   नेपाली शेर्पाको नेतृत्वमा स्थापना भएको सेभेन सम्मिट फाउन्डेशनले विद्यालयलाई करिब १५ लाख रुपैंया बराबरको सामान हस्तान्त्रण गरेको हो ।

विद्यालयलाई चाहिने संगीतका सामाग्री खरिद गर्न शेर्पाले ५० हजार रुपैंया नगद सहयोग समेत दिएका छन् । सामाजिक सेवाका लागि अमेरिकामा स्थापना भएको फाउन्डेशनले नेपाल लगायत अन्य देशका विद्यालयलाई सहयोग गर्दै आएको छ । फाउन्डेशनका अध्यक्ष शेर्पाले सोलुखुम्बु जस्तै देशका विभिन्न विकट जिल्लामा रहेका विद्यालयहरुलाई आगामी दिनमा यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शेर्पाले सोलुखुम्बु जिल्लाका विकट गाउँ टाप्टिङ, केरुङ र गोराका बासिन्दाहरुलाई सुविधा हुने गरी आगामी २ वर्षभित्र अत्याधुनिक डेन्टल क्लिनिक सञ्चालन गर्ने घोषणा पनि गरे । विद्यालयका प्रधानाध्यापक धनबहादुर कार्कीले विकट गाविसमा रहेको आफ्नो विद्यालयलाई ल्यापटप सहयोग गरेर फाउन्डेशनले ठूलो गुन लगाएको बताए । २०१४ सालमा स्थापना भएको जनप्रिय माध्यमिक विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् । गैरआवासीय नेपाली शेर्पा विश्वका सात महादेशका सबैभन्दा अग्लो सातवटै  हिमालहरु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका व्यात्ति हुन् ।

Tata
GBIME