दु्रत मार्गको प्रस्ताव अघि बढेपछि सुरुङ मार्गको चटारो, इआइएको काम अघि बढ्यो

बिजमाण्डू
२०६९ साउन ३ गते ००:०० | Jul 18, 2012
दु्रत मार्गको प्रस्ताव अघि बढेपछि सुरुङ मार्गको चटारो, इआइएको काम अघि बढ्यो


काठमाडौं । निजी क्षेत्रले बनाउन लागेको देशकै ठूलो परियोजना काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरु भएको छ । नेपाल पुर्वाधार विकास कम्पनीले इआइएको काम अगाडि वढाएको हो ।
कम्पनीले काठमाडौं, ललितपुर र हेटौंडाका गाविस तथा नगरपालिकाको इआइए प्रतिवेदन तयार पार्न लागेको हो । कम्पनीले यसका लागि स्थानीय वासिन्दा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकीसँग सुरुङ मार्ग निर्माण गर्दा वातावरणमा पर्ने क्षतिका वारेमा सुझाव संकलन गर्न सुरु गरेको हो ।
कम्पनीले इआइए प्रतिवेदन तयार पारेर वातावरणमा क्षति नपुग्ने पुस्टी गरेपछि निर्माण कार्य सुरु गर्न पाउँछ । कम्पनीले काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका, चाल्ना खेल, सतिदेवी, दक्षिणकाली, छैमले, शेषनारायण, तल्कु र डुढेचौर गाविसको इआइए गर्न लागेको हो ।
ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिका, भैंसेपाटी, खोकना, बुङमति, छम्पी, डुकुछाप, देवीचौर र घुसेलका साथै मकवानपुर जिल्लाको फाखेल, मार्खु, सिस्नेरी, कुलेखानी, भिमफेदी, निवुवाटार, भैंसे, मकवानपुर गढी, बासामाडी र हेटौंडा नगरपालिकाको इआए गर्न लागेको हो ।
सरकारले चार वर्षमा निर्माण सक्ने गरी दुई महिनाअघि सुरुङ मार्गको जिम्मा निजी क्षेत्रलाई दिएको हो । सुरुङमार्ग निर्माण भएपछि काठमाडौंबाट हेटौंडा पुग्ने  दुरी जम्मा ५० किलोमिटरमा सिमित हुने छ । अहिले काठमाडौंबाट त्रिभूवन राजमार्गबाट हेटौंडा पुग्न १ सय ३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २ सय २६ किलोमिटर दुरी छ । ५० किलोमिटर लामो सडकमा तीन किलोमिटर मात्र सुरुङ मार्ग पर्छ ।
सुरुङ मार्ग बनेपछि काठमाडौंबाट हेटौंडा एक घण्टा गाडी यात्रामा पुग्न सकिन्छ । सुरुङ खन्न कम्पनीले विदेशी प्राविधिकको सहयोग लिने छ । अन्य सबै काम भने नेपाली जनशक्तिबाट गरिने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बताए ।
सुरुङ मार्ग पार गर्न वढीमा २ मिनेट लाग्ने छ । अहिले सिस्नेरी–भिमफेदीको दुरी पार गर्न १६ किलोमिटर हिड्नु पर्छ । पुरै परियोजना निर्माण गर्न २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये सुरुङ मार्ग निर्माण गर्न मात्र ९ अर्ब रुपैयाँ खर्च हुने छ ।
सुरुङ मार्ग निर्माणमा स्थानीय जनताको सहभागिताका लागि त्यहीका स्थानीय वासिन्दाले प्रत्येक घरधुरीबाट १० हजार रुपैयाँ बराबरको सेयर लगानी गर्न सक्ने छन् । उद्योगी व्यवसायीले भने एक लाखसम्म सेयर लगानी गर्न सक्ने छन् । सडक निर्माण, स्वामित्व र हस्तान्तरण (बुट) अन्तर्गत बनाउन लागिएको छ । निर्माण चार वर्षमा सकिएपछि अर्को पाँच वर्षमा सम्पूर्ण लागत उठिसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले परियोजना सम्पन्न गर्न दुई चरणमा पुँजी संकलन गर्ने छ । चार वटा वेग्ला वेग्लै समुहबाट पुँजी संकलन गरेर कम्पनीले आयोजना सम्पन्न गर्ने छ । सात करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले चार वटा वेग्लावेग्लै समुहबाट २५ प्रतिशतका दरले पुँजी संकलन गरेर आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
चार लेनको सडक निर्माण गर्न कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध उद्योगी, निर्माण व्यवसायी महासंघका सदस्यहरु, गैरआवसीय नेपालीहरु र सर्वसाधारणसँग पुँजी संकलन गर्ने छ ।  कम्पनीले १० अर्ब रुपैयाँ यसरी संकलन गरेपछि बाँकी पुँजी बैंक तथा वित्तीय संस्थाहरुसँग सहवित्तीयकरणबाट  ऋण लिने छ ।

Tata
GBIME
Nepal Life