एनबीको सेयरमा लगानीकर्ताको आँखा, दोस्रो दिन पनि वृद्धि शीर्ष स्थानमा, नबिल, एभरेष्ट र चार्टड तल

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013
एनबीको सेयरमा लगानीकर्ताको आँखा, दोस्रो दिन पनि वृद्धि शीर्ष स्थानमा, नबिल, एभरेष्ट र चार्टड तल

काठमाडौं । नेपाल बंगलादेश बैंकको सेयर दोस्रो दिन पनि फर्ममा रह्यो, प्रतिशतका आधारमा आइतवार सबैभन्दा बढी सेयर मूल्य बढेको एनबीको सेयर सोमवार पनि कायमै रह्यो । आइतवार प्रतिकित्ता २३ रुपैयाँ बढेर २५५ मा कारोवार भएको एनबीको सेयर सोमवार पनि १९ रुपैयाँको वृद्धिसहित प्रतिकित्ता २७४ मा कारोवार भयो ।
बैंकले फराकिलो स्प्रेड राखेर भए पनि सात करोड रुपैयाँ मुनाफा कमाएको समाचारले लगानीकर्तालाई बैंकको सेयरमा आर्कषित गर्यो । त्यसबाहेक बैंकबाट एनबी समूहको बाहिरिने प्रक्रिया करिव अन्तिम चरणमा पुगेको र उनीहरु बाहिरिंदा प्राप्त हुने रकमले बैंकको वित्तीय अवस्था अझ बलियो हुने समाचारले पनि लगानीकर्तालाई एनबी बैंकको सेयरमा आर्कषित गरिरहेको छ ।
आइतवार पाँच अंकभन्दा बढीले नेप्से सूचक बढे पनि सोमवार भने त्यो माहोल स्टकमा देखिएन, त्यही पनि सूचकको सामान्य वृद्धिसहित नेप्से बजार बन्द भयो । बैंकिङ्ग समूहको सूचकमा सामान्य वृद्धि भए पनि ठूलो परिवर्तन भने भएन, युनिलिभरको सेयर मूल्य घटेपछि व्यापार तथा उत्पादन समूहको सूचक १० अंकले तल झर्यो, र्याडिशन सञ्चालन गर्ने ओरियण्टल होटलस् र हायात सञ्चालन गर्ने तारागाउँको सेयर मूल्य घटेपछि  होटल समूहको सूचकमा पनि रातो पोतियो ।
सोमवार स्ट्याण्डर्ड चार्टड, नविल, एभरेष्ट, लक्ष्मी, नेपाल एसबीआई जस्ता ठूला बैंकको सेयर तल झर्यो । आइतवार तल झरे पनि इन्सुरेन्स समूहले बुधवार भने वृद्धि कायम राख्यो । सोमवार अरुणभ्यालीको सेयर १७ रुपैयाँले बढेर ३३५ मा कारोवार भयो । विनोद चौधरीले आफ्नो आत्मकथामा अरुणभ्यालीका प्रवद्र्धक गुरु न्यौपानेसँग आफ्नो साझेदारी रहेको सार्वजनिक भएपछि कम्पनीको सेयरमा राम्रैसँग वृद्धि भैरहेको छ ।
त्यसैगरी विशाल बजारको सेयर मूल्य सोमवार ३६ रुपैयाँले बढेर १८६४ मा, डिप्रोक्स विकास बैंकको ११ रुपैयाँ घटेर २९३ मा, गरिमा विकास बैंकको ११ रुपैयाँ बढेर १७३ मा, ग्लोबल आईएमईको १० रुपैयाँ बढेर ४२४ मा कारोवार भयो ।
गुहेश्वरी मर्चेन्ट बैंकको सोमवार ३९ रुपैयाँले सेयर मूल्य तल झरेर १९८ रुपैयाँमा कारोवार भयो, हिमालयन बैंकको दश रुपैयाँ घटेर ७५६ मा, नेपाल लाइफ इन्सुरेन्सको १५ रुपैयाँ बढेर १६६५ मा, एनएमबी बैंकको १३ रुपैयाँ बढेर २६७ मा कारोवार भयो । स्ट्याण्डर्ड चार्टडको सेयर समेत सोमवार २९ रुपैयाँ घटेर १९५० मा कारोवार भयो । युनिलिभर नेपालको सेयर सोमवार १९८ रुपैयाँले घटेपछि प्रतिकित्ता नौ हजार ७०२ रुपैयाँमा कारोवार भयो । कम्पनीको सेयर दश हजार एक सय रुपैयाँको स्तरबाट तल झर्न थालेको हो ।

Tata
GBIME
Nepal Life