काठमाडौं । नेपाल उद्योग परिसंघले हरित अर्थतन्त्र निर्माण र कार्वन व्यापारका क्षेत्रमा सहयोग गर्ने भएको छ । परिसंघ र गैर सरकारी संस्था हिमालयन क्लाइमेट इनिसीयटिभ(एचसीआई) बीच हरित अर्थतन्त्रमा सघाउन सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
परिसंघका अध्यक्ष विनोद कुमार चौधरी र एचसीआईका प्रमुख कार्यकारी अधिकृत प्रसान्त सिंहले समझदारी पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा वातावरण तथा विज्ञान प्रविधि मन्त्री डा. केशवमान शाक्यले वातावरण संरक्षणको क्षेत्रमा निजी क्षेत्रको अग्रसरता सह्रनीय रहेको बताए ।
‘निजी क्षेत्र यस्ता क्षेत्रमा कार्य गर्न अगाडी बढ्नुले आगामी दिनमा हरित अर्थतन्त्रको विकासमा निकै सहयोग पुग्ने मेरो अनुमान छ,’ शाक्यले भने । परिसंघका अध्यक्ष चौधरीले नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रले वातावरण संरक्षण तथा हरित अर्थतन्त्रका क्षेत्रमा गरिरहेको पहललाई स्थापित गर्न एचसीआईसँग सहकार्य गर्न लागेको बताए ।
उनले नेपालमा अहिले सम्म कार्वन व्यापारको संयन्त्र नै नबनेको बताउँदै यसबाट हुने फाइदाको बारेमा जानकारी गराउन नसकिएको बताए । ‘कार्वन व्यापारमा नेपालको क्षमता विस्तार गर्न र उद्योगहरुलाई पनि कार्वन व्यापारबाट लाभ दिलाउन यो सम्झौता भएको हो,’ चौधरीले भने
