काठमाडौं। सिजन सुरु भएसँगै बजारमा स्वदेशी सुन्तला भित्रिन थालेको छ।
केहीदिन अघिसम्म बजारमा जताततै भारतीय सुन्तला रहेकामा अब धमाधम स्वदेशी उत्पादन आउन थालेको हो।
काठमाडौंको कुलेश्वर फलफूल बजारमा स्वदेशी सुन्तला प्रति केजी ९० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको व्यापारी अमर बानियाँले जानकारी दिए। उनका अनुसार आकार अनुसार सुन्तलाको भाउ छ। साना सुन्तला प्रति केजी ९० देखि १०० सम्म र ठूला सुन्तला १२० देखि १३० रुपैयाँसम्म बिक्री भइरहेको हो। यो थोक मूल्य हो।
उनका अनुसार भारतीय सुन्तलाको मूल्य प्रति केजी १०० देखि ११० रुपैयाँसम्म छ। ‘स्वदेशी सुन्तला आउन थालेपछि भारतीय सुन्तलाको आयात कम भएको छ,’ उनले भने। उपभोक्ताले भारतीयभन्दा स्वदेशी सुन्तला रुचाउँछन्।
कुलेश्वर फलफूल बजार व्यवसायी संघका अध्यक्ष बानियाँका अनुसार स्याङ्जा, गोरखा, तनहुँ, म्याग्दी लगायत जिल्लाबाट हाल दैनिक २०० टन सुन्तला बजारमा आइरहेको छ।










